एनआरएनए अमेरिकाको गुनासो – पत्रकार ज्यू , हाम्रो समाचार पनि आउनु पर्यो ?

– शैलेश श्रेष्ठ, अमेरिका।

न्युयोर्कको ज्याक्सन हाईट्समा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले हिजो आयोजना गरेको संचार-समुदाय अन्तर-सम्बाद आ-आफ्नो तिक्तता पोख्दै, कहिल्यै नखोलिएका गुनासाका पोकाहरु खोल्दै अलिअलि आडम्बर अनि दम्भहरुको निरन्तर प्रदर्शन गर्ने अनुपम संगम बन्यो ।

बर्षौंदेखि मैले चाहेको पनि यस्तै उदार वार्तालापको निरन्तरतानै हो । हामीले धेरै जसो उही खालका दम्भसहितका गुनासाहरु सुन्यौं । “हाम्रो न्युज अनि हामीले गरेका राम्रा कामहरुको समाचारनै लेख्दैनन” यो एनआरएन आमेरिकाले गर्ने पुरातनिक रेडीमेड गुनासा हुन । तर हरेक बदमासी गरेर राजनैतिकरुपमै साम, दाम, दण्ड अनि भेद लगाएर संगठन कब्जा गरेकाहरुले हामी संचार र समुदाय सामु अहिलेसम्म याचना गरेका छैनन । उनीहरुका दण्डनीय अपराधिक क्रियाकलापहरुको प्रमाणिक दस्ताबेजको एक पोका सहित वर्तमान अध्यक्ष तथा उपाध्यक्षसंग जवाफ माग्न म पनि कस्सिएर उपस्थित भएको थिएँ तर शनिबारको कर्मकाण्ड सकेर महामहिमहरु कोठेबैठकहरु गर्दै तथाकथिक मेम्बरसीप ड्राईभको बहानामा बाटो लागेछन अथवा आम संचार र समुदायसंग सामना गर्ने ताकत गरेनछन । अब उनिहरुले बुझ्नु पर्छ गलत काम गर्नेहरुले समयमै उदार अनि क्षेमाशील प्रवासी नेपाली समुदायसंग याचना नगरे अकल्पनीय दण्ड बेहोर्नु पर्नेछ ।

प्रवासमा प्रत्युत्पादक राजनीतिमा रमाएका नेपाली जनसम्पर्क समितिका हर्ताकर्ताहरुको हठ अनि जिद्दी उही अनि उस्तै रहे । आफ्नै संगठनमा कहिले बिग्रह अनि कहिले बिद्रोह गर्दै फुटका रमाएका बिष्णु सुबेदीले राजनैतिक ठेकेदारकै भाषा बोले । उनि भन्दै थिए “संसारभर असी प्रतिशत त कांग्रेसीहरु (कांग्रेस पार्टी समर्थकहरु) नै छौं त्यसैले हामीले चाह्यौं भने सबै संगठनमा जिताउन सक्छौं ।” यिनले मज्जाले प्रतिशतमै हिसाब निकाले मलाई लाग्यो मेरा स्नेही पुराना मित्र राजनीतिमा भन्दा पनि गणितमा उम्दा रहेछन । जनजातीको कुरो उही अनि उस्तै कर्मकाण्डी रह्यो त्यही समाचारमा आउने अनि छाउने लालच । उनिहरुका प्रतिनिधिहरु भन्दै थिए हामी संख्यामा यति उति छौं तर हाम्रो क्रियाकलापहरुको समाचार बन्दैन ।

यो “ग्लिम्प्सहरु” लाई टिपोट गरिरहँदा मैले आफुलाई र आफ्नाहरु (संचारगृह र संचारकर्मीहरु) लाई पुजा आराधना गर्न योग्य अनि लायक छन भन्दै दुधले धुने दुस्साहस गरिरहेको छैन । समाजको चौथो अंग भनिने हामी अंगभंग भएकै कारण समाजका अभियन्ताहरुबाट त्यस्ता खाले दम्भ सहितका निर्देशिकाहरु जारी हुन्छन । कैयन प्रसंग र अवस्थाहरुमा उनिहरु समाचार लेख्न अनि सम्प्रेषण गर्न हामीलाई सिकाउँछन । हाम्रै कमी-कमजोरीहरु थाहा पाएर यत्तिसम्म भन्ने उनीहरुले दुस्साहस गरेका हुन । उठेका अनि उठाईएका प्रश्न, गुनासा र जिज्ञासाहरुलाई पत्रकारिताको मर्म अनि परिभाषाबाट जवाफ र प्रष्टीकरण दिनुहुने अग्रज पत्रकारहरु राजेश मिश्र र तोया दाहाललाई साधुबाद भन्न चाहन्छु । मैले हिजोको सत्रमा बोल्ने क्रममा जति बोलें त्यो मेरो मनको बोली हो । मैले बारम्बार भनेको छु पत्रकारिता नजानेको म आम संचारमा सिक्दै मात्र होइन सच्चिदै पनि छु त्यस्ता सच्च्याईहरुलाई सार्वजनिकरुपमा भन्ने अनि बोल्ने ईमान्दारी अनि ताकत म संग छ बाँकी सच्चा, कथित अथवा तथाकथित नेता अभियन्ताहरुसंग पनि मेरो यत्ति अनि यहि अपेक्षा छ ।

हिजोको अन्तर-सम्बादमा सांगठनिकरुपमा हामी सबैको साझा संस्था नेजाको कर्म स्तुत्य त छदैंछ त्यो भन्दा पनि आफ्ना काम, दैनन्दिनी र अन्य पारिवारिक प्राथमिकताहरुलाई पन्छाएर हामी भित्र सुद्धीकारण गर्दै “ईस्यु बेस्ड” एकीकृत स-शाक्त संचारकर्म गर्ने महान अभियानमा पुर्वतटीय क्षेत्रका अन्तर-सम्बाद र अन्तरिक भेटघाटहरुमा सामेल भएका तीस बर्ष अघि देखिका मेरा अनन्य साथी पत्रकारिताको चिरपरिचित नाम राजेश मिश्र र हाम्रा अध्यक्ष तथा नेता स्नेही भाई सुदीप पन्त प्रति मनभरिको आभार व्यक्त गर्दछु । न्युयोर्ककै अन्तरक्रियाका लागि आउनु भएका नेजाका सचिब भाई सुरज भण्डारी, नेजाका संस्थापक अध्यक्ष मित्र गिरिश पोखरेल, पुर्व अध्यक्ष भाई गौतम दाहाल, पुर्व महासचिब मित्र तोया दाहाल, पुर्वक्षेत्रका पुर्व संयोजक मेम्बरशिप भेरिफिकेसन समितिमा बसेर स्तुत्य काम गर्नु भएका मित्र बिष्णुहरि घिमिरे, मित्र मधुकर भण्डारी, भाई ज्योति देवकोटा, मित्र राजु आचार्य सप्पै सप्पैमा हार्दिक आभार व्यक्त गर्दछु ।

https://www.facebook.com/319320788267718/videos/2185550401706971/

यही मेलो अनि मेसोमा आमेरिका भरिका संचारकर्मी अग्रज-अनुज संचारकर्मीहरुलाई आफैलाई परिमार्जित अनि परिष्कृत गर्दै सामाजिक परिवर्तन, न्याय अनि सुध्दीकरणको प्रक्रियामा थप एक्यबद्ध अनि एकीकृत हुँदै आ-आफ्नो मिडियाबाट काम गर्न पनि स-बिनय अनुरोध गर्दछु । युटोपियन साम्राज्यमा रमाएको र दण्डहिनता निरन्तर मौलाएको यो प्रवासी नेपाली समाजले तपाई हाम्रो थप क्रियाशीलताको अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार