नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीले उठाएका मागहरुमा आफ्नो स्वार्थ घुसाउन खोज्दा अहिलेको १६ औं अनसन सुरु भएको बताएका छन् । मेलबर्नमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री थापाले भने, “डा. गोविन्द केसी त फकिर हुन् । साधु जस्तो मान्छे ।
कहिलेकार्ही हामीले सुन्दा उनले कस्तो अभद्र कुरा गरेको जस्तो लाग्छ । तर, उनको निष्ठामा हामीले कहिल्यै प्रश्न उठाउन सक्दैनौं । उनले पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई तपाईं माफियाको मान्छे हो भनेको स्मरण गर्दै युवा नेता थापाले कसैको डर नमान्ने, निर्धक्क आफ्नो कुरा भन्ने डा. गोविन्द केसी हुन् ।” उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको बहसलाई पनि सम्झिए । “त्यतिबेला आफु स्वास्थ्यमन्त्री भएका बेला प्रधानमन्त्रीसँग कुरा गराउँदा पनि निर्धक्क भएर आफ्ना कुरा राखेको स्मरण गर्छु ।”
अहिलेको समस्या काँग्रेसका मेडिकल कलेजहरुले कमाईसके । अब हाम्राले पनि १० वर्ष कमाएपछि यसलाई सेवामुखी र नाफा निकाल्न नमिल्ने क्षेत्र बनाउने भन्ने सरकारी नियतले अनसन बस्न बाध्य भएको गगन थापाको भनाई थियो । जनसम्पर्क समिति क्वीन्सल्याण्डका सचिव बसन्त पौडेल, जनसम्पर्क समिति साउथ अष्ट्रेलियाका अध्यक्ष अर्जुन लम्सालले पनि सांसद गगन थापालाई स्वागत गरेका थिए । कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, आयोजक संस्थाका अध्यक्ष सुरेश पोखरेल, सोम प्रसाद गुरुंग, नारायण काफ्ले, दुर्गा आचार्य, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, नेपाल महिला संघकी केन्द्रीय सदस्य कविता उप्रेति, नेपाली जनप्रगतिशील् मञ्च अष्ट्रेलियाका अध्यक्ष मान्डवराज कार्की लगायतले बोलेका थिए ।
शुक्रबार साँझ अष्ट्रेलिया आइपुगेका गगन थापा करिब ४८ घण्टामा सिड्नी, मेलबर्नको कार्यक्रम सम्पन्न गरी आईतबार साँझ नै नेपाल फर्किसकेका छन् । अन्तरक्रिया कार्यक्रममा उपस्थितहरुको जिज्ञासाको जवाफ दिँदै युवा नेता गगन थापाले डा गोविन्द केसीको बारेमा के भने ? हेर्नुहोस् भिडियो
















