प्रियंका चोपडा डिसेम्बर दुई–तीन तारिखमा अमेरिकी गायक निक जोनसँग विवाह बन्धनमा बाधिँदैछिन् । विवाहअघि प्रियंकाको मुम्बईस्थित घरलाई सजाइएको छ । उनको घरको फोटो सोसल मिडियामा निकै चर्चित बनेको छ ।

मेहेन्दी–संगीत कार्यक्रमः
प्रियंका–निकको मेहेन्दी र संगीत कार्यक्रम नोभेम्बर २९ तारिखमा आयोजना हुँदैछ । कोरियोग्राफर गणेश हेगडेले निक–प्रियंकाको संगीत कार्यक्रको कोरियोग्राफ गरिरहेका छन् । निकले प्रियंकाका लागि हिन्दी गीत पनि गाउने बताइएको छ । उनले आफ्नो समूहसँग करिब ४५ मिनेटको प्रस्तुती दिनेछन् ।
दुई संस्कृतिमा हुनेछ विवाहः
नोभेम्बर ३० मा निक र प्रियंकाले साथी र आफन्तका लागि ककटेल पार्टीको आयोजना गरेका छन् । डिसेम्बर १ मा हल्दी कार्यक्रम हुनेछ । निक र प्रियंकाको दुईवटा संस्कृतिमा विवाह हुनेछ । डिसेम्बर २ मा हिन्दु र डिसेम्बर ३ मा क्रिश्चियन परम्परा अनुसार विवाह हुनेछ । डिसेम्बर २ मा उनी अबु जानी र संदीप खोसलाद्वारा डिजाइन गरिएको पहिरनमा देखिनेछिन् । यस्तै, भोलिपल्ट भने उनी राल्फ लाउरेनको डिजाइनमा देखिनेछिन् ।
विवाहको दुईवटा रिसेप्सन हुनेछ । एउटा रिसेप्सन दिल्लीमा हुनेछ । विवाहको केही दिन पछि आयोजना हुने भनिएको दुबै रिसेप्सनको मिति भने सार्वजनिक भएको छैन ।
प्रशंसकले कुर्नुपर्नेछः
दीपिका–रणबीरजस्तै प्रियंका र निकको विवाहको तस्बिरका लागि पनि प्रशंसकले प्रतिक्षा गर्नुपर्छ । विवाहमा कडा सुरक्षाबीच कसैले पनि फोटो खिच्न पाउने छैनन् । यसबाहेक प्रियंका–निक विवाहस्थल अर्थात् उम्मेद भवनसम्म हेलिकोप्टरमा जानेछन् । यसै कारण कसैले पनि फोटो खिच्ने मौका नै पाउने छैनन् ।(रातो पाटीबाट)
















