लिस्बन । पोर्तुगलमा १३ डिसेम्बरका दिन दिवंगत गोर्खाकी एक महिलाको आज मङ्गलबारका दिन अन्तिम श्रद्धान्जली तथा अन्त्येष्ठी गरिने भएको छ । ६९ वर्षीया भद्रिमाया थापा मगर उपचारको क्रममा सान्ता मारिया अस्पतालमा निधन भएको थियो । मृतकको पार्थिव शरीरमा आज बिहान साढे आठ बजेदेखि पौने नौ बजेसम्म अन्तिम श्रद्धान्जली दिने कार्यक्रम तय गरिएको छ ।

श्रद्धान्जली कार्यक्रम सान्ता मारिया अस्पताल (Avenida professor Gama) मा हुनेछ लगत्तै लार्गो दु सिमेतेरिओ कामारातमा अन्तिम दाह संस्कार गरिनेछ । श्रद्धान्जली कार्यक्रममा उपस्थित हुनका लागि मगर समाज पोर्तुगल र गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले आव्हान गरेका छन् ।
स्वर्गीय भद्रिमाया ६ महिना अघि मात्र पोर्तुगल आएकी थिइन् । उनका जेठा छोरा रामबहादुर थापा विगत ७ वर्षदेखि युनाइटेड अरब इमिरेट्सको राजदूतावास लिस्बनमा काम गर्दै आएका छन् । गत डिसेम्बर ११ तारिख साँझ घरमा एक्कासी मस्तिष्कघात भएपछि साओ जोजे अस्पतालमा भर्ना गरिएको थियो । साओ जोजेबाट सान्ता मारियामा रिफर भएपछि १३ तारिख राति मृत घोषणा गरिएको थियो ।
मृतकका ६ छोरा र ३ छोरी रहेका छन्। पोर्तुगलमा नेपालीहरुको जनसंख्या बढेसंगै सन २०१० यता ८ वर्षमा २० जना नेपालीको निधन भईसकेको छ ।
















