‘छक्का पञ्जा- ३’ को दसैं गीत

काठमाडौं : घटस्थापनामा रिलिज हुने फिल्म ‘छक्का पञ्जा-३’ ले दसैं गीत तयार गरेको छ। अघिल्लो वर्षझैं यस वर्ष पनि निर्माण युनिटले फिल्मको हिट गीत ‘पहिलो नम्बरमा’ कै संगीतमा दसैं गीत तयार पारेको हो। गीत एक मिनेटको छ। निर्माण पक्षले ‘फनफनी घुमेको रोटे पिङ, छक्का पञ्जा-३ घटस्थापनाकै दिन’ को बोलमा जिंगल तयार पारेको हो।

गीतमा डेबिड शंकरको स्वर रहेको छ भने दीपा श्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपाललेर्याप हानेका छन्। भिडियोमा दसैंको माहोलसँगै दीपा श्री, दीपक, जितु र केदारर्याप हान्दै गरेको देखिनेछ। फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, सञ्जोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, शिशिर राणा, शिशिर वाङ्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्टलगायतको अभिनय छ।

फिल्मकी निर्देशक दीपा श्री हुन् भने यसमा कार्यकारी निर्माताको रूपमा जितु नेपाल र केदार घिमिरे छन्। अघिल्लो सिरिजझैं यसमा पनि सुमन गिरी ‘भाञ्जा’ र ताराचन्द्र बजगाईं ‘निसान’ निर्माताको रूपमा रहेका छन्। आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आईएमईले पनि सहकार्य गरेको छ। फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठ रहेका छन्।

फिल्ममा दीपकसँगै अर्जुन पोखरेलको पनि संगीत रहेको छ। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराज र प्रवीण सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सुनयमान श्रेष्ठको मिक्सिङ, सुजिल कर्माचार्यको पाश्र्वसंगीत रहनेछ।

‘अघिल्लो वर्षझैं यसपटक पनि हामीले आफ्नै फिल्मको हिट नम्बरलाई लिएर दसैं गीत बनाएका छौं। यसमा हामीले आफूलाई नयाँ रूपमा प्रस्तुत गरेका छौं। फिल्ममा यसपटक रमाइलो त छ नै साथै कन्टेनलाई ट्रेलरदेखि नै समेटेका छौं’, निर्देशक दीपा श्रीले भनिन्, ‘अघिल्लो फिल्ममा हामीले कन्टेनलाई हाइड गरेका थियौं तर यस पटक ट्रेलर र पोस्टरमार्फत त्यसलाई अगाडि ल्याएका छौं।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार