अष्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको अल्बरीमा बसोबास गर्ने २१ वर्षीय विगुल पण्डित बुधबार साँझबाट बेपत्ता भएका छन् । कम्मरसम्म पानी आउने मुर्रे नदीमा बुधबार साँझ ७ बजेपछि उनी बेपत्ता भएका थिए ।

उनको खोजीमा तत्कालै पहल गरिएपनि कुनै पत्तो लाग्न सकेको छैन । दुई साथीसँगै गएका उनी बेपत्ता भएपछि उनका साथीले ईमर्जेन्सी सेवामा खबर गरेका थिए । स्थानीय पत्रिका दि बोर्डर मेलका अनुसार बिहीबार विहानबाट नै प्रहरी र गोताखोरहरु उनलाई खोज्ने प्रयास गरिरहेका छन् । हालसम्म खोजी गरेका उनीहरुले केही भेट्न सकेनन् ।
अल्बरी र बोर्डर रेस्क्युले स्थानीय निरौली पार्क र बोट र्याम्पबिचको भागमा पौडी नखेल्न अनुरोध गरेका छ । भिक्टोरियामा यो गर्मीको सिजनमा मात्रै १३ जना डुबेर मृत्यु भईसकेको छ । त्यस्तै न्यूसाउथवेल्स र क्वीन्सल्याण्डमा पनि १४/१४ जनाले ज्यान गुमाइसकेका छन् । अघिल्लो वर्ष यस्तै घटनामा ३८ जनाले ज्यान गुमाएका थिए ।
















