काठमाडौं ।
शनिवारको खेलमा सन्दीपको टिम सिलेट सिक्सर्स रङ्गपुर राइडर्ससँग चार विकेटले पराजित भएको छ।
जारी बीपीएलमा लेग स्पीनर सन्दीपले ६ खेलमा जम्मा चार विकेट मात्र लिएका छन्।
जुन उनले हालैका दिनमा खेलेका क्यारेबियन लिग, बिग ब्यास र इन्डियन प्रिमियर लिग ९आइपीएल०जस्ता टि(२० प्रतियोगिताहरूमा देखाएको प्रदर्शनमध्ये सबैभन्दा खराब हो।
उनले यसअघिका प्रतियोगिताहरूमा खेलेका खेल र लिएका विकेटका आधारमा यो खेलमा पनि उनले निकै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो। तर बांग्लादेशमा उनले त्यस्तो अपेक्षाकृत खेलको लय भेटाउन सकेनन्।

शैलीमा नयाँपन
क्रिकेट खेलका जानकारहरूका अनुसार विश्वका विभिन्न स्थानमा क्रिकेट खेलेर प्रसिद्धि हासिल गरेका सन्दीपले अब उनको बलिङ शैलीमा नयाँपन ल्याउने समय आएको छ।
‘अचेल क्रिकेटमा प्रविधिको निकै प्रयोग हुन्छ। छोटो समयमा चर्चामा आएका सन्दीपको बलिङ कस्तो छ भनेर उनले खेलेका खेलहरू भिडिओमार्फत् पनि ब्याट्स्यामनहरूले हेरिरहेका हुन्छन्। त्यसैले उनले आफ्नो बलिङमा अलिकति नविनता ल्याउनुपर्ने देखिन्छ,’ राष्ट्रिय क्रिकेट टिमका एकजना पूर्व कप्तान पवन अग्रवालले भने।
बांग्लादेश, भारत जस्ता देशहरूका क्रिकेट मैदानको बलिङ गर्ने ठाउँ पीचले तीव्र गतिका बलरहरूलाई भन्दा पनि स्पीनरहरूलाई मद्दत गर्ने बताइन्छ। यस्तो पीचमा सन्दीपबाट धेरै अपेक्षा गरिएको थियो।
तर उनले किन सकेनन् भन्ने प्रश्नको जवाफमा राष्ट्रिय टिमका कप्तान पारस खड्का भन्छन्, ‘बीपीएलमा सन्दीपको प्रदर्शन नराम्रो भन्न मिल्दैन। हरेक खेलमा विकेट लिनैपर्छ भन्ने होइन र बांग्लादेशमा उनले विकेट लिइरहेका पनि छन्। उनीबाट सबै प्रतियोगिताहरूमा एकैनासको प्रदर्शनको अपेक्षा गर्नु नै गलत हो।’

अष्ट्रेलियामा चर्चा
भर्खरै अस्ट्रेलियाबाट फर्केका पारस त्यहाँ सन्दीपले कमाएको ख्याति देखेर आफू निकै प्रभावित भएको बताउँछन्।
‘अष्ट्रेलियामा उनले धेरैलाई आफ्नो बलिङमार्फत् प्रभावित पारेका छन्। धेरै खेल खेल्दा कहिले एकदम राम्रो हुन्छ भने कहिले हुँदैन यो खेलको एक हिस्सा हो।’
तीव्र गतिका बलरहरूका लागि राम्रो मानिने अष्ट्रेलियाका विकेटमा सन्दीपले निकै राम्रो प्रदर्शन गरेका थिए।
मेलबर्न स्टार्सका लागि खेलेका सन्दिपले चार खेलमा ८ विकेट लिएका थिए।

प्रशंसकहरुको अपेक्षा
जसमा उनले विपक्षी टोलीका कप्तानलाई आफ्नो सिकार बनाएका कारण पनि उनी निकै चर्चामा आए।
बिग ब्यास र त्यसअघिका अन्य खेलमा चर्चा पाएका खेलाडीको विकेट लिएका कारण पनि सन्दीपका प्रशंसकहरूले उनीबाट ठूलो अपेक्षा राखे। त्यही कारण प्रशंसकहरू केही दुखी भएको हुनसक्ने उनका म्यानेजर शिवाकोटीले बताए।
तर न्दीपको प्रदर्शनलाई नराम्रो भनी हाल्न नमिल्ने उनको तर्क छ।
‘उनी अष्ट्रलियामा जस्तै बांग्लादेशमा पनि रमाएका छन् र उनले आफ्नो टोलीका खेलाडीको तुलनामा निकै कम रन खर्चिएका छन्,’ शिवाकोटीले भने।
कम रन
तर जारी बीपीएलमा लगातार दुई खेलमा विकेट झार्न नसकेपछि उनलाई त्यस लगत्तैको खेलमा राखिएको थियो।
ढाका डाइनामाइट्सविरुद्ध भएको शुक्रवारको खेलमा सन्दीपले एक विकेट लिएका थिए भने ४ ओभरमा २७ रन खर्चिएका थिए।
शनिवार रङ्गपुर राइडर्ससँगको खेलमा सन्दीपले चार ओभरमा २१ रन दिए। जुन उनको टोलीका कुनै पनि बलरले खर्च गरेको रनभन्दा निकै कम हो।
त्यसअघि उनले क्यारेबियन लिगमा पनि निकै राम्रो प्रदर्शन गरेका थिए।
आइपीएल प्रदर्शन
आइपीएलमा शुरूमा टिममा नपरेका दायाँ हाते स्पीनर सन्दीपले अन्तिमतिर मात्रै आफ्नो प्रतिभा देखाउने अवसर पाए।
दिल्ली क्यापिटल (दिल्ली डेयर डेभिल्स) ले उसको १२ औँ खेलमा मात्रै सन्दीपलाई खेलाए पनि उनले त्यही पहिलो खेलमै विकेट लिएका थिए। जम्मा तीन खेल खेलेका उनले पाँच विकेट लिए।
गत वर्ष आइपीएलमा दिल्लीले सन्दिपलाई न्यूनतम खरिद मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो।
त्यसयता उनले नेपालभित्र र बाहिर खेलेका खेलहरूको निकै चर्चा हुने गरेको छ।
हालका लागि बीपीएलमा शनिवार भएको खेलनै सन्दीपको अन्तिम खेल हो। अब उनी नेपाल र यूएईबीच हुने एकदिवसीय र टि–२० क्रिकेट शृङ्खलाको तयारीका लागि नेपाल आउने छन्।(बीबीसी)
















