लिस्बोन, पोर्तुगल । नारी समाज पोर्तुगलले सेप्टेम्बर १६ तारिख अाइतबारका दिन तीज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । यो वर्ष नेपालका विभिन्न क्षेत्रमा गाइने परम्परागत र चलनचल्तीका भाकाहरुको पनि प्रस्तुति हुने भएकोले यो कार्यक्रम बिशेष हुने आयोजकले बताएका छन् ।
समाजकी अध्यक्ष सीता बरालले हरितालिका तीजको अवसरमा परदेशी भूमिमा नेपाली कला संस्कृतिलाई जगेर्ना गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले विगतमा जस्तै यो वर्ष पनि तीज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको बताइन् ।
मार्तिमुनिज खुला पार्कमा हुने कार्यक्रम दिउसो ठीक ३:०० बजे शुरु हुने बताईएको छ । समाजले सबै नेपाली दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइदिनहुन साथै व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी बहुमुल्य गरगहना नलगाईदिनहुन समेत अनुरोध गरेको छ ।

पोर्तुगलको लिस्बनमा एकैदिन छवटा तीज कार्यक्रम , सातामा मात्रै २ दर्जन बढी तीज कार्यक्रम
योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलको लिस्बनमा एकैदिन छवटा तीज कार्यक्रम सम्पन्न भएका छन् । चारवटा जिल्लाका नाममा गठित समाज, एउटा आमा समूह र एउटा व्यापारिक फेन्सी स्टोरले ती कार्यक्रमहरु आयोजना गरेका हुन् । त्यस्तै विभिन्न समाज , संगठन र क्षेत्रीय संगठन र सामाजिक समुहहरुको गरी एक सातामा मात्रै २ दर्जन भन्दा बढी तीज कार्यक्रम सम्पन्न भएका छन्।
सेप्टेम्बर ८ तारिख मात्रै भएका कार्यक्रमहरुमा मेरो सारीज फेन्सी स्टोर्सले Wok Mundo रेष्टुरेन्ट प्रासा दा इस्पान्यामा ४:०० बजेदेखि सुरु गरेको तीज कार्यक्रममा सयौ नेपालीहरु सहभागी भए । १२ जना महिला, किशोरी तथा बालिकाले भाग लिएको तीज नृत्य प्रतियोगिताका विजयीहरुलाई आयोजकले गिफ्ट ह्याम्पर पुरस्कार दिएका छन् । ममता कुँवर प्रथम र पूजा बर्देवा द्वितीय भएका थिए । सात वर्षीया बालिका अश्री प्रधानले सान्त्वना पुरस्कार पाएकी थिइन् ।

नेपाली नारी समाजकी अध्यक्ष सीता बराल र फेन्सी सञ्चालिका कल्पना कार्कीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको निर्णायकमा बिनोद मगर र सञ्जय लामा रहेका थिए । कार्यक्रमको सञ्चालन मिना खरेलले गरेकी थिइन् ।
गुल्मी समाजले लुम्बिनी रेष्टुरेन्ट सान्तुसमा ३:०० बजेदेखि आयोजना गरेको तीज कार्यक्रममा गुल्मेलीहरु र संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी थिए । गुल्मेली दिदीबहिनीहरुले तीज गीतमा सामुहिक नाचगान गरेर तीजको शुभकामना आदानप्रदान गरे ।
मिलिजुली आमा समूह अल्कन्त्राले Rua do Conde 77 मा २:०० बजे तीज कार्यक्रम सम्पन्न गरेको छ । पर्वत समाजले रियल नेपाल रेष्टुरेन्ट क्याम्पो पेकिनोमा ४:०० बजेदेखि शुरु गरेर दर खाने कार्यक्रम राखेको थियो ।
म्याग्दी समाज (मोना) ले पनि धौलागिरी रेष्टुरेन्ट क्याम्पो दे अउरिकमा ३:०० बजेदेखि छुट्टै दर खाने कार्यक्रम आयोजना गर्यो । यस्तै काठमाडौं रेष्टुरेन्ट Rua Ponta Delgada no. 31 मा ७:०० बजेदेखि लमजुङ समाजले पनि दर खाने कार्यक्रमको आयोजना गरेको थियो ।
पोर्तुगलमा नेपालीहरुको संख्यामा व्यापक वृद्धि सँगसँगै एकै दिनमा छ वटा तीजको कार्यक्रम आयोजना हुनुलाई धेरैले तीज भड्किलो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । केही नेपालीले भने स्वभाविकै ठानेका छन् ।
यसअघि दिनैपिच्छे तीजसम्बन्धी कार्यक्रमहरु आयोजना गरिएका छन् भने अरु दर्जनौ कार्यक्रम हुँदै गरेको कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरिएका छन् ।
















