काठमाडौं ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा चौथो हार खेपेको छ । शुक्रबार भएको खेलमा सिलेट सिक्सर्स ढाका डाइनामाइट्ससँग ६ विकेटले पराजित भयो ।
सिक्सर्सले दिएको एक ५९ रनको विजयी लक्ष्य डाइनामाइट्सले १७ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । डाइनामाइट्सका लागि शकिब अल हसनले सर्वाधिक ६१ र आन्द्र रुसेलले अविजित ४० रन बनाएका थिए ।
बलिङमा सन्दीप टोली सिक्सर्सका मोहमद इरफानले दुई विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै एक विकेट लिए । उनले २७ रन खर्चिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिक्सर्सले निर्धारत २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । सिक्सर्सका लागि कप्तान डेभिड वार्नरले ६३ रन बनाए ।
लिटोन दासले २७ र जकार अलीले २५ रन बनाएका थिए । सन्दीप लामिछाने सुन्य रनमा अविजित रहे । चौथो हारसँगै सन्दीपको टोली सिक्सर्सको प्ले अफ यात्रा कठिन बनेको छ । सिक्सर्सले ६ खेलबाट जम्मा चार अंक बनाएको छ ।
















