काठमाडौं । पछिल्लो समय सबभन्दा बढी विवादित नेपालको सबभन्दा पूरानो खेल संस्था क्रिकेट यतिखेर विवादबाट बाहिर आउने जमर्कोमा जुटेको छ । लामो समय नियमनकारी निकाय आइसीसीको निलम्बनमा परेको नेपाल क्रिकेट संघ क्यानको निर्वाचनले नेपाली क्रिकेटको धेरै विवादलाई पन्छाउदा थप मार्ग पनि प्रशस्त गर्ने सम्भाना देखिएको छ ।
यो निर्वाचनले नेपाली क्रिकेटले गुमाएको स्वाधीनता फर्काउनु ठूलो उपलब्धि हुनेछ भने लामो समयदेखिको अन्यौलता पनि चिरिने आशा गरिएको छ । क्यानको शुक्रबार र शनिबार हुने निर्वाचनप्रति ठूलो अपेक्षा गरिएको छ नेपाली खेल जगतमा । आइसीसीले राजनीतिक हस्तक्षेपमा नै पहिलो प्रश्न उठाएर क्रिकेट संघलाई निलम्बन गरेपनि नेपालले क्रिकेटले देखाएको उदाउँदो सम्भावनाको सम्मान गर्दै अन्तर्राष्ट्रिय सहभागिता र राष्ट्रिय प्रतियोगिताको गतिविधिमा भने प्रतिबन्ध लगाएन । तर नेपाली क्रिकेटको सबै गतिविधि उसैको नियन्त्रणमा रह्यो ।
यसपटक हुने क्यानको निर्वाचनले बाटो विराएको नेपाली क्रिकेटलाई सही मार्गमा ल्याउने भन्दै नेतृत्वका लागि पूरानै अनुहारहरु मैदानमा देखिएका छन् । नेपाली क्रिकेटको लामो विवाद, राजनीतिक र सरकारी हस्तक्षेपको समाधानको पनि निर्वाचनले दिने विश्वास गरिएको छ । क्यानको निर्वाचनका लागि औपचारिकरुपमा उम्मेदवारी घोषणा भइनसकेपनि अध्यक्ष पदमा चतुरबहादुर चन्द र विनयराज पाण्डे नेतृत्वका लागि चुनावी मैदानमा छन् ।
यतिमात्र नभइ नेतृत्व हत्याउन यी दुवैपक्षले आन्तरिक दौडधुप समेत सुरु गरिसकेका छन् । नयाँ नेतृत्वका लागि रस्साकसी नै हुने देखिएपछि नेपाली क्रिकेटका लागि लामो समयदेखि योगदान दिदै आउनु भएका पाण्डे निर्वाचनलाई शान्त र सौहाद्र्धरुपमा सम्पन्न गर्ने गरी सहमति खोज्ने पहल भइरहेको बताउनुहुन्छ ।
यता, निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्द पनि पुनः नेतृत्व लागि निर्वाचनमा होमिन तयार अवस्थामा छन् । क्रिकेटमा साढे दुई दशक विताएका चन्द पछिल्लो समय अध्यक्ष भएर पनि काम गर्न नपाएको गुनासो गर्नुहुन्छ । चार वर्ष काम गर्न नपाउँदा नेपाली क्रिकेट ओरालो लागेको बताउँदै अब क्रिकेटको विकासका लागि आफुसँग भिजन भएको उहाँको दावी छ ।
आईसीसीको प्रत्यक्ष निगरानी र निर्देशनमा जिल्लादेखि प्रदेशसम्मको निर्वाचनबाट छानिएर अन्तिम निर्वाचनका लागि प्रतिनिधिहरू पनि निर्वाचनका लागि तयार भइसकेका छन् । ३९ जिल्ला र ७ प्रदेशका ५९ प्रतिनिधिले क्यानको नयाँ नेतृत्व चयन गर्नेछन् । ३९ जिल्लाबाट १–१ जना प्रतिनिधि र बाँकी प्रतिनिधि प्रदेशबाट आएका छन् । जसले अध्यक्ष, उपाध्यक्ष, सचिव, कोपाध्यक्ष सहित १७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
सरकारी हस्तक्षेप भएको भन्दै अक्टोबर २०१६ मा आईसीसीले क्यानको सदस्यता निलम्बन गरेको थियो । नेपाल क्रिकेट अभिवाकविहीन अवस्थामा हुँदा समेत खेलाडीको स्वतस्फूर्त मेहनतले एक दिवसीयसम्मको उपलव्धि हात पारेको थियो । अबको निर्वाचनबाट आउने नयाँ नेतृत्वले निस्वार्थ रुपमा क्रिकेटको विकासका लागि लाग्न सके नेपाली क्रिकेटले नयाँ जीवन पाउने निश्चित छ ।
















