यशुका अनुयायीलाई कोरोनाले नछुने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

कास्की |

कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाउने क्रिश्चियन धर्मका एक जना पास्टर पक्राउ परेका छन्।

जुम्ला घर भइ हाल पोखरा महानगरपालिका-२९ पावर हाउसमा बस्दै आएका पास्टर केशवराज आचार्यलाई यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

केही दिनअघि आचार्यले कोरोनाको त्रास फैलिएको बेलामा प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै भ्रम फैलाएका थिए। जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना भएको थियो।

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्स रोग निको बनाइदिने प्रवचन दिनुका साथै यशुका अनुयायीलाई कोरोना भाइरसले नछुने भन्दै भ्रमपूर्ण प्रवचन दिएका थिए।

आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार उनलाई धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै मुद्दा चलाउने तयारी भइरहेको छ। आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन्।

सरकारले कोरोनाको संक्रमण उच्च रहेको भन्दै २५ जनाभन्दा बढी मान्छे भेला हुन नपाउने आदेशलाई उल्लघंन गरेकोमा पनि कारवाही गरिने कास्की प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार