काठमाडौं । फ्रान्सको भ्यालोरमा यस वर्ष अायाेजित भएको ‘इन्टरनेशनल स्नो फेस्टिभल’मा नेपाली कलाकारहरुले समेत सुन्दर हिउँका मूर्ति कोरेका छन् । सो फेस्टिबलका लागि नेपालबाट मूर्तिकार राजु पिठाकोटे, शिल सारु मगर र दीपेश घिमिरेको टोली फ्रान्स गएको थियो ।
शुक्रबार सम्पन्न भएकाे अन्तर्राष्ट्रिय हिउँ मूर्ति प्रतियाेगितामा सहभागी हुँदै उनीहरुले ‘ह्वाइट ड्रप्स्’ शीर्षकमा एक सुन्दर हिउँ मूर्ति कोरेका छन् ।

नेपाली टाेलीले काेरेकाे ‘ह्वाइट ड्रप्स्’ शीर्षककाे हिउँमूर्ति
माउन्ट एभरेस्ट थिम नाम राखिएको नेपालसहितको उक्त प्रतिस्पर्धामा विश्वभरिबाट आठ टोली छानिएको मूर्तिकार राजु पिठाकोटेले जानकारी दिए । उनले आफूहरु उत्कृष्ट पाँचमा पर्न नसके पनि आगामी वर्षका लागि समेत निम्ता पाएकाे बताए ।

मूर्तिकार पिठाकोटेका अनुसार, उत्कृष्ट पाँचभित्र पर्न सकिएको भए नेपाली कलाकारहरुले बनाएको हिम कलाकृति पनि सङ्ग्रहालयमा सङ्ग्रहित हुनेथियो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी आफूहरुले मूर्ति कोरेको र नेपालको तर्फबाट एउटा सन्देश दिएको उनले सुनाए ।

‘संसारकै अग्लो सगरमाथाको थिमसँग जोडिएको यो फेस्टिबलमा हामीले बनाएको मूर्तिको नाम सेता थोपाहरू दियौँ,’ उनले भने, ‘यसको अर्थ हिउँका सेता थोपाहरुले व्यक्ति, समूह, गाउँ, शहर अनि पृथ्वीका नराम्रा कुरालाई शुद्धीकरण गर्ने र सुन्दर शान्त पृथ्वी बनाउन सन्देश दिने हाम्रो अभिप्राय हो ।’

यसअघि पनि पिठाकोटे भारत, बङ्गलादेश, दक्षिण कोरिया, जापान, इजरायल, मलेसिया, थाइल्याण्ड, रुस तथा रोमानियामा भएका विभिन्न मूर्ति कार्यशालामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भइसकेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियाेगितामा प्रथम भएकाे मूर्ति
















