पोर्तुगलमा विप्लवनिकट मोर्चाको अधिवेशन : पूर्ण विकको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति चयन

विप्लव नेतृत्वकाे नेकपालार्इ समर्थन गर्ने नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको चौथो अधिवेशनमा प्रवासमा रहेका नेपालीहरु एकआपसमा मिलेर नेपालीको समग्र हितमा लाग्नुपर्ने कुरामा सहमत भएका छन् । मोर्चाका युरोप अध्यक्ष विष्णु भुजेलले नेकपाले सशस्त्र युद्धको घोषणा गरिनसकेको कुरामा जोड दिए । ‘तर सतासीनहरुको व्यवहारका कारण युद्धमा जानैपर्ने बाध्यता आइलाग्नसक्छ ।’ भुसालले आग्रह गरे, ‘नेपालमा वारपारको युद्ध चले पनि युरोपमा रहेका हामी नेपालीहरु एक आपसमा मिल्नुको विकल्प छैन । समस्त नेपालीको हकहितमा हातेमालो गर्नुपर्छ ।’

बेपत्ता योद्धा परिवार समाजका सल्लाहकार राम भण्डारीले गरिब, दलित, महिला, जनजाति, मुस्लिमलगायतका शोषित पीडित जनताको मुक्तिका लागि विप्लवको अभियानलाई साथ दिन अनुरोध गरे । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले राजनीति गर्दै रहदा पनि नेपालीहरु मनमुटाव नगरेर सामाजिक बन्न अनुरोध गरे । प्रवासी नेपाली मञ्चका वरिष्ठ उपाध्यक्ष रोबोट लिम्बुले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न गम्भीर रहेको दावी गरे ।

नेपाली जनसम्पर्क समितिका अध्यक्ष बिनोद घिमिरेले सरकारको आलोचना गर्दै शान्तिपूर्ण आन्दोलन, छलफल र वार्ताबाटै समस्या समाधान गर्न अनुरोध गरे । नेपाली जनप्रगतिशील मञ्चका कार्यबाहक अध्यक्ष डोलराज भण्डारीले विप्लव समर्थकहरुले पूर्व एमाओवादीसमर्थकहरुलाई शत्रुजस्तो देख्ने र आफूहरुले उनीहरुलाई शत्रुजस्तो सम्झने गरेको तर यसो गर्नु गलत रहेको बताए । यसैगरी कार्यक्रममा मोर्चाका बेल्जियम अध्यक्ष मेख गुरुङ, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्वापो, अन्तरराष्ट्रिय नेपाली समाजका महासचिवमा ईश्वर पान्डे, नेपाली एकता समाजका अध्यक्ष गोम सुवेदी, नारी समाजका उपाध्यक्ष निर्मला खराललगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’, स्थायी समिति सदस्य तथा अन्तरराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बाँस्तोला, मोर्चाका साउदी, कतार, कुवेत, स्पेन, जनजाति सरोकार मञ्च युरोपलगायतका संस्थाहरुबाट पनि शुभकामना पत्र पनि कार्यक्रममा वाचन गरिएका थिए ।

अधिवेशनले पूर्ण विकको अध्यक्षतामा १५ सदस्सीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा टंकबहादुर खड्का र सौगात विष्ट, महासचिवमा प्रदीप अधिकारी, सचिव प्रकाश बस्याल र कोषाध्यक्षमा भुवन सिम्खडा निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यमा धर्मबहादुर क्षेत्री, राजकुमार घमाल, सुनील वस्ती, रिमबहादुर रोका मगर र हिक्मत विक रहेका छन् । ४ सदस्य पछि मनोनयन गर्ने गरी रिक्त राखिएको छ । ईन्द्र न्यौपाने र मिङ्मार लामालाई सल्लाहकारमा राखिएको छ ।

अधिवेशन आयोजक समितिका संयोजक ईन्द्र न्यौपानेको अध्यक्षता सदस्य प्रदीप अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव पूर्ण विकले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार