पुष्कर शाहलाई तेन्जिङ नोर्गे नबनाऊँ !

अस्ट्रेलियाले आफ्नो नागरिक बनाएर पुष्कर शाहको ब्रान्ड प्रचार गर्दै व्यापक बेच्न थाल्यो भने नेपालीले रुँदै भन्नु पर्नेछ, पुष्कर वाज बर्न इन नेपाल।

– विराट अनुपम

इटहरी- केही समयअघि फ्रान्सेली विश्व साइकल यात्री बास्टिन गोट्मा इटहरी आइपुगेका थिए। उनले शुभेच्छुकमाझ आफ्नो यात्रा अनुभव सुनाए। उनका सबै कुरा सुनेर उनलाई नेपाली विश्व साइकल यात्री पुष्कर शाहबारे बताइयो।

शाहले आफ्नो गोजीमा राम्रो पैसा नहुँदै विश्व साइकल यात्रा गरे भन्दा बास्टिन चकित परे । शाहले सगरमाथा पनि चढिसकेको बताउँदा उनमा शाहबारे जान्ने उत्सुकता झनै बढेको थियो ।

पूर्वी नाका काँकडभिट्टा हुँदै बंगलादेश जाने क्रममा इटहरी आइपुगेका उनलाई पुष्कर शाहले पुस्तकसमेत निकालेको बताउँदा बास्टिन झनै हौसिएका थिए। केही समयपछि नै उनको पुस्तक अंग्रेजीमा पनि आउँदैछ भन्दै गर्दा उनी त्यो पढ्न आतुर देखिए। र, भने, ‘त्यो अंग्रेजी पुस्तक आएपछि मलाई पनि लिंक पठाइदिनु है।’

औसत नेपाली मात्र होइन, विश्व साइकल यात्रीकै लागि पनि पुष्कर शाह एक अब्बल ‘आइकन’ हुन्। आइकन यसकारण, उनले विश्व साइकलको पाइडलमा यात्रा गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् । नेपालमा ‘माउन्टेन बाइकिङ’ क्षेत्रमा शाहले धेरैलाई हौसला दिएका छन् । उनै पुष्कर शाह अहिले नेपालबाट पलायन हुने बाध्यतामा पुगेका छन् । र, अस्टे«लियामा भाँडा माझ्दैछन् ।

२०४६ सालको जनआन्दोलनमा हातमा गोली लागेर घाइते भएका पुष्करको राजनीतिक योगदान त छँदैछ । उनले राष्ट्रिय झण्डाका साथ विश्व साइकल यात्रा गरेर साहसिक र अतुलनीय योगदान दिएका छन् । उनको सफलतापछि मात्रै थप नेपाली युवा विश्व साइकल यात्रा पूरा गर्न उत्साहित बनेका हुन् । सगरमाथा चढेर आफूले साइकलमा यात्रा गरेको भूगोलको शिरमा पुगेका शाहले साहसिक पर्यटनमा दिएको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ ।

अस्ट्रेलियाले आफ्नो नागरिक बनाएर पुष्कर शाहको ब्रान्ड प्रचार गर्दै व्यापक बेच्न थाल्यो भने नेपालीले रुँदै भन्नु पर्नेछ, पुष्कर वाज बर्न इन नेपाल।

जनआन्दोलन, साइक्लिङ र साहसिक पर्यटनमा अनुभवको ‘ग्लोबल बायोडाटा’ हुन्, शाह । त्यो बायोडाटा बोकेरै उनी अस्ट्रेलियामा भाँडा माझिरहेका छन्।

भाँडा माझ्नु जीविका चलाउन आवश्यक श्रम हो । यो कुनै तल्लोस्तरको र पुष्करले चाहीं गर्नै नहुने काम पनि होइन । तर, पुष्करको भाँडा मझाइ एक औसत काम हो । उनले भाँडा माझ्न चलाउने मस्कोभन्दा साइकल चलाउने पाइडल महत्वपूर्ण हो । उनी भाँडा माझ्ने मजदूरभन्दा नेपाली पर्यटन क्षेत्रमा साइक्लिङ र सगरमाथा आरोहणको मोटिभेटर बन्दा देशलाई फाइदा छ ।

आफ्नो क्षेत्रको दक्षताको उपयोग गर्न नपाएर भाँडा माझ्न पुष्कर शाह अस्टे«लिया पुगेका छन् । शायद प्रथम सगरमाथा आरोहण दलकै सदस्य तेन्जिङ नोर्गे पनि यही कारण नेपाली नागरिकता त्यागेर भारतीय बनेका होलान् । नोर्गेको नागरिकता भारतीय भएपछि उनी पूर्वनेपाली बन्न पुगेका थिए । त्यही पहिचानमा उनले देह त्यागे ।

आज दार्जिलिङस्थित तेन्जिङ संग्राहलयमा उठ्ने पैसाले भारतले तेन्जिङमा गरेको लगानीलाई उछिनिसक्यो । अर्थात्, महान मान्छेमा गरेको राज्यको लगानी खेर जाँदैन ।

नेसनल जोग्राफीबाट सन २०१७ मा विश्वकै वर्ष साहसिक व्यक्तित्व अल्ट्रा धाविका मिरा राईले देश छोड्नुपर्यो भने यो कस्तो देश? सगरमाथाको चुचुरोबाट पहिलोपटक प्याराग्लाइडिङबाट ओर्लेर महासागरसम्म कायाकिङ गर्दै रेकर्ड बनाएका सानुबाबु सुनुवारले आर्थिक कारणले देश छोड्नुपर्यो भने यो कस्तो देश?

सन्दुक रुइतदेखि महावीर पुनले पनि आर्थिक उपार्जनकै लागि देश छोड्नुपर्यो भने यो कस्तो देश? हो, यी कुराहरू सम्झेर पनि पुष्कर शाहलाई सधैं विदेशमा भासिने वातावरण दिनु हुन्न ।

पुष्कर नेपालमा साइक्लिङ क्षेत्रको व्यापक विकासका लागि राष्ट्रिय आइकन बन्न सक्छन् । हाम्रा सुन्दर हिमाली पृष्ठभूमिका पहाडी क्षेत्रमा विश्वस्तरीय माउन्टेन बाइकिङ पर्यटन रुटहरू बनाउन पुष्कर काम लाग्न सक्छन् ।

पुष्करको विश्व साइकल यात्राको वृत्तान्तलाई राज्यले क्यास गरेर विश्व साइकल यात्रीहरूका लागी शाह स्रोतव्यक्ति हुन सक्छन् । साहसिक पर्यटनको पढाइ हुने क्षेत्रमा शाह गेस्ट लेक्चरर हुन सक्छन् । विश्वका विभिन्न देशमा हुने साइक्लिङसम्बन्धी भेला र मेलामा पुष्करले नेपालको गतिलो प्रतिनिधित्व गर्न सक्छन् ।

पुष्करले चढेको साइकल, घुमेका देशका तस्बिर, पत्रपत्रिकामा आएका समाचार कटिङ र सगरमाथा चढेको औजार, अनुभव र पुस्तकलाई संग्रह गरेर राज्यले पुष्कर शाह संग्रहालय बनाउन सक्छ । पुष्करको संग्रहालयलाई विश्व साइकल यात्रा र सगरमाथा आरोहणको जानकारी लिने एक अध्ययनशाला बनाउन सकिन्छ । शाहको सम्मानमा निजी क्षेत्रले पनि टी–सर्टहरू बनाउन सक्छन् । अन्य थुप्रै रचनात्मक काम हुन सक्छन्।

सन् २०२० सम्म २० लाख पर्यटक तान्ने सरकारी लक्ष्य भेट्न पुष्कर शाहको साइक्लिङ अनुभव र ‘लिगेसी’ काम लाग्न सक्छ । नेपाल साइक्लिङ पर्यटनमा सम्भावना बोकेर पनि धेरै पछि परिरहेको अवस्थामा व्यापक पूर्वाधार विकास गरेर प्रचार गर्ने ‘आइकन’ शाह बन्न सक्छन्। देशभरका अन्य थुप्रै साहसिक पर्यटन क्षेत्रका रेकर्ड होल्डरसँगै शाहको पनि पर्यटन बोर्ड र ब्रोसरमार्फत् प्रचार गर्न सकिन्छ।

जसरी सगरमाथा चढ्ने प्रथम नेपाली आरोही तेन्जिङ नोर्गेले आर्थिक कारणले नेपाली नागरिकता गुमाएपछि अर्का रेकर्ड होल्डर नेपाली आरोही कुर्न धेरै पर्खनुपर्यो । ठीक त्यसैगरी जनआन्दोलन २०४६ का घाइतेसमेत रहेका विश्व साइकल यात्री र सगरमाथा आरोही पुष्कर शाह बिर्साउने अर्को व्यक्ति आउन पनि धेरै कुर्नुपर्ने हुन सक्छ । त्यतिबेलासम्म हामीलाई आर्थिक तथा नैतिक रूपमा धेरै घाटा भएको हुनेछ।

यी सबै कुरालाई ख्याल गरेर देश र शाह दुवैलाई सजिलो हुने काममा राज्यले कुनै वास्ता गरेको देखिएन । पुष्करले पुष्करकै विज्ञता भएको क्षेत्रमा काम गर्न पाए उनले विदेश गएर भाँडा माझ्नु पर्दैन। देशलाई पनि उनले ब्रान्ड बेच्दा फाइदा हुन्छ । पछि, अस्टे«लियाले आफ्नो नागरिक बनाएर पुष्करको ब्रान्ड प्रचार गर्दै व्यापक बेच्न थाल्यो भने नेपालीले रुँदै भन्नु पर्नेछ, पुष्कर वाज बर्न इन नेपाल।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार