क्रिकेट सिक्दै धुमुर्ससहितका कलाकार

काठमाडौं।


आइतबारको हावाहुरीपीडित बारा जिल्लावासीलाई घटनास्थलमै पुगेर राहत प्रदान गरेपछि मंगलबार काठमाडौं फकिएका अभिनेता सीताराम कट्टेल (धुमुर्स) अहिले क्रिकेट खेल्न व्यस्त छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण सहयोगार्थ कट्टेलकै नेतृत्वमा २३ चैतमा काठमाडौंमा मातृभूमि कप क्रिकेट खेल हुँदै छ । यो खेलका लागि बुधबारबाट अन्य कलाकारसँग कट्टेल पनि क्रिकेट अभ्यासमा जोडिएका छन् । बुधबार बिहान कट्टेलसहित विभिन्न कलाकार खेल अभ्यासमा व्यस्त देखिए ।

२३ चैत शनिबार दिउँसो काठमाडौंको कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा मातृभूमि कप हुँदै छ । यो खेलका लागि कलाकारहरूको दुईवटा समूह बनाइएको छ । अभिनेता नीर शाह क्याप्टेन रहेको एउटा समूह र अर्का अभिनेता मदनकृष्ण श्रेष्ठ क्याप्टेन रहेको अर्को समूहका कलाकार दैनिक क्रिकेट अभ्यास गरिरहेका छन् ।

कलाकारहरूको टिमलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् । कलाकारहरूको तर्फबाट भने पूर्वखेलाडी समेत रहेका कमल मैनाली र सुनिल थापाले पनि प्रशिक्षण दिइरहेका छन् ।

अहिले अभ्यास खेलमा कलाकारहरू सुनिल थापा, प्रदीप खड्का, दयाहाङ राई, सलिनमान बनिया, निश्चल बस्नेत, कुमार कट्टेल, सन्दीप क्षत्री, बद्री पंगेनी, राजु ढकाल, घनश्याम गौतम, सन्तोष लामा, सरोज खनाल, हेमन्त शर्मा, हेमन्त राना, सुरजसिंह ठकुरी, राजा राजेन्द्र पोखरेल, अर्जुन घिमिरे ‘पाँडे’, निर्मल शर्मा, अनुराग कुँवर, कृष्ण काफ्ले जुटिरहेका छन् ।

मातृभूमि कपबाट उठेको रकमको १५ प्रतिशत हुरी बतासप्रभावित बारा र पर्सा क्षेत्रमा खर्च गर्ने अभिनेता सीताराम कट्टेलले जनाएका छन् । कट्टेलले बारा र पर्सामा राहत बाँडेको र निरन्तर अभियान चलिरहने बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार