– भाेजेन्द्र बस्नेत, काठमाण्डौ |

तेन्जिङ-हिलारी एभरेस्ट म्याराथन १७ औं संस्करणको पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फकाे उपाधि सुनमाया बुढाले हात पारेका छन् ।
६६ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार भएको प्रतियोगितामा ४२ किलोमिटरको दूरी सुमनले ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पूरा गरे भने महिलातर्फ सुनमाया बुढाले ५ घण्टा तीन मिनेट ४ सेकेण्डमा पूरा गरिन् ।

पुरुषतर्फ कपिलदेव बुढा निर्धारित दूरी ३ घण्टा ५६ मिनेटमा पार गर्दै दोस्रो र रामकुमार राजभण्डारी ३ घण्टा ५८ मिनेटमा पार गर्दै तेस्रो भए ।
महिलातर्फ रोजिना भण्डारी ५ घण्टा २४ मिनेट १२ सेकेण्डमा दूरी पार गर्दै दास्रो र हुमी बुढा मगर ५ घण्टा २९ मिनेट १५ सेकेण्डमा पार गर्दै तेस्रो भए ।

सगरमाथाको आधार शिविरबाट सुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुँदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको थियो ।
महिला र पुरुष दुवै प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पुरस्कार हात पारे ।
















