गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले यहाँ आएका नयाँ विद्यार्थीहरुलाई ३० दिन खाना खुवाउने योजना सार्वजनिक गरेको छ । बिहीबार साँझ बसेको आपतकालीन बैठकले यी निर्णय गरेको हो ।

अष्ट्रेलियाले यहाँ आएका विदेशीहरुलाई अनिवार्य रुपमा १४ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम बनाएपछि प्रभावित बनेका नयाँ विद्यार्थीहरु लक्षित यो कार्यक्रम हो । एनआरएन अष्ट्रेलियाले सार्वजनिक गरेको विज्ञप्तिमा हरेक राज्यमा कम्युनिटी रेस्पोन्स टास्कफोर्स निर्माण गरिएको र तिनलाई केन्द्रीय रुपमा पब्लिक अफिसर कोमल पाठकले संयोजन गर्ने जानकारी गराइएको छ । यस्तै प्रवक्ता नन्द गुरुंगले हेल्पलाईनको संयोजन गर्नेछन् ।
एनआरएन अष्ट्रेलियाको यो सुविधा प्राप्त गर्नका लागि केही मापदण्ड समेत तोकिएको छ । २३ मार्च सोमबारबाट यो सुविधा उपलब्ध हुनेछ । यस्तो खानाको सुविधा प्राप्त गर्नका लागि हालसालै नेपालबाट पढ्नका लागि यहाँ आएको हुनुपर्ने, रोजगार हुन नहुने, सेल्फ आइसोलेसनमा बसेको हुनुपर्ने, बसोबास गरेको क्षेत्रमा कुनै आफन्तजन हुन नहुने, नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालयलाई सम्पर्क गरेको हुनुपर्नेछ ।
यस्तै विद्यार्थीबाहेकका अन्य नेपालीहरुका लागि पनि १५ दिनसम्म खाना खुवाउने योजना एनआरएन अष्ट्रेलियाको छ । यस्तो सहयोग प्राप्त गर्नका लागि एनआरएनको हेल्प लाईन १८००९५४५४० मा सम्पर्क गर्न सकिनेछ ।
















