शुरेस जोशी, पोर्चुगल ।

पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्या बढेसंगै यहाँको सरकार घरविहिन र सडकमा बास भएकाहरुप्रति चिन्तित भएको छ। राजधानी सहर लिस्बनभित्र मात्रै पनि ३५० भन्दा बढी घरविहिनहरु सडकमा सुत्न बाध्य भएका छन्।

लिस्बनमा मात्रै ३५० भन्दा बढी घरवारबिहिन सडकमा सुत्न बाध्य
सरकारले देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरेको छ। व्यापारिक प्रतिष्ठानहरु बन्द भएका छन्। सुपरमार्केटहरुमा सिमित सेवा उपलब्ध छन्। सरकारी र नागरिक सेवाका कार्यालयहरुमा सिमित सेवा प्रदान गरिएका छन्। सरकारले सबैलाई इन्टरनेट र टेलिफोन सेवाहरु लिन सुझाव दिएको छ।

सबै नागरिकहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ। मानिसहरु घरबाट बाहिर निस्कन नै डराएका छन्।
यस्तो अवस्थामा घरविहिन र सडकमै बास भएकाहरुलाई कोरोना संक्रमणबाट जोगाउन र संक्रमितहरुको उपचार गर्न यहाको सरकारले हदैसम्मको प्रयास गरको छ। घरविहिन र सडकमा बास भएकाहरुलाई परिक्षण गरिने भएको छ। घरविहिन र सडकमा बास भएकाहरुमा कोरोना संक्रमण देखिए उनीहरुको उपचारका लागि र आइसोलेसनमा राख्न लिस्बन महानगरपालिकाले ४० बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ।

महानगरपालिकाको घरविहिन र सडकमा बास बस्नेहरुसंग सहकार्य गर्ने ” टेक्निकल टिम ” ले दैनिक सेवा दिनेछन् र कोरोना संक्रमण देखिएकाहरूलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिनेछ।
आइसोलेसन वार्डमा नुहाउन र सरसफाईको लागि तातो पानी र खानाको व्यवस्था गरिएको छ। घरपालुवा जनावर जस्तै कुकुर र बिरालोका साथमा सडकमा बस्ने घरविहिनहरुको उपचार र उद्धारमा घरपालुवा जनावरको रेखदेख गर्न बाकसहरु र घरपालुवा जनावरको खानाको समेत व्यवस्था गरिएको छ।

स्वास्थ्य महानिर्देशानालयले दिएको जानकारी अनुसार पोर्चुगलमा हालसम्म ४४८ संक्रमित भएका छन् भने १ को मृत्यु भएको छ।
Photo : Nuno Correia | CML
















