१८०००००००/-
यत्रो रुपैयाँ अंकमा लेख्न तीन पटक गनें।जिन्दगीमा कमर्स पढिएन।सायदै कमै लेखियो होला यत्रो रुपैयाँलाई यसरी अंकहरुमा।
राष्ट्रपति हुन।गतिलो घरमा बसुन्,गतिलो गाडी चढुन,गतिलो लाऊन,मिठै खाऊन,सुखैले बसुन।आखिर दुख के छ र उहाँलाई,सुखैले पाएको पद छ,टेन्सन के छ र अनि काम नै पो के छ र?

काम नभएको भाँडोले नि सुख पाउँछ।चाहिन्छ कि भन्दै राख्ने हो,नचाहिए फाल्ने दिन पनि आउँछ भाँडोको।मलाई पद र संस्था त्यहि भाँडोजस्तो लाग्छ।हिजोको राजसंस्था आफ्नै आँखाअगाडी त्यसरी नै फालियो अर्थात भाँडोजस्तै भो,राजा त्यस्तै भए र फालिए।पदहरु त कत्ती फालिए कत्ती।
अब यो गणतन्त्र हो,समय बदलिएकै हो।समयले बदल्न नसकेका मान्छेहरुले उस्तै हालिमुहाली गरे र गर्दैछन।नचाहिँदो भाँडाहरुले कोठामा धेरै ठाउँ ओगटे।रित्ता भाँडाहरु खुब बज्छन र थर्किए।अब के हुन्छ,अर्थात केहिं हुनुपर्छ?
तर केही नहोस!!
अब १८ करोडवालाको कुरा।अठार मिनेटको बाटोमा सर्वसाधारणलाई यात्रा गर्न घन्टा बित्छ।आठ घन्टाको बाटोमा अठार घन्टा सकिन्छ।बार्ह जना बोक्ने माईक्रोले अठार दुना छत्तीस जना सर्वसाधारण कोचेर कुद्छ,कोचिएर जानुपर्छ,कोचिएरै यात्रा गर्नुपर्छ जिन्दगीभर।
मान्छे मोटाउदै गए घरको दैलो साँघुरो लाग्छ,सुत्ने खाट साँघुरो लाग्छ,सिरक पुग्दैन।खेल्ने आँगन सानो लाग्छ र सिङ्गो घर साँघुरो लाग्छ।सायद दरवार नै किन नहोस,साँघुरो लाग्छ होला।आफू बसेको घर हरेकलाई यसरी नै साँघुरो हुन्छ होला,राष्ट्रपतिलाई पनि।
अब अर्को कुरा-सरकार र प्रदेश सभाका नेताहरु दुईचार करोडका गाडी चढ्छन।मेयर र सांसदहरु करोडौंका गाडी चढ्न प्रतिस्पर्धा गरिसके सरकारी सम्पत्तिमा।भुतपुर्वहरुले करोडौको गाडी लगेरै गए सरकारको।
अनि यिनी त राष्ट्र कै पति-“राष्ट्रपति”।त्यही अहमता झ्याप्पै चुलियो होला जिन्दगीमा।सरकारको १८ करोड खर्चेर गाडी चढ्दा के बित्ला र उहाँलाई?
र हामी फोक्कटमा बिरोध गर्छौ।
















