नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम उपस्थित भएर सम्पन्न महासंघ बेल्जियमको दोश्रो अधिवेशनप्रति असन्तुष्टि छताछुल्ल भएको छ । अधिवेशनमै गलत हर्कत भएको आरोप लगाउदै बेल्जियममा अर्को जनजाति महासंघ गठन गर्ने चेतावनीसहित १५ जना आदिवासी जनजाति अगुवाहरुले एक प्रेस विज्ञप्तीमार्फत यस्तो चेतावनी दिएका हुन् ।
तमुधी बेल्जियमका सल्लाहकार गमबहादुर गुरुङले व्यापक गुटबन्दी एवं कसैलाई काखा र कसैलाई पाखा लगाएर अधिवेशन सम्पन्न गरेको नाटक गर्नु अत्यन्तै खेदजनक कार्य भएको उल्लेख गरेका छन् । नोभेम्बर ११ तारिख लुभेनमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा बाबुराजा लामा तामाङ निर्वाचित भएका छन् ।
बरिष्ठ उपाध्यक्षमा मुना राई, उपाध्यक्षमा यमुना रोका मगर, होमबहादुर गुरुङ, डिल्ली सुब्बा र सुर्य नारायण श्रेष्ठ, महासचिवमा नन्दराज घले, सचिवमा कान्छा शेर्पा, सदस्यहरुमा दिलु पुन, मिङ्ग्मा लामा शेर्पा, राजु थापामगर, निमा रुम्बा तामाङ, इन्दिरा चाम्लिङ, चित्रजंग गुरुङ, रामशरण महतो, इन्द्र प्रसाद लिम्बु (कविन्द्र) र प्रेमा शेर्पा (मनु) रहेका छन् । महासंघमा आबद्ध संस्थाहरुबाट पदेन सदस्यमा आंग दोर्जी सोनाम शेर्पा, भिम जोशी, सोमनाथ थारु थनेत, लोक रानामगर, रामलामा तामाङ, बिमल सुब्बा, जीवन तमु, बिष्णु तारा शेरचन मनोनयन भएका थिए । केही सचिव र कोषाध्यक्ष पछि मनोयन गरिने बताइएको थियो ।
तर निर्वाचित भएका भनिएका पदाधिकारी र सदस्यहरुले पनि अधिवेशनप्रति असन्तुष्टि प्रकट गरेका छन् । असन्तुष्ट १५ जनाले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यस्तो रहेको छ :
नेपाल आदिवासी जनजाति महासंघ आत्मनिर्णयको अधिकार सहितको स्वायत्त शासन, पहिचानको आधारमा संघीयता भन्ने मूलमर्म बाट धेरै पछाडि परिसकेको छ । यसले आफ्नो संगठनको मूल उद्धेश्य आफ्नो अधिकार प्राप्तिको लागि आदिवासी जनजातिको आन्दोलन उठाउन पर्नेमा विगतमा आदिवासी जनजातिले उठाएका आन्दोलनलाई जहिले पनि उधारोमा टुङ्गयाउने गरेको छ । महासंघले आन्दोलनका नेता तथा कार्यकर्ताहरुको सुरक्षालाई पनि उपेक्षा गरिराखेको छ । इतिहासले के सावित गरेको छ भने नेपाल आदिवासी जनजाति महासंघको मुख्य नेत्रित्वहरु नै जातीय पहिचान तथा संघीयता विरोधी दलहरुको प्रतिनिधित्व गरेर आउने गरेका छन् । यस्तो नेतृत्वहरुले जनजातीहरु आफैंले केही गर्न नसक्ने हुनाले विभिन्न दलहरुमा समावेश भएर आफ्नो एजेण्डाको लागि लबिङ्ग गर्नुपर्छ भन्दै आन्दोलनको मुख्य स्पिरिटलाई भताभुङ्ग पारिरहेका छन् । यसैको परिणाम स्वरुप अहिले नेपाल आदिवासी जनजाति महासंघले पहिचान, स्वायत्तता, संघीयता कुनै पनि आधारविनाको प्रादेशिक विभाजनलाई स्वीकारेर आएको छ ।

नेपाल सरकारले आदिवासी जनजातीलाई संविधान संशोधन हुन्छ भन्ने गुलियो नारा दिंदै भुलाई रहेको छ र आदिवासी जनजाति महासंघका नेताहरु बुझ पचाएर त्यसैलाई भज्याउंदै आफ्नो जीविकोपार्जन गरिरहेका छन् । जब संविधानको मूलमर्म नै आदिवासी जनजाति विरोधी छ भने त्यस्तो संविधानको संशोधनले आदिवासी जनजातिलाई अधिकार सम्पन्न बनाउन सक्दैन भन्ने कुरामा हामी स्पष्ट छौं ।
साथै नेपाल आदिवासी जनजाति महासंघ संग आबद्ध विदेश स्थित भाइचारा संगठनहरुले पनि केन्द्रले जे जस्तो गल्ति गरेपनि न त्यसको विरुद्ध कुनै आवाज उठाउन सकेको छ नत आफैंले कुनै अभियान ल्याउन सकेको छ । आदिवासी जनजाति महासंघ, बेल्जियम शाखाले पनि विगत ६ वर्षमा कुनै पनि प्रभावकारी काम गर्न सकेन । विघटित अवस्थामा रह्यो । कार्यसमितिको बैठक नगरिकन, साधारण सभा सम्पन्न नगरिकन, संस्थाका संस्थापकहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरु र अन्य जातीय संगठनहरुसंग छलफल नै नगरी बेल्जियम च्याप्टरको अधिवेशन घोषणा गरिनु अवैधानिक र गैह्र जिम्मेवारीपन भएको कुरा हामी स्पष्ट पार्दछौं ।
यति हुंदाहुंदै पनि आदिवासी जनजातिको आन्दोलनलाई सहयोग पुग्ने काम हुन्छ भने अधिवेशनमै उपस्थित भएर छलफल गरी हल निकाल्ने उद्देश्यले हामी अधिवेशनमा सहभागी भयौं । अधिवेशनको खुल्ला शत्रमा नै आफ्नै आदिवासी जनजाति संस्था मध्यकालाई चरम उपेक्षा गर्दै उद्घाटन शत्र शुरु गरियो । आदिवासी जनजातिको सैधान्तिक राजनैतिक विषयवस्तुहरु र व्यावहारिक विषयहरु वन्द शत्रमा छलफल होलाकी भन्ने आशामा हामी वन्द शत्रमा पनि सहभागी भयौं । वन्द शत्रमा प्रस्तुत गर्नपर्ने प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन,मस्यौदा विधान,आगामी योजनाको प्रस्तावना कुनै पनि कुरा नभय पछि फेरि पनि अधिवेशनको वैधानिकता रहेन । महासंघको केन्द्रको विधानले प्रवास शाखा निर्माणमा निर्देशित गरेको मस्यौदा विधानको अंश पनि त्यहां प्रस्तुत हुन सकेन । महासंघका केन्द्रीय अध्यक्ष आफैं उपस्थित अधिवेशनमा यस्तो कुनै पनि विधि विधान, नियम संगत केहि पनि नभएको समितिले प्रस्ताव गरेको नेतृत्व मान्न नसक्ने र त्यसको अन्य दावेदार संस्थावाट नेतृत्वको लागि उम्मेदवारी दिन पाउने अधिकार र मताधिकार प्राप्त संस्थाहरुलाई मत दिन समेत बन्चित गर्ने अवस्था सृजना गरेपछि र केन्द्रीय अध्यक्षले पनि त्यहि गलत हर्कतको पक्षपोषण गरेपछि वाध्य भएर हामीले अधिवेशन बीचैमा छोडेका हौं ।
यो गलत प्रवृत्तिवाट सम्पन्न अधिवेशनले आदिवासी जनजातिको अधिकारको लागि संघर्ष नगर्ने स्पष्ट नै छ, आदिवासी जनजातिको आन्दोलनलाई व्यक्तिगत हित र कुण्ठित स्वार्थपूर्तिको साधन बनाउने निश्चित छ । त्यसैले हामी बेल्जियममा रहेर आदिवासी जनजाति, उत्पिडित वर्ग तथा समुदायको हितमा लामो समयदेखि निरन्तर कृयाशिल रहेका निम्न उल्लेखित व्यक्तिहरु नेपाल आदिवासी जनजाती महासंघ, बेल्जियमको ११ नोभेम्वर २०१८ मा भएको भनिएको अधिवेशनलाई खारेज गर्न नेपाल आदिवासी जनजाती महासंघ केन्द्रिय केन्द्रिय परिषद्लाई माग गर्दछौं । अन्यथा यथाशिघ्र व्यापक भेलाको आयोजना गरि नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियम च्याप्टर गठन गरिने ब्यहोरा स्पष्ट गर्दछौं ।
धन्यवाद सहित
१४ नोभेम्बर २०१८
हस्ताक्षरकर्ता :
१. गम बहादुर गुरुङ्ग
२. शेर बहादुर छन्त्याल
३. मणि राई
४. सोम थनेत
५. नबिन गुरुङ्ग
६. श्याम शेरचन
७. बदन योङ्गहाङ्ग
८. कल्पना मगर
९. मनिष गुरुङ्ग
१०. बिष्णु भुजेल
११. राम बहादुर गुरुङ्ग
१२. श्रीप्रसाद गुरुङ्ग
१३. बिरमान घर्ती मगर
१४. प्रविणा गुरुङ्ग
१५. मिण्ड गुरुङ्ग
















