सामाजिक संजालमा विवादपछि ‘दीपाश्री ब्याउने’ होइन, ‘बिहे हुने’ कुरा हो भन्दै प्रस्ट्याए दिपकले

निर्माता दीपकराज गिरी र उनको टिमले असोजको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’को प्रमोशनका लागि एउटा प्यारोडी गीत तयार पारेको छ । दुर्गेश थापाको तीजमा राम्रो चलेको ‘बिच्च बिच्चमा’ बोलको गीतलाई यसपटक यो चलचित्रको प्रचारमा प्रयोग गरिएको छ ।

तर, यो गीतको एउटा शब्दले भने सामाजिक संजाल तताएको छ । ‘यसपटक त दीपाश्री ब्याउने कुरा छ’ भन्ने लाइनले सामाजिक संजाल तातेको छ । अविवाहित दीपाश्रीलाई किन यस्तो खालको शब्द प्रयोग गरियो भन्नेहरु पनि धेरै देखिएका छन् । मिडियामा पनि सस्तो प्रचार र विवाद खोजिएको भन्दै आलोचना भैरहेको छ ।

यस विषयमा चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीसँग प्रश्न गर्दा उनले शब्दलाई नै ट्विस्ट गरिदिए । गीतमा ‘दिपाश्री ब्याउने कुरा छ’ नभएर ‘बिहे हुने कुरा छ’ भनिएको उनको दावी छ ।
गिरीले अनलाइनखबरसँग भने–‘दीपाश्री अविवाहित रहेकाले ब्याउने कुरा त हुँदै हुँदैन । तर, शब्दको अर्थ कसरी लगाउने भन्ने हो ।’

उनले अगाडि भने–‘यसपाली त दीपाश्रीको पनि बिहे हुनवाला छ भन्दा यो र्याप नभएर निवन्ध हुन्छ । गीत बनाउँदा मिटरमा पनि ल्याउनुपर्ने हुन्छ । यसको भावलाई जसरी पनि लैजान सकिन्छ ।’ उनले ‘के खान लाग्नु भएकोलाई के ‘खान्ला’, कहाँ जान लाउनु भएकोलाई ‘कहाँ जान्ला’ भनिएजस्तै शब्दलाई गीतको मिटर अनुसार प्रयोग गर्दा यस्तो सुनिएको बताए ।

गीतमा सबैले सबैलाई उडाइरहेकाले दीपाश्रीको पनि ‘बिहे हुने कुरा छ’ भनेर उडाइएको उनले बताए । दीपकले बिचमै बिहे हुने भनेर संवाद नै राख्न खोजेको तर गीतको मर्म मर्ने भएकाले ‘ब्या–हुने’ राखिएको बताए ।

दीपकराजको टिमले सस्तो चीज ल्यायो भनेर भन्नेहरुमाथि उनको चित्त दुखाई छ । उनले भने–‘जुनको जुनेली’ गीत सार्वजनिक गर्दा कसैले यति मिठो शब्द प्रयोग भएछ भनेर प्रशंसा गरेनन् । बरु, यसपटक गीत खासै चलेन भनेर खुशी मनाए । प्रचारका लागि केही नयाँ गर्न खोज्दा सस्तो भयो भनेर आलोचना गर्छन् ।’

उनले मानिसहरुले विभिन्न तरिकाले यो प्रचार गीतलाई वुझ्ने भन्दै दीपाश्रीमाथि प्रयोग गरिएको शब्दमा विवाद हुने कुरामा आफूहरु जानकार भएको बताए । उनले भने–‘हामीले कहिले पनि छाडा चलचित्र बनाएका छैनौं । हाम्रा, चलचित्रलाई हजुरआमा, हजुरबाले पनि हेर्नुहुन्छ । यसैले, अविवाहित महिलालाई ‘ब्याउने’ कुरा छ भन्ने त कुरा नै आउँदैन ।’

दीपेन्द्र लामा निर्देशित यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार