पोर्चुगलमा भेटिएका कमिसनवालाहरु

– फुर्बान रायमाझी

गिलासमा बियर थपियो!सितनमा एक प्लेट भुटेको भटमास र दुईवटा चम्चा।भटमास दुई छेउवाट चम्चाले हुल्दाहुल्दै चम्चाहरु ठोक्किए अर्थात प्लेट रित्तियो।चम्चाहरुले प्लेट रित्याउँदा गिलासहरु थुप्रैपटक रित्तियो।परदेशमा बसेर एउटै प्लेटमा बाडिचुँडी खाने साथी भेट्दा मख्ख भएजस्तो देखिन्छन कोही।जिन्दगीमा त्यसरी खानेहरुको बिश्वास पनि उत्ति लाग्दो हो जति बाडिचुँडी खाएर सकिएको छ भुटेको एक प्लेट भटमास।

पिउँदाका गफ अलि चर्का हुन्छन,ठुला हुन्छन र गफै त हो नि भनेजस्ता हुन्छन।मैले पिएर मातिएकाहरुको गफ धेरै सुनेको छु।जिन्दगीमा मरिलानु के छ र भन्दै पिउनेहरुले मर्ने र मार्ने गफ दिन्छन।गफ सुन्न मज्जा आयो भने बुझ्नुस पिउनेहरु मातेर सत्य ओकल्दैछन कति आफ्नो कति अरुको।सत्य र गोप्य सुन्न पाउँदा आनन्द आउँछ।
गफ खुब जम्छ।

अर्को टेबुलको छेउतिर बसेर म कतिबेला झ्याल बाहिर हेर्छु,कतिबेला अर्डर आयो कि भन्दै वेटरको कृयाकलाप हेर्छु।उनीहरु बेलाबखत मलाई हेर्छन र बेवास्ता गर्छन,म उनीहरुलाई!पहिल्यै चिनेजस्तै कतै देखेजस्तै,बोलाउँछन कि झै लागिहाल्ने,बोलाउँ झै पनि लाग्ने।म सम्हालिन्छु,तर गफहरु मीठा लाग्छन।रहरलाग्दा,जोशिला,उत्साहित र डरलाग्दा पनि।

मलाई उनीहरु साधारण लाग्दै लागेनन्।नेपालबाट युरोप मान्छे ल्याउँछु भन्दै योजनाबद्ध गफ हाक्नेहरु कसरी साधारण हुन्छन?युरोप भनेपछि आँखा चिम्लेरै लाखौँ बुझाउने ठिटाहरु जत्ती पनि छन।बेरोजगार ठिटाहरु सयौँ सपनाहरु थप्छन।युरोप ल्याईदिने मान्छेलाई लाखौँ बुझाएपनी भगवानजस्तै मान्छन,भिसा नलाउन्जेल।यहाँका यी मान्छेहरु कसैका निम्ति भगवान बन्ने योजना सुनाउँदैछन।भगवानहरु रक्सीले जत्ती मातिन्छन उत्ति योजना र सेटिङहरु सेयर गर्छन।मन्त्री र पुलिसका बडा हाकिमहरु,परराष्ट्र र रोजगार बिभागका अधिकृतहरु,एयरपोर्टका हाकिमहरुको नामै भन्दै सप्पैसँग दाममा कुरो मिलाएर महिनादिनमा करोडौं कुम्ल्याउने योजनाहरु सुन्दा म बिचरो फनफन्ती रिंगटा चलेर पल्टिन्छु कि जस्तो हुन्छु उत्तिखेरै।

मलाई उनीहरु मुर्ख लाग्यो,रेस्टुरेन्टमा बसेर गर्न नमिल्ने गफहरु गरे।अथवा तेस्रो ब्यक्तिले सुन्न मिल्ने आवाजमा गरे।उनीहरुलाई म केहिजस्तो लागेन्,कोहिजस्तो लागेन,लागोस पनि कसरी एक बोतल पानीसँग एक प्लेट मम सिध्याउने म जस्ता मान्छेहरुलाई कत्तिले सोझा र पाखे ठान्छन।सोचे,जिन्दगीमा उनीहरुलाई नचिनेर अर्थात उनीहरुलाई दोस्रोपटक नभेटेर मरिदैन होला। सायद,कुनैदिन लेखेछु भने यो समय लेख्छु।

पोर्चुगल ल्याईदिन्छु भन्ने एउटा खाईलाग्दो ज्यान सँगैको अनुहार छ।मेरो मान्छे ल्याईदिनुस भन्ने अर्को।यी दुई खाले मान्छेहरु खुब मिलें कुराकानीमा,सँगै खाए पिए।

“गाउँभरी बेरोजगार ठिटाहरु छन।एक कल फोनमा तयार हुन्छन”-अर्को बोल्यो।

“कति दु:ख गर्छौ यार?म त अचेल यस्तै काम गर्छु”-खाईलाग्दो ज्वानवाला बोल्यो।

अर्को बोल्यो-“दाम त कमाउनैपर्छ यार।काम गरेर कहिले प्रगती हुन्छ र खै?”

कामैकामले आत्तिएको म उनीहरुको अन्तिम संवादपछी एक्लै टाउको हल्लाए।उता उनीहरु प्रतिशतमा कमिसन खाने छलफल गरें।मान्छे ल्याउने तरिका र योजनाहरु सेयर भैसक्यो।हुन्न झै लाग्दै लागेन।म अर्को कुर्सीमा बसेको मान्छेलाई त ती अपरिचितहरुको कुराकानी सत्य हो कि झै लागेर सोच्ने बनायो।उनीहरुबीचको सम्बन्धमा कसैले कसैलाई ठग्छ वा फसिन्छ झै पनि लागेन।प्लेटको भटमास झै बाडिचुढी खाने कमिसनमा धोका र ठगीको गन्ध कतैबाट मिसिएन।उत्तिखेरै गाउँतिरका बेरोजगारहरुलाई छानिछानी म्यासेज भो र फोन ब्यस्त भो।म रमितेजस्तै ट्वाँ परेर कमिशनको बाँडफाँडवाला कमाई देखेर जिल खाँए।जिन्दगीमा पैसो कमाउनेहरुको दुई नम्बरी धन्दा अझै रोचक भो,म रोचक हेर्न अर्को प्लेट मम माँगे।

गाउँतिरका ठिटाहरु खुशीले चिच्याए।मलाई जसरी पनि तान भन्दै अर्को फोन आयो,अर्को आयो।हेर्दाहेर्दै चार-चार लाख कमिशन झर्‍यो र अर्को बोतल बियर थपियो,चियर्स चल्यो।

म छिनभरमा आफ्नै आँखा अघि चार लाख कमाउनेहरुको कमाईले आत्तिए र अर्को बोतल पानी माँगे।

एउटाले ईमर्जेन्सी पासपोर्ट बनाउने बतायो।अर्कोले पासपोर्टको फोटो उत्तिखेरै पठाईदियो।बाँकी दुई जनाहरु पनि सायद त्यो रात निदाएनन होला।अझ धेरै सपनाहरु थपिए ती जिन्दगीहरुमा।सुन्दर भबिष्यको योजनाहरु तयार भए सायद।छिमेकी साथी र आफन्तले युरोप लैजाने योजना र तरिकाहरु सेयर गर्दा कसले बिश्वास नगरोस।आखिर हामी बिदेश आउने प्रक्रियामा सजिलै बिश्वास गर्छौ,सजिलै रिण खोज्छौं र उस्तै सजिलोसँग फसिन्छौ र मुस्किलले निस्किन्छौं।

सँगै खाएको,सँगै सुतेको,सँगै डुलेघुमेको साथीको बिश्वास किन गर्न मिल्दैन,मज्जाले मिल्छ।जिन्दगीको दु:खपनि देखेको छ,सुखपनी।दु:खसुख देखेका मान्छेहरु आफ्ना हुन्छन र आफ्ना मान्छेहरुले कसरी ठग्छन?सँगै पिउनेहरु आफ्नै मान्छे जस्ता छन।नेपालका ठिटाहरु छिनभरमा तयार भए उनीहरु झन आफ्नै मान्छे हुन।ठग्छ भन्ने पनि छैन,ठगिन्छु भन्ने पनि छैन सायद।सोझा ठिटाहरुलाई युरोप पुगिन्छ भन्ने मात्रै छ,टन्न कमाईन्छ र सजिलै कार्ड बनाईन्छ भन्नेपनी छ मलाई जस्तै।

मैले अन्त्यतिर अर्को सत्य भोगेको छु र जानेको छु।समयले आफन्त,छिमेकी वा साथी भन्दैमा आँखै चिम्लेर बिश्वास गर्न मिल्छ भन्दै सिकाएको यो पाठ पैसो बुझाएपछी असत्य लाग्छ,झुठो प्रमाणित हुन्छ र आँखा खुल्छन।सायद ती ठिटाहरु यहि पाठ सिक्न तयार हुँदैछन होला,म यहि सोचे।

रात ढल्कियो,म उठे।उनीहरुको अनुहारतिर पुर्लुक्क हेरें।

अचेल कहिलेकाही त्यहाँ मम खान पुग्दा म त्यो साँझका ती मान्छेहरुका गफहरु सम्झिन्छु।चारचार लाख सम्झिन्छु।ती अनुहारहरु सम्झिन्छु र खोज्छु।ठिटाहरु सम्झिन्छु,यहाँसम्म ल्याइदिएको भए त हुन्थ्यो,पैसो ठगेर गायव पो छन कि झै पनि लाग्छ र आफुलाई सम्झिन्छु।मैले मलाई सम्झेभने लाखौँ युवाहरुको ठगिएको करोडौँ रुपैयाँसँगैको पीडा र छटपटीले झस्क्याउँछ।

कसैले ठग्यो लुट्यो भन्दै लेख्न हुन्न,आफू लुटिएको,ठगिएको कुरा पनि लेख्न हुन्न।लेख्दा ज्यानको माया लाउँछ,धम्क्याउँछन,तर्साउँछन।ठगिए,लुटिए भन्दा ईज्जतको माया लाग्छ,दुनियाले सोझो,लाटो भनेर हेपेरै बिचरा भन्छन। खिल्ली उडाउँछन,सहयोग त एउटाले गर्दैनन।जिन्दगीमा बुझेको अर्को सत्य यसपाली झुठो होस्,असत्य होस।थर्काउने हिम्मतहरुलाई लाज लागोस,धम्क्याउने आवाजहरुलाई डर लागोस र लड्न हिड्ने मान्छेहरु सुध्रिएको अनुभुती गर्न पाईयोस।

अनि म यहाँभन्दा गतिलो अरु लेख्न जान्दिन।नजान्दा बढ्ता नलेखेकै राम्रो,नदेखेको नलेख्नु झनै राम्रो। म कसैलाई बिगार्न किन अरु लेख्नु?जत्ती देखे उत्ति लेखें।बाँकी दुनियाँ जान्दिन।शहरतिर बरालिएर हिडिन,धेरै मान्छेहरुको सँगत कहिल्यै गरिन।तसर्थ धेरै ठुला कुराहरु बुझ्दिन।ठुला कुराहरु जान्दिन।ठुला मान्छेहरुको सँगत गरिन।कार्यक्रम र नाँचगानमा हिडिन।तसर्थ ती मान्छेहरुलाई आजसम्म कतै देखिन,कहिल्यै भेटिन र केही सोध्न पनि पाईन।मलाई गुमनाम बस्न मन लाग्छ जिन्दगीमा।फेसबुकमा केही नलेख्न पनि मन छ।तनाब नथप्न पनि मन छ जिन्दगीलाई।बिन्दास बाँच्न पनि मन छ।लोभले मान्छे बिन्दास हुन्न,बिन्दास बाँच्न मन गरेपछी म उनीहरुको लोभी र कमिशनवाला अनुहार बिर्सिन खुब कोसिस गरे र त्यो बार्तालाप आजसम्म कहिल्यै लेखिन,लेख्ने जाँगर गरिन,लेख्न आबश्यक पनि ठानिन् बर्षौसम्म जिन्दगीमा।

कहिलेकाही नेपालबाट मान्छे ल्याईदिन्छु भन्दै लाखौं रुपैयाँ कुम्ल्याएर पोर्चुगलमा मोज गर्नेहरुका खबरहरुले मिडियामा हल्ला मच्च्याईरहन्छन हल्लाको अघिपछी खोज्दै सोध्दै म ती अनुहारहरु सम्झिन खुबै कोसिस गर्छु,सक्दिन।यस्तै कमिसनवाला अनुहारहरुले चलाएको धन्दा कति पर्दाफास भैसकेका छन र कति दबाईएका होलान सायद।

तसर्थ मलाई लाग्छ केही मान्छेहरु ठग्न आएका छन पोर्चुगल।ठग्न आएकाहरुले जसरी नि ठगिहाल्छन,रुखो बोल्न जान्दैनन् र केही मान्छेहरु रातारात लाखौं कमाउने आश र लोभमा ठगिन आएका हुन पोर्चुगल।पोर्चुगल बसुन्जेल जति नै कमाएपनि कमाएको पैसो अरुले ठगेर कुम्ल्याएको रिण तिर्दातिर्दै सकिन्छ।ठग्नेहरु मोज गर्छन,गाडी चढ्छन,पार्टनर फेर्दै हिड्छन।

करोडौं सम्पत्तिको मालिक हुँ भन्दै हिड्नेहरु नि उस्तै,भेटे लुटिहाल्छन।हात्तीका देखाउने दाँतजस्ता छताछुल्ल देखावटी बिजनेश देखाएर नलुट्ने बिश्वास गराएरै लुट्नेहरुहरुले सबथोक लुट्छन। समाजमा बिद्धान र समाजसेवी हुँ भन्दै खादा ओढ्दै हिड्ने केही मान्छेहरु नि उस्तै मौकामा चार चौका ठोकि हाल्छन।कोहि पत्यार नलाग्दा जस्तो लाग्ने मान्छेहरु जिन्दगीमा यस्तो रुपमा देख्नै नपरे झै लागेपनी, उस्तै बिश्वासमा सुम्पिएको बिनाप्रमाणको डुबेको धनसँगैको समस्याले बिलौना गर्छ उनीहरुको पिडाबाट छटपटिएर जल्दै।

र म उहिले देखेको खाईलाग्दो कमिसनवाला मान्छेको अनुहार सम्झिन कोशिस गर्छु,सक्दिन।

( लेखक फुर्बान रायमाझी भोइस अफ नेपालका नियमित स्तम्भकार हुन्। )

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार