साफ महिला फुटबल प्रतियोगिता अर्थात साफ च्याम्पियनशीपको पाँचौ संस्करणको उपाधिका लागि घरेलु टोली नेपाल र पाहुना भारत भोलि आमने सामने हुँदैछन् । दुबै अपराजित रहेर फाइनलको यात्रा गर्दा यसपटक उपाधिको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

‘हामी जित्छौ, चान्स पनि राम्रो मात्र नभई सबै पक्ष हाम्रो ‘फेभर’ मा छ’ नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताए । उपाधि जित्नेमा निकै विश्वस्त देखिएका प्रशिक्षक खड्काले नेपालको राष्ट्रिय महिला फुटबल टोलीको जिम्मेवारी सम्हालेको ४ महिना मात्र भयो । यो चार महिनाको दौरानमा उनको भारतसंगको भेटको लेखाजोखामा पनि सकारात्मक देखिएको छ ।
खड्काले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपालले भारतसंग दुई खेल खेलेको छ । जस्मा एकमा जीत र एकमा बराबरी रहेको छ । यो रेकर्डमा जीत उस्कै मैदानमाथि हो भने बराबरी तेस्रो मैदानमा । यसपटक नेपालले साफको उपाधिको लागि घरेलु मैदानमा भिड्दैछ । नेपालको लागि सबभन्दा ठूलो लाभको पक्ष भनेको यो पनि हो ।
प्रशिक्षक खड्काका अनुसार यसपटक नेपालको ‘स्ट्राइकिङ लाइन’लाई दक्षिण एसियाकै सबैभन्दा राम्रो मानिएको छ । त्यसमाथि नेपालको ‘फाइटिङ स्पिरिट’ ज्यादै राम्रो रहेकोले पनि पहिलो पटक उपाधि जित्ने सम्भावना बलियो बनेको प्रशिक्षक खड्का बताउछन् । त्यसमाथि ‘टिम ब्यालेन्स’ अर्को महत्वपूर्ण र सकारात्मक पक्ष भएको खड्काको जिकिर छ ।
नेपालले यसअघि चार संस्करण मध्ये तीनवटाको फाइनलमा भारतसंग पराजित हुनु परेको थियो भने एक पटक सेमिफाइलनमा पनि भारतले नै रोकेको थियो । तर यसपटक अवस्था धेरै फेरिएको छ । भारतमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई दुई एकले हराएर सनसनी मच्चाईसकेको छ । उस्कै मैदानमा हराएको यही टोली हो जो नेपालसंग भोलि फाइनलमा भिड्दैछ । यसै कारणले पनि मनोवैज्ञानिक दबाब सिर्जना गर्न नेपाल सफल भएको छ ।
दक्षिण एसियाकै मात्र नभइ एसियाकै राम्रो ‘स्ट्राइकर’ मानिएकी सावित्रा भण्डारी साम्बाले नेपालका लागि न्यायपूर्ण भूमिका खेल्नेमा आम नेपाली फुटबलप्रेमी विश्वस्त छन् । टोलीका अन्य सदस्यहरु पनि गोल गर्न माहिर देखिदा उपाधि पहिलो पल्ट नेपालको पोल्टोमा पर्ने सम्भावना बलियो देखिएको छ ।
















