गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य समितिले अयोजना गरेको नेपाल फेष्टिभलमा गायक समिर आचार्यले “हट्ने हैन, डटी लड्ने नेपालीको बानी हुन्छ ” बोलको गीत गाएपछि यतिबेला यसको औंपचारिक विरोध सुरु भएको छ ।
साउण्ड ट्रयाकमा नै पूर्वतयारीसाथ गाईएको गीतमा “जहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ” भनिएको छ । यो गीत पञ्चायती व्यवस्थाको बेला राजसंस्थालाई एकताको प्रतिक मानेर रचना गरिएको र सरकारी तवरमै सबै विद्यालय, औपचारिक समारोहहरुमा गाइने गीत थियो । नेपालमा गणतन्त्र आएपछि भने यसलाई औपचारिक कार्यक्रमहरुमा गाउन र बजाउन रोकिएको थियो ।
आयोजक एनआरएन अष्ट्रेलियाले यस्तो गीत गाउनका लागि कसरी स्वीकृति दियो अनि आयोजककै भनाई अनुसार वीसौं हजार दर्शकको अगाडि यसलाई जोड दिइ दिई किन दोहोर्याई तेहर्याई प्रस्तुत गरियो भन्ने यतिबेला प्रश्न उब्जिएको छ । गायक समिर आचार्यको तर्फबाट कुनै औपचारिक भनाई आएको छैन ।
एनआरएन अष्ट्रेलिया पनि यो बिषयमा मौन छ । उता नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रेलियाले यसको व्यापक विरोध गरेको छ । “नेपालमा भएको राजनीतिक परिवर्तनको विरोध गर्ने छुट कसैलाई छैन । नेपालको संविधान जसलाई जनताले अनमोदन गरेका छन् त्यसका खिलाफमा एनआरएन जस्तो संस्था लाग्नु पक्कै पनि दुखद हो”, महासंघले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जनाएको छ ।
यस्तै प्रवासी नेपाली एकता मञ्चले पनि योजनाबद्ध तरिकाले हरेक नेपाली संघसंस्थामा घुसपैठ गर्ने र परिवर्तनलाई संस्थागत हुन नदिने योजना अन्तर्गत नै अष्ट्रेलियाको सिड्नीमा राजारानीको गुणगान गाएको जनाएको छ । यस कार्यको औपचारिक विरोध नै गर्ने तयारी भइरहेको पनि संस्थाका एक पदाधिकारीले बताए ।
नेपालको राष्ट्रिय झण्डा प्रयोग गरेर, नेपाली दूतावाससँगको र महावाणिज्यदूत कार्यालयको समेत सहभागितामा आयोजना गरेको नेपाल फेष्टिभलमा नेपालको संस्थागत राजनीतिक परिवर्तनको विरोध हुनुले धेरै गम्भीर प्रश्नहरु उब्जाएको छ । हेर्नुहोस् भिडियो
















