यस्तो कथा छ कबड्डी कबड्डी कबड्डीमा !

यसपाली कवड्डीको कथा नौरीकोटबाट घान्द्रुकमा घुसेको छ । सेताम्मे हिमाललाई पृष्टभूमी बनाएर थपक्क बसेको गुरुङ बस्तीभित्र प्रेम र धोकाको कवड्डी सुरु हुन्छ ।

अघिल्लो कथामा मैया (रिश्मा गुरुङ)ले छाडेर गएपछि विरत्तिएका वीरकाजी (दयाहाङ राई) डुकुलन्ठ्याङ छन् । न सिन्को भाँच्ने काम गर्छन्, न घरजामको मेलोमेसो मिलाउँछन् । एकातिर प्रेम-वियोगको चोट, अर्कोतिर घर-परिवारको कचकच । यद्यपि मैयाप्रति उनको प्रेम अजम्बरी छ । वीरकाजी भन्छन्, ‘प्रेम मर्दको जीवनमा एकचोटी हुन्छ, त्यो प्रेम मैले मैयालाई गरेको छु ।’

तर, उनको यो प्रेम-शिद्धान्त त्यसबेला डगमगाउन पुग्छ, जब आफ्नै आँगनमा सोल्टिनी काशी (उपनासिंह ठकुरी) प्रकट हुन्छिन् ।

जबकि वैंशालु यौवनाले फक्रिएकी काशी चौतर्फी प्रेमीहरुको निशानामा छिन् । आमा (लुनिभा तुलाधार) आफ्नातर्फको मामाको छोरो धनकाजी (विल्सनविक्रम राई)लाई सुम्पन चाहन्छिन् । बुवा (माओत्से गुरुङ) भने वीरकाजीलाई ज्वाई बनाउन इच्छुक छन् । एक लाहुरे परिवारका पुत्र पनि काशीको हात माग्न आएका छन् । यता शहरिया लक्का जवान (कर्मा) मरिहत्ते गरेर काशीको पछि लागेका छन् ।

अब काशीलाई गोटी बनाएर यी चार पुरुषबीच प्रेमको कवड्डी खेल सुरु हुन्छ । यो खेलमा कसले बाजी जित्छ ? को पछारिन्छन्, को नकआउट हुन्छन् ? उत्सुकता मेट्न करिब दुई घण्टा सिनेमाघरमा बिताउनुपर्नेछ ।

वसन्ती याम । पालुवा फेर्दे गरेको रुख-बुट्यान । अविछिन्न बहकिने लेकाली वतास । कञ्चन खोलानाला । र, बान्की मिलेको झुरुप्प बस्ती । ‘कवड्डी कवड्डी कवड्डी’ले तपाईंलाई यही परिवेश भित्र पुर्‍याएपछि हाँसो-ठट्टा, वैंश-बाध्यता, प्रेम-धोका खेल देखाउन थाल्छ ।

यो एक सामाजिक अन्र्तद्वन्द्वको खेल हो । परम्परा एवं रीतिथिती अनुसरण गर्ने र त्यसको चेपुवामा परेको दुई पुस्तावीचको घम्साघम्सी हो । चलचित्रले स्वजातिय प्रेमलाई समर्थन गरेको छैन र विजातिय प्रेमको वाकलत पनि गरेका छैन । बरु, यी दुईको भुमध्य रेखामा उभिएर ‘कवड्डी’ खेल झै प्रेम-युद्ध पेश गरेको छ ।

‘मौलिकता’को वहसमा अल्झिएको नेपाली सिनेमाका लागि यो एक मौलिक उत्पादन हो । थकाली एवं गुरुङ समुदायको संस्कृतिलाई यस चलचित्रले चम्किलो पर्दामा पुनरुत्थान गरेको छ । रैथाने कथा, रैथाने परिवेश, रैथाने पात्र ‘कवड्डी कवड्डी कवड्डीको’ गुरुत्वबल हो ।

भड्किलो गीत र चमत्कारिक फाइट राख्ने पुरातन शैलीबाट उम्किएर कथावाचनबाट नै दर्शकलाई बाँधेर राख्ने प्रयास यसपटक पनि जारी राखेका छन्, रामबाबुले । गीत त समावेश छ, तर कथा सुहाउँदो । जस्तो कि, गुरुङ समुदायको लवजसँग मिल्दो गीत ‘दुबो फूल्यो’ ।

खासमा रामबाबु गरुङको टिमवर्क राम्रो देखिन्छ । दयाहाङ राई जस्ता सामाजिक धरातललाई राम्ररी बुझेका अभिनेतासँगको सहकार्य नै उनको लागि फलिफापयुक्त छ । माओत्से गुरुङ र उपेन्द्र सुब्बा (स्क्रिप्ट राइटर) जस्ता साहित्य चेत र ग्रामिण मनोविज्ञान छिचोलेका सहकर्मी उनको अर्को शक्ति हो । त्यसबाहेक कमलमणि नेपाल, बुद्धि तामाङ, बिजय बराल जस्ता कला-अभिनयले निखारिएका कलाकर्मी उनको तन्दुरुस्त अवयव हुन् । यसपाली थपिएका कर्मा, उपसना, विल्सन विक्रम पनि उनका साहयक शक्ति हुन् ।

कवड्डीको लोकेसन र सिनेम्याटोग्राफी लोभलाग्दो पक्ष हुन् । हास्यरसयुक्त संवाद र प्राकृतिक अभिनयमा खोट छैन । पाश्र्वध्वनीले कथाको वहकाव र मर्मलाई अरु जोडदार बनाएको छ ।

लचित्र- कवड्डी कवड्डी कवड्डी
निर्देशक– रामबाबु गुरुङ
कलाकार- दयाहाङ राई, उपसाना सिंह ठकुरी, कर्मा, विजय बराल, माओत्से गुरुङ आदि ।
अवधि- १ घण्टा ५५ मिनेट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार