– शेर बहादुर छन्त्याल, बेल्जियम।
गोरखा समाज बेल्जियमले गोरखा जिल्लाको विकट गाउहरुमा सेवा दिने उद्देश्यले एम्बुलेन्स किन्नको लागि सांगितिक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल र इटलीबाट आएका कलाकारहरु गणेश गुरुङ, नरजंग गुरुङ र सकुन्तला थापाको उपस्थितिमा सम्पन्न सांगितिक कार्यक्रममा झन्डै सात हजार यूरो संकलन गर्न सफल भएको कुरा समाजका सल्लाहकार बिष्णु भुजेलले बताएका छन । १४ जनवरी सोमबारका दिन सम्पन्न उक्त च्यारिटी कार्यक्रम आन्ट्वेर्पेन शहरमा भएको थियो ।

परोपकारी र निस्वार्थ सेवाको उद्देश्यले आयोजना गरेको उक्त सांगितिक च्यारिटीको अध्यक्षता समाजका अध्यक्ष राम घलेले गरेका थिए । प्रमुख अतिथी एनआरएन,बेल्जियमका अध्यक्ष लोक दहालले कार्यक्रमको उद्घाटन गर्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए । समाजका महासचिव तेज नेपालीले संचालन गरेको औपचारिक कार्यक्रम छिटो छरितो तरिकाले समापन गरिएको थियो ।

औपचारिक कार्यक्रम लगत्तै नेपाल बाट आएका लोक गायक गणेश गुरुङले दर्शक श्रोतालाई धेरै भन्दा धेरै आर्थिक जुटाउन मन्चबाट कला र उड्घोषण मार्फत अधिकतम कोशीस गरेका थिए । गायिका सकुन्तला थापाको पनि उत्तिकै जोडदार प्रस्तुती थियो भने अर्का लोक गायक नरजंग गुरुङको प्रस्तुतिले सबैलाई नचाएको थियो ।

(पत्रकार छन्त्याल लामो समयदेखि प्रवासमा पत्रकारितामा सक्रिय हुनुहुन्छ। )
















