युरोप जाने आशमा १५ नेपाली युद्धग्रस्त लिबिया पुगेपछि …

काठमाडौं।

रोजगारीको आश्वासनमा अवैधरुपमा युद्धग्रस्त लिबिया पुर्याईएका १५ जना नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हाल लिबियाको ट्रिपोलीमा रहेको इन्टरनेश्नलर अर्गनाईजेशन फर माइग्रेशन आईओएमको क्याम्पमा राखिएको इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्धार गरिएकाहरुमा पूर्ण बहादुर गुरुङ, गणेश थापामगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर अधिकारी क्षेत्री, कृण्ण कोइराला, राजु विश्वकर्मा, गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, प्रकाश विश्वकर्मा र मनोहर कार्की छन् ।

आईओएमलेले उनीहरुलाई खानेबस्ने व्यवस्थाका साथै नेपाल फर्काउन हवाई टिकट उपलब्ध गराउने भएको छ । उनीहरु कार्यरत कम्पनीले डर त्रास देखाएर काममा लगाएको खुलेको छ। नेपाल फर्कन कम्पनीले राहदानीसमेत नदिएपछि नेपाली दूतावासले यात्राका लागि कागजपत्र बनाएर पठाएको थियो ।

ट्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघीय मिशन शान्ति नियोगको नेपाली सेनालेसमेत लिबियाको सुरक्षा निकाय तथा आईओएमसँग समन्वय गरी उनीहरुको उद्धारमा सहयोग पुर्‍याइरहेको नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । युद्धग्रस्त क्षेत्रमा काम गरिरहेका उनीहरुको मेडिकल जाँच र एक्जिट पेपर बनाउने काम भइरहेको जनाउँदै राजदूतावासले सबै प्रक्रिया पुरा भएपछि नेपाल फर्काइने जनाएको छ ।

आईओएमकै सहयोगमा लिबियाबाट ७ जना नेपालीको उद्धार गरी राजदूतावासले नेपाल पठाएको थियो । अनुस लामा, किरण खड्का, सिरज रायमाझी, शुभप्रसाद पराजुली, रवि गुरुङ, प्रेमसिल थारु र प्रेमलाल गौतमलाई यही मे ७ का दिन उद्धार गरी नेपाल फर्काइएको हो । इटाली पठाउने प्रलोभन देखाएर नेपाली एजेन्टहरुले उनीहरुलाई लिबिया पुर्याएका अलपत्र पारेका थिए ।

कायरोस्थित नेपाली राजदूतावासले आईओएमको क्षेत्रीय कार्यालय, ईजिप्ट आईओएम, लिविया, ट्रिपोलीमा रहेको राष्ट्रसंघीय शान्ति नियोगको नेपाली शान्ति सेनासँग समेत सम्पर्क र समन्वय गरी नेपालीहरुको अवस्था बुझ्ने र उद्धारका लागि कार्य गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार