घुँडा सम्वन्धी समस्या पहिचान गर्न मेडिसिटीले देशव्यापी स्क्रिनिङ टुर शुरु गर्दै

घुँडा सम्वन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श तथा परीक्षणका लागि नेपाल मेडिसिटी अस्पतालले देशब्यापी बृहद स्क्रिनिङ्ग टुर कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार (भोलि)बाट शुरु हुने दुई महिने उक्त टुर देशमा विभिन्न ९ वटा शहरमा पुग्नेछ ।

अस्पतालका अनुसार बृहत स्क्रिनिङ्ग टुर कार्यक्रमको शुभारम्भ २८ कात्तिक (भोलि)बाट हुनेछ । सो दिन हेटौडाको चुरे हिल हस्पिटलमा निशुल्क परामर्श तथा परीक्षण हुनेछ । त्यस लगत्तै टोली २९ कात्तिकमा बीरगञ्ज पुग्नेछ ।

बीरगञ्ज हेल्थ केयर हस्पिटलमा विहीबार परीक्षण तथा परामर्शको कार्यक्रम तय भएको छ । यस्तै टोलीले २८ मंसिरमा जनकपुरको जानकी मेडिकल कलेज, १ पुसमा धरानको मञ्जुश्री पोलिक्लिनिक, २ पुसमा दमकको लाइफलाइन हस्पिटलमा गई निशुल्क परीक्षण तथा परामर्श गर्नेछ ।

पुर्वको शिविर पछि टोलीले १२ पुसमा बुटवलको लुम्बिनी सिटी हस्पिटल, १४ पुसमा पोखराको विभुती हस्पिटल, २४ पुसमा धनगडीको कैलाली हस्पिट र २६ पुसमा टोली नेपालगञ्ज फर्केर कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा परीक्षण तथा परामर्शको शिविर सञ्चालन गर्नेछ ।

अस्पतालले यो कार्यक्रमले घुँडा सम्बन्धि समस्याका कारण हिडडुल गर्न नसक्ने र गुणस्तरीय जीवनयापनबाट विमुख भएकाहरुलाई सहयोग पुग्ने दावी गरेको छ । आफ्नै घरआगनमा समस्या पहिचान र विशेषज्ञ चिकित्सकबाट उपचार समेत हुने भएकोले विरामीहरुले यस कार्यक्रमबाट लाभान्वित उसको धारणा छ ।

काठमाडौमा केही महिना अघि गरिएको यसप्रकारको शिविरबाट करिब ५ सय जना विरामीहरुले निशुल्क परामर्श तथा परीक्षण गरी ५० जनाको घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरिएको थियो । सोही कार्यक्रमलाई यसपटक उपत्यका बाहिर विस्तार गरिएको हो ।

जोर्नी प्रत्यारोपण गर्दा जोर्नीको बिग्रेको भागलाई निकालेर त्यसको ठाँउमा कृत्रिम जोर्नी राखिन्छ जुन धातु र प्लाष्टिकजन्य पदार्थबाट बनेको हुन्छ । यस उपचारमा मेडिसिटी अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. शिशिर लाखे, डा. राज राणा लगायतका टोली संलग्न रहने बताइएको छ ।

यसैबीच मेडिसिटीले घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घुँडा खिइएको, बाथरोगको कारणले घुँडाको समस्या भएका, जोर्नी खिइएका तथा नशा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका व्यक्तिहरुलाई जोर्नी सम्बन्धि समस्या हुने र उनीहरुको जोर्नी प्रत्यारोपण सम्मको उपचारमा सहुलियत दरको प्रत्यारोपण प्याकेज समेत सार्वजनिक गरेको छ ।

उक्त प्याकेजमा ३ लाख ८० हजार रुपैयामा शल्यक्रिया, युएस एफडिए इम्प्लाण्ट, औषधि र सम्पूर्ण उपचार सामाग्री, ७ दिनको सिंगल क्याबिन, आई.सि.यु., फिजियाथेरापी लगायत सेवाहरुलाई एकै प्याकेजमा उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार