हुम्लाबासीको कठोर जीवन : ५० रुपैयाँको खाद्यान्न १ सयमा किन्न ८ दिन हिँड्छन्

– जीवन सेजुवाल

मुगु : हुम्लाकाे सर्केगाड गाँउपालिका–३ उनपानी गाँउका लक्ष्मण कार्की खाद्यान्न जोहो गर्न गाँउबाट चार दिन हिँडेरै मुगु खाद्य संस्थानमा पुगे । खाद्य संस्थान मुगुबाट आफुलाई चाहिने खाद्यान्न भेडा बाख्रामा बोकाएर चार दिन हिँडेरै गाउँ फर्किए ।

गाँउमै रहेको खाद्य डिपोमा चामल नभएपछि कार्की चार दिन हिँडेर खाद्य जोहो गर्न बाध्य भएका हुन् । ‘गाउँको डिपोमा एक दाना चामल छैन परिवार पाल्न जति दिन पनि हिँड्नु पर्यो नी !’ कार्कीले भने, ‘गाँउमा सिँहदरबार पुगेको भनिए पनि हाम्रो दुख उस्तै छ ।’

सोही गाउँका औसे फेडेराको पनि दुख यस्तै छ । उनी पनि खाद्यान्न लिन पाँच दिन हिँडेर छिमेकी जिल्ला मुगु पुगेका छन् । गाँउको डिपोमा अक्कलझुक्कल खाद्यन्न त पुग्छ तर प्रत्येक घरधुरीले वार्षिक ५ केजी देखि १५ केजीसम्म मात्रै पाउने गरेका छन् ।

यो आर्थिक वर्षका लागि जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले सर्केगाड डिपोका लागि १२ हजार, देउली बितरण केन्द्रका लागि ४ हजार र श्रीनगर डिपोका लागि ६ हजार क्विन्टल खाद्यन्न माग गरेको थियो । तर ठेकेदार कम्पनीको वहाना देखाउँदै खाद्य संस्थानले ती डिपोमा अहिलेसम्म खाद्यान्न ढुवानी गराउनै सकेका छैन । ठेकेदार छनौट गर्न ढिलो भएको भन्दै खाद्यान्न पुर्याउन नसकेको बताइन्छ ।

हिँडेरै अाठ दीन :

स्थानीयबासी भने भेडा तथा खच्चडसहित ८ दिनसम्म हिँडेर छिमेकी जिल्ला मुगु जान बाध्य छन् । हुम्लाका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाँउपालिकाका स्थानीयबासी खाद्यान्न अभावबाट प्रभावित बनेका हुन् ।

‘गाँउमा रहेका डिपोमा न खाद्य पाइन्छ न त कर्मचारी नै हुन्छन् । डिपो वर्षको एक पटक मात्र खुल्छ खाद्यान्न कहिले पुग्छ थाहा हुँदैन,’ सर्केगाड गाँउपालिका–३ का गौतम रावलले भने, ‘पर्खेर बस्दा वर्ष दिन लाग्छ । त्यसैले खच्चड लिएर मुगु जान बाध्य छौँ ।’

यसरी छिमेकी जिल्लाबाट खाद्यान्न किनेर ल्याउँदा उनीहरुले ५० देखि ६० मा पाइने सामानलाई १ सय तिर्नुपरेको सुनाउँछन् । दशैँ, तिहार जस्ता चाडपर्वमा त स्थानीयले झनै दुख झेल्नु परेको सुनाए । खाद्य संस्थान भने ढुवानीका लागि ठेकेदार पक्ष छनौट गर्न ढिलो भएकाले ढुवानी प्रभावित बनेको बताउँदै आएको छ ।

ढुवानीको जिम्मा पाएका ठेकेदारसँग मंसिर महिनाभित्रै सम्बन्धित डिपोमा खाद्यान्न पुर्याउने बारे छलफल भएको बताइएको छ । उता सुर्खेतस्थित खाद्य संस्थानका प्रबन्धक भीम थापा भने खाद्यान्न सुर्खेतबाट गाडीमा पठाइसकेको दावी गर्छन् । यद्यपि गाउँले ८ दिनको बाटो हिँडेर खाद्यान्न किन्न जानु पर्दा दिक्क छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार