हाम्रा गाउँको एउटा भाई थाई शिक्षकमा लड्यो
थाई शिक्षक हुन्छु भनी पढनुसम्म पढयो
बल्ल-बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ
तेस्कै छोरो पढ्न फेरि बोर्डिङतिर जान्छ
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।

डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ
हाम्रा गाउँको अर्को भाईले सुब्बामा जागिर खायो
दुई बर्षमै घर ठड्यायो काँ’बार पैसो आयो
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
गणतन्त्र ल्यायेम भन्छम फालेम भन्छन राजा
तै फालेका राजा जस्ता कैयौं निस्के आज
जनताको मुटुभित्र काँडा कति-कति !
डेढ अर्बको हेलिकप्टर चढ्छन राष्ट्रपति
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे
सुनकाण्ड खै कहाँ पुग्यो जेल मै छन कि छुटे
ठूलै नेता भ्रष्टाचारी न डराउँछन्-लुक्छन्
कार्याकर्ता कै बुझ्दैनन्, कुकुर जस्तै भुक्छन्
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
हजुर बा नि यसै मरे बाउ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति बिकास कैले गर्छन्
गर्ने काम केहि हैन ठूला-ठूला भाषन
स्वर्ग जस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन
ट्राफिक पुलिस सिट्टी फुक्छ कोइले सुन्ने हैन
तेति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्छ ?
हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
ठेक्दारले नि टेण्डर पार्छ लिन्छ ठेक्कापट्टा
झनै बिजोक पार्छ, छोड्छ काम भ्याउनुको सट्टा
यता गयो लुटेकैछन लुट्छन उता गयो
सबजनालाई लुट्नै पर्छ भन्ने मात्रै भयो
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
ल्याङलुङ गर्ने हल्ला गर्ने ठूला मान्छे बन्छन्
तँलाई सोझो भन्दैनन भाई नामर्द हो भन्छन
अब गर्न छोड्दे कान्छा आदर्शको खेती
केहि न केहि त बुझिस होला भने पछि यति
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट।
(शब्द-सङ्गीत-स्वरः पशुपती शर्मा)
















