काठमाडौं ।

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले उचालेको छ । पहिलो संस्करणको च्याम्पियन बनेर इतिहास रच्ने क्रममा चितवनले क्याट क्विन्स काठमाडौंलाई ४५ रनको अन्तरले पराजित गर्यो ।
टस गुमाएर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । पहिलो विकेटका लागि चितवनका काजल श्रेष्ठ र कन्चन श्रेष्ठले ४९ रनको महत्वपूर्ण साझेदारी गरे । काजल श्रेष्ठ २१ रन बनाएर बाहिरिन पुग्दा उनले २८ बलमा २ चौक्का हानेकी थिइन् । तर त्यसपछि चितवनले ४९ रनमै दोस्रो विकेट पनि गुमाउन पुगेको थियो ।
ऋतु कनौजीया र सुमन खतिवडाले चितवनको विडो थामेका थिए । २५ बल सामना गरेकी सुमनले २९ रन बनाउँदा ५ चौका प्रहार गरिन् । जवाफमा काठमाडौं २० ओभरमा मात्र ६७ रनमा आफ्ना सबै खेलाडी गुमाउन पुगेको थियो ।
काठमाडौंका दुई खेलाडीले मात्र दोहोरो अंकमा आफूलाई उभ्याउन सकेका थिए । जसमा अप्सरी बेगमले १५ रन बनाइन् भने ममता थापाले १३ रन बनाउँदा अन्य खेलाडी निरीह झै बनेर बाहिरिएका थिए ।
नौ रनमा नै पहिलो विकेट गुमाएको काठमाडौंको विकेट झर्ने क्रम निरन्तर झै बनेको थियो । काठमाडौंले १५ रन बनाउँदा चार विकेट गुमाएको थियो । काठमाडौंको जवाफमा उच्च साझेदारी २५ रनको मात्र रह्यो । जुन अप्सरी र ममताले बनाएका थिए ।
निकै कमजोर ब्याटिङका कारण राष्ट्रिय टिमकी कप्तान रुवीना क्षेत्रीको नेतृत्वमा रहेको काठमाडौंले ५१ रन बनाउँदा आठ विकेट गुमायो । त्यसपछि पनि काठमाडौंले दुई विकेट पनि सस्तैमा गुमाएको थियो । बलिङमा सुमन खतिवडा र रितु कनोजीयाले तीन तीन विकेट लिएका थिए ।
उपाधिसँगै चितवनले सात लाख रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको काठमाडौंले तीन लाख मात्र हात पार्यो । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा पहिलो पटक आयोजना भएको महिला फ्रेन्चाइजी लिगमा बिभिन्न पाँच टिमको सहभागिता रहेको थियो ।
















