धनगढी ।

झण्डै २० घण्टादेखि धनगढी र गड्डाचौकी नाकामा अलपत्र परेका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पुयाउने व्यवस्था गर्न संघीय सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
संघीय सरकारको निर्देशनपछि उनीहरुलाई आज साँझ लक डाउनकै बीचमा सम्बन्धित जिल्लामा पठाउने तयारी गरिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।
नाकामा रहेका सम्पूर्ण नेपालीको जिल्लागत विवरण संकलन गरिरहेका छौ, प्रजिअ बोहराले भने, लगत संकलन लगत्तै नाकाबाटै बसमा राखेर सम्बन्धित जिल्ला पु¥याईनेछ ।
उनीहरुलाई सम्बन्धित जिल्ला, नगर र गाउँपालिकाको क्वारेन्टाईनमा राखिने र त्यसका लागि सबै तहमा क्वारेन्टाईन स्थापनाका लागि प्रदेश सरकारले बजेट दिने बताईएको छ ।
आज साँझ सम्म सीमामा रहेकाहरुका लागि सम्बन्धित जिल्लामा जान बसको व्यवस्था गरिने प्रशासनले जनाएको छ ।
भारतसंग जोडिएको गौरीफन्टा र गड्चौकीमा झण्डै हजारको हाराहारीमा नेपालीहरु अलपत्र परेका छन् ।
कैलाली र कञ्चनपुर दुबै जिल्लाको सीमामा हिजो साँझदेखि अलपत्र परेकाहरुलाई संघीय सरकारको निर्देशनपछि स्थानीय प्रशासनले उद्दार गर्न लागेको हो ।
















