श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटन: गिर्जाघर र होटलमा भएका विस्फोटनमा १३७ जनाको मृत्यु भएको पुष्टि, देशभरि नै कर्फ्यू

आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि पनि थप दुईवटा विस्फोटन भएको समाचार प्राप्त भएको छ।

अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइन्छ। कोलम्बो अस्पतालले कम्तीमा नौ जना विदेशीको मृत्यु भएको जनाएको छ।

घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन्।उनले फेरि आक्रमण हुन नदिन र विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन्।

श्रीलङ्कामा देशभरि नै लागु हुनेगरी आइतवार साँझ छ बजेदेखि सोमवार बिहान छ बजेसम्म कर्फ्यू लगाइएको छ।

कहाँ भयो विस्फोटन?

विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदैथिए।मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए।

पछि देहिवाडाको एउटा सानो होटलमा पनि विस्फोटन भएको र त्यहाँ दुई प्रहरीको मृत्यु भएको बताइएको छ।

आठौँ विस्फोटन भने डेमाटागोडामा भएको थियो।

समाचारसंस्था एफएफपीका अनुसार सो घटना आत्मघाती आक्रमण थियो र त्यसमा परेर तीन प्रहरीको पनि मृत्यु भयो।श्रीलङ्काका एक वरिष्ठ पादरीले घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित गरिएको बताएका छन्।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले घटनाको निन्दा गर्दै सबैलाई शान्त रहन आग्रह गरेका छन्।

श्रीलङ्काका अर्थमन्त्री मङ्गल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोटन गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

कसले गरायो विस्फोटन?

अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन।तर श्रीलङ्काका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई “आतङ्ककारी घटना” भन्दै दोषी चिनिसकिएको बताएका छन्।

उनले घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन्।

“हामी आवश्यक कारबाही गर्छौँ। उनीहरू जुनसुकै धार्मिक अतिवादमा लागेका भए पनि हामी छौड्दैनौँ।””यो घटनाका दोषीहरूलाई यथाशीघ्र समातिनेछ। उनीहरूलाई चिनिसकिएको छ।”

कस्तो छ सुरक्षा?

सरकारले विस्फोटनपछि विमानस्थल र अन्य संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाएको छ।कर्फ्यू घोषण गर्नुअघि नै सरकारले दुई दिन सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन्।प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार