घरबाट ३० रुपैया लिएर भागेका लोक दाहाल, जसले प्रवासबाट आफ्नै गाउँमा साढें १ करोड भन्दा बढी सहयोग गरे !

धादिङ घर भएका हाल बेल्जियम बस्दै आएका गैर आवासीय नेपाली समाज बेल्जियमका अध्यक्ष लोक दाहालले बुढाथुम र बसेरीमा विकास निमार्णका लागि ढेड करोड भन्दा बढी सहयोग गरेका छन् ।

दशैं पर्व मनाउन नेपाल आएका समाज सेवी दाहालले काठमाडौमा पत्रकार सम्मेलन गर्दै बुढाथुम स्थित बद्री विशाल उच्च मावि भवन निमार्णको अन्तिम किस्ता रकमको चेक विद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

पत्रकारहरु सँग कुरा गर्दै दाहालले वेल्जियममा आफुले गरेको व्यवसायको केहि प्रतिशद सामाजिक काममा खर्चने क्रममा आफुले स्वाथ्य र शिक्षालाई जोड दिएको बताएका थिए । उनले आफु आवद्ध भएको जनता देखि जनता सम्म नामको संस्था मार्फत बुढाथुम र बसेरीमा मात्र एक करोड ६१ लाख ४० हजार र व्यक्ति गत हामी दाहाल दम्पती (म र सिता) को व्यक्तिगत ३३ लाख २० हजार सामाजिक काममा लगाएको बताएका थिए ।

भुकम्प गएदेखि निरन्तर बुढाथुममा संस्थागत र व्यक्तिगत सहयोग गर्दै आई रहेका लोकदाहाल दम्पत्तीलाई धादिङ क्षेत्र न. २ का प्रतिनिधी सभा सदस्य खेम लोहनीले कार्यक्रममा विशेष धन्यावाद दिएका थिए । विदेशमा रहेका नेपालीहरुले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका थिए ।

भुकम्प गएको तेस्रो दिन मात्र आफु धादिङ पुग्दा बेल्जियमबाट लोक जी बुढाथुम पुगी सक्नुभएको स्मरण गर्दै लोहनीले सहयोगको उच्च सम्मान गरेका थिए । लोहनीको सहयोगले मात्र नपुग्ने भन्दै वातावरण मिलेको छ, रोकावट कहिकतैबाट छैन, विदेशमा कमाएको केहि हिस्सा आफ्नै भुमिका लगानी गर्न समेत आग्रह गरेका थिए ।

बुढाथुम र बसेरीका के काम कति बजेटमा ? दाहालको

१. श्री बद्री विशाल उच्च माविको भवन ७० लाख पक्की भवन निमार्ण
२. महालक्ष्मी उच्च मावि र शिवालय माविको भवन निमार्ण ३५ लाख ५० हजार
३. बुढाथुम पानी ट्याङ्की मर्मत तथा धारा विस्तारको ५ लाख ७० हजार
४. खानेपानी ट्याङ्की र पाईप लाईन विस्तार गलने ६ लाख
५. रुनचेतमा खाद्यान्न २५० घरधुरीलाई ३ लाख ८५ हजार
६. सोतीमा खाद्यान्न वितरण ३ लाख ७० हजार
७. कन्या स्कुलको टिएलसी निमार्ण २ वर्ष सम्म १ शिक्षकलाई तलव गरि २ लाख
८. लापुडाँडा खानेपानी पाइप ५० हजार
९. सिता दाहालद्वारा बसेरीमा मन्दिर निर्माण,मरनघाट निर्माण ७ लाख २० हजार
१०. सिता दाहालद्वारा गलनेका २ वटा मन्दिर निर्माण र खानेपानी धारा निर्माण ११ लाख
११. गलने पुरै गाउँको लागि जस्ता पाता र खाद्यान्न १५ लाख

को हुन् लोक दाहाल ? कसरी करोडपती बने ?

धादिङ बुढाथुमका लोक प्रसाद दाहालले जव आमा टंक कुमारी दाहाललाई आफू जन्मेको समयबारे प्रश्नहरुले कोट्याउँथे, तव आमा भन्थिन्, ‘बुढी गण्डकीमा बाढी आएर थुनिएको दिन तँ जन्मिएको होस् । २०२४ साल तिर हुनुपर्छ ।’

एनआरएन बेल्जियमका अध्यक्ष, बेल्जियममै रहेको करिब २२ करोड नेपाली रुपैयाँ बराबरको ‘सुसी किङ’ नामक ५ रेष्टुरेन्टका ‘मालिक’, पोखरामा झण्डै ७ करोड लगानीमा बन्दै गरेको अर्को स्टार होटल ‘सुसी किङ’का सञ्चालक लोकप्रसाद दाहाल अकल्पनिय सफलता प्राप्त गर्दै प्रतिष्ठित जीवन बिताइरहेका छन् । उनको प्रतिष्ठा दुःखहरुको पहाड छिचोल्दै हुर्किएको हो । धादिङ जिल्लाको तत्कालिन बुढाथुम गाविसको गोलनी गाउँमा सामान्य परिवारमा माइलो सन्तानको रुपमा उनी जन्मिए ।

‘चामलको भात र मासु खानका लागि दशैं पर्व आउनु पर्दथ्यो,’ राजधानीको बनस्थली स्थित उनकै घरमा लोक प्रसादले आफ्नो दुखका दिनहरु खोल्न थाले,‘आर्थिक अवस्था दयनिय थियो ।’ गाउँकै बद्री विशाल माध्यमिक विद्यालयमा लोक प्रसाद पढ्न जान्थे । पढाइसँगै मेलापात, घाँस दाउरा गर्ने उनको दैनिकी थियो । वि.सं. २०४० सालमा उनले त्यही विद्यालयबाट एसएलसी दिए । एसएलसी दिने सबै ‘फेल’ भए । विद्यालय नै निल भएपछि उनी समेत अछूतो रहन सकेनन् । त्यसपछि उनी नेपाली सेनामा भर्ना हुँन गए । गाउँको केटो सुगठीत शरिर र एसएलसीसम्मको पढाइले सेनाको जागिरमा उनी पास भए ।

‘भक्तपुरमा ट्रेनिङ गरेर दिपायल पोस्टिङ भएँ । त्यतिबेला जागिरको महत्व निकै थियो । मैले आर्मी जागिर खाँदाको बेला गाउँलेले भन्थे, यसले राजाको सिन्दुर पहिरिएको छ यसलाई दुई चार पैसा दिँदा पनि केही फरक पर्दैन ।’ तर, उनले भने सेनाको जागिर अनुशासनको घेरा र सिमित आम्दानीले जीवन चल्ने छाँट देखेनन् । यता त्यही साल उनको विहे पनि भयो । उनी १७ वर्षका थिए, ज्यामरुंग गाविसकी सिता दाहालसँग उनको मागि विवाह भयो । यता सेनाको जागिर भित्र भने असन्तुष्टि बढ्दै गएको थियो । ‘त्यतिबेला ३ सय रुपैयाँ तलबले जीवन धान्ने मेसो दखिन अनि ४४ सालमा मैले सेनाको जागिर नै छाडिदिएँ,’ उनले भने ।

जागिर छाडेपछि आर्थिक अभाव त्यस्तै थियो । त्यतिबेला जात्रा जाने चलन निकै व्यापक थियो । जात्रा जान पैसा चाहिन्छ । तर, उनीसँग थिएन । उनले एकजना गाउँलेसँग १० रुपैयाँ सापटी मागे । तर, गाउँलेले पत्याएनन् । १० रुपैयाँ सापटी पाउन लायक नभएपछि भर्खर जोश हुँर्कदै गरेको उनीमा इख पलायो, र सोचे, ‘अब म पैसा धेरै कमाउँछु ।’ जात्राबाट घर फर्कंदा रसायनीक मल लिएर आउँन भन्दै उनकी आमाले ३० रुपैयाँ दिइन् । आमाले त्यतिबेला भनेकी थिइन्, ‘तिमीहरु जात्रा जाने भए मोल किनेर ल्याऊ’ ।’ उनी जात्रा त गए तर, घर फर्किएनन् । आमाले मल खरिद गर्न दिएको ३० रुपैयाँ लिएर लोकप्रसाद काठमाडौं हानिए ।

काठमाडौं छिरेपछि उनको बेहालत भयो । खाने बस्ने ठेगान थिएन । कामको खोजीमा भौतारिदै दैनिकी वित्न थाले । निकै मेहनतपछि उनले दरबारमार्गको एक रेष्टुरेन्टमा जागिर खुलेको थाहा पाए तर, जागिर पाएनन् । बल्लबल्ल नाङ्लो रेष्टुरेन्टमा वेटरको काम थाले । ‘३ सय रुपैयाँ तलब पाउथें । यता पाँच छ सय रुपैयाँ टिप्स आउँथ्यो । १४ घण्टा काम गर्थें,’ उनले सम्झिए, ‘त्यो जागिर पनि धेरै समय खान पाइन । घरबाट बुवा काठमाडौं आएर मलाई लिएर जानु भयो । बुवाले भन्नु भयो,‘तैँले आर्मीको जागिर पनि छाडिस् । लफूङ्गा भएर हिडिस् । बरु घरको काम गर्न हिँड’ । गाउँबाट पनि त्यस्तै प्रेसर आयो । अनि म काठमाडौं छाडेर फेरी गाउँ फर्किएँ ।’ घरमा बुवाले अंशबण्डा गरिदिए । तीन भाइ थिए । दुई वटा घर थियो । कान्छोले बा आमा पाल्ने भनेर एउटा घर पायो ।

जेठोले जेठो भएर अर्को घर पायो । यता माइलो रहेका लोकप्रसाद जिल्लीए । उनको बेहालत भयो । श्रीमतीले जेठी सन्तान जन्माएकी थिइन् । छोरी अन्जना दाहाल र आमा सिता दाहाललाई बासको चिन्ता थियो । उनले परिवारलाई गोठमा ओत लगाए । र, काठमाडौं हान्निए । काठमाडौंमा डेराको चाँजोपाँजो मिलाए र सन्तानलाई पनि काठमाडौं नै ल्याए । यता छोरी अन्जना हुँर्कदै थिइन् । उनी नाङ्ग्लो रेष्टुरेन्टमा जागिरे थिए । ५ सय रुपैयाँ तलब हुन्थ्यो । ‘निकै कहाली लाग्दो दिनहरु थिए,’ लोकप्रसादको अनुहारमा दुःखको इतिहास मडारियो, ‘त्यो दिन सम्झँदा मेरो आँखामा आँशु आउँछ ।’ तर, उनको आत्मबल मरेन । पुनः नाङ्लो रेष्टुरेन्टकै साहुकोमा धाए । अर्को तानसेन भन्ने रेष्टुरेन्टमा जागिर पाए । त्यहाँका मजदुरले ३ सय रुपैयाँका लागि १२ घण्टा श्रम गर्नुपथ्र्यो । कोठा भाडाको ५ सय रुपैयाँ तिर्नुपथ्र्यो । तर, साहुको दिनभरको व्यापार लाखौँको हुन्थ्यो ।

त्यहाँ उनले मजदुर अधिकारका कुरा गरे । पारिश्रमिक पाउनुपर्छ भन्दै आवाज उठाए । तर, दुर्भाग्य मजदुर युनियन गठन गरेपछि उनलाई साहुले कामबाट निष्काशन गरिदियो ।त्यसपछि उनी सिंगापुर जाने निधोमा पुगे,‘ट्राभल एण्ड टुरिजम पढ्ने अभिलाशा सहित । ‘जोखिम मोलेरै म सिंगापुर हिँडे । एकदेखि डेढ महिनासम्म म ‘इलिगल भएँ’ । फेरी नेपाल नै फिर्ता भएँ,’ उनी सुनाउँछन्, ‘मैले स्टुडेन्ट भिसा एप्लाई गरिराखेको थिएँ । त्यसको तीन चार महिनापछि यप्रुभ भयो र फेरी सिंगापुर नै गएँ ।’ सिंगापुरमा विद्यार्थीले महँगो शुल्क तिर्नु पथ्र्यो । तर, उनीसँग पैसा थिएन । काम निकै जोखिमपूर्ण थियो । ६ महिनापछि उनले सिंगापुरबाटै स्वीजरल्याण्डको भिषा एप्लाई गरे र पाए । त्यतिबेला तत्कालिन नेकपा माओवादी र राज्यपक्षबीच द्वन्द चर्किएको थियो ।

उनले आफू माओवादी भएका कारण राज्यपक्षबाट दमन खेप्नु परेको भन्दै शरणार्थीको रुपमा बस्न दिन बेल्जियम सरकारलाई अनुरोध गरेका थिए । सन् २००४ मा त्यो ‘केस पोजिटिभ भइदियो । र, स्विजरल्याण्डबाटै बेल्जियम हानिए । ‘श्रीमतीलाई बेल्जियम झिकाउन सहज थिएन, छोरा छोरी बेसाहारा थिए ,’ लोकप्रसाद बेल्जियम यात्राको शुरुवाती दिन सम्झन्छन्, ‘मैले ‘दलाल’ मार्फत नै श्रीमतीलाई बेल्जियम झिकाएँ । दलालहरुले ४ र ५ लाख रुपैयाँ कमिशन लिए ।’ श्रीमती दाहाललाई शुरुका दिनहरु निकै कठिन भए । भाषाको ज्ञान थिएन । गाउँकी किसानकी छोरी, घाँस दाउरा मेलापात गर्दा–गर्दै सामान्य साक्षेरतामै अध्ययन रोकियो । तर, गाउँको मेलापात र घाँसदाउराले उनलाई बेल्जियममा सहज बनाइदियो । ‘उनी सामान्य साक्षर मात्रै थिइन् । तर निकै मेहनती थिइन् । ठूलो घरमा गोलभेँडा खेती थियो, लाखौँको गोलभेँडा फल्थ्यो । उनलाई गोलभेँडा फर्ममा काम खोज्न गएँ ।

उनको काम साहुले मन पराए,’ लोकप्रसाद श्रीमतीको दुःख सम्झन्छन्, ‘हामी दुवैजना गोलभेँडा फारममा काम शुरु गर्न पुग्यौँ ।’ उनकी श्रीमतीले गोलेभेँडा खेतिबाट मासिक ८ सय युरो (नेपाली एकलाख) तलब पाउँथिन् । उनले पनि श्रीमती बराबर कमाउँथे । घर भाडा ५ सय युरो थियो । घर खर्च कटाएर एक जनाको कमाई बचत हुन्थ्यो । लोकप्रसादले गोलभेँडा फारममा काम गर्न नसक्ने भए । बाहिर ३० तर गोलभेँडा फारममा ५० डिग्री तापक्रम थियो ।

गोलभेँडाको पात काट्ने, १ सय किलोको गोलभेँडा ट्रलीमा राखेर कन्टेनरमा खन्याउने काम थियो । उनले सकेनन् । तर, श्रीमतीले काम गरिरहिन् । ‘दुई सन्तानकी आमा मेरी श्रीमतीले निरन्तर काम गरिन् तर मैले सकिनँ । कमिज खोल्दा पसिनाको धारा छुट्थ्यो,’ आफ्नी श्रीमतीको दुःख लोकप्रसाद सुनाए, ‘५० डिग्रीले गोलभेँडा पाक्थ्यो त्यो ठाउँमा मेरी श्रीमतीको काम देखेर मेरा साथीहरु पनि चकित हुन्थे ।’ श्रीमतीलाई गोलभेँडा फारममै काममा छोडेर उनी भने अर्को एक रेष्टुरेन्टमा काम गर्न हिँडे ।

श्रीमतीलाई एक्लै छोड्न मनले मानेन । आफूले काम गर्दै आएको रेष्टुरेन्टका मालिकलाई उनले भने ‘मेरी श्रीमति पनि छ, उसलाई पनि काम दिन्छौ ?’ उसले भन्यो,‘लिएर आउ ।’ गोलभेँडा फरामको काम छुटाएर उनले श्रीमतीलाई रेष्टुरेन्टमा ल्याए । दुवै जनाले भाँडा माझे । ‘हामीले भाँडा माझेको देखेर साहु चकित खायो । हामीले त्यो काम सम्हाल्यौँ,’ लोकप्रसादले ती दिन सम्झिए, ‘त्यतिबेला तलब घण्टाको ८० युरो हुन्थ्यो । हप्तामा ६ दिन काम गथ्र्यौ । हामी दुवै जना मिलेर दिनमा १६० युरो कमाउँथ्यौ । जम्मा गरेको पैसाले बैंकको क्रेडिटबाट ९० हजार युरोमा घर किनेँ ।’ घर भएपछि छोरा छोरी ल्याउने अधिकार थियो । छोरी अञ्जना दाहाल निस्ट कलेजमा ११ मा पढ्दै थिन् । छोरो अनिल दाहाल सिद्धार्थ बनस्थलीमा ७ कक्षामा पढ्थे । उनले छोरा छोरीलाई बेल्जियम ल्याए । छोरी बुझ्ने भइसकेकी थिइन् । ‘म र मेरी श्रीमती विहान ९ बजे घरबाट निस्कन्थ्यौँ । राती १० बजे मात्रै घरमा आउँथ्यौँ । हामीले हप्तामा दुई दिन मात्रै बच्चाहरुलाई देख्न पाउँथ्यौँ,’ ती दिनहरुमा उनी छोरीको अनुहार सम्झन्छन्, ‘छोरीको अनुहारमा खिन्नता देखेँ । शनिबार राती अबेर मात्रै उनीहरुसँग कुरा गर्न पाइन्थ्यो ।’

‘मेरो ज्ञान र क्षमता बेल्जीकहरुको किचनमा थियो । तर, मैले सुसी व्यापार थाले,’ आफ्नो व्यापारिक पृष्ठभूमि कोट्याउँदै उनी भन्छन्,‘ नजिकै ठाउँ लिएँ र मैले रेष्टुरेन्ट खोलेँ ।’ ७० हजार युरो लगानीमा खोलेको रेष्टुरेन्टले ‘पिकअफ’ लिन सकेन । बेल्जिकहरुलाई नै कामदारको रुपमा राखेका थिए । काम गर्ने मान्छेहरुले नै छाडेर हिँडे । उनले सञ्चालन गरेको पहिलो रेष्टुरेन्ट नै दुर्भाग्य बनिदियो ।
छोरी, ज्वाईं, छोरा र श्रीमतीलाई लिएर सोही रेष्टुरेन्टमा आफै काममा लागे र पारिवारीक व्यापार शुरु गरे । दुई वर्षपछि अर्को एउटा रेष्टुरेन्ट खोल्यौँ । हामीले यी दुई रेष्टुरेन्टबीच प्रतिस्पर्धा गरायौँ ।

अहिले यो फैलिएर बेल्जियममा मात्रै ५ वटा पुगेको छ । सुसी किङ बेल्जियमको ‘बेस्ट’ क्याटोरीको रेष्टुरेन्ट हो । ‘भ्यालुएसन’ गर्दा २ मिलियन युरो मुल्य पर्न आउँछ । अर्थात २२ करोड नेपाली रुपैयाँ हुन आउँछ । ७ करोड नेपाली रुपैयाँ लगानीमा पोखरामा होटल बनाउँदै छौँ ।’ जब उनी जीवनको पृष्टभूमि तर्फ फर्किन्छन् त्यतिबेला उनको मन भित्र प्रश्न उठ्छ, ‘मैले जीवनमा जोखिम लिएको हुँ । पहिले परिवार छाड्ने हिम्मत गरेँ । ३० रुपैयाँ लिएर नभागेको भए म यहाँ हुन्थेँ र ?’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार