– दीर्घराज उपाध्याय ।

विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ ( कोरोना भाईरस) बाट जोगिन सरकारले लक डाउन जारी राखेको तीन दिन भयो । १८ गतेसम्म तोकिएको लक डाउन थप लम्बिन सक्ने सरकारले जनाएको छ ।
यद्दपि लक डाउनबाट कोरोनाको संक्रमण फैलिन नदिन तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन तव मात्र सफल हुन्छ, जव हरेक नागरिकले यसको महत्व र गम्भीरतालाई बुझ्नेछ ।
सरकारले आफ्नो जिम्मेवारी निर्बाहका लागि कोसिस गरिरहदा बिपत्तिको यो घडीमा सरकारलाई साथ दिनु हरेक नागरिकको कर्तव्य र जिम्मेवारी दुबै हो ।
संघीय सरकारले कोरोना रोकथामका लागि कोसिस गरिरहदा प्रदेश सरकारले गर्नुपर्ने कार्य र जिम्मेवारी पनि उत्तिकै छन् ।
कोरोना आशंका गरिएका व्यक्तिको थ्रोट स्वाव परीक्षणका लागि सुदूरपश्चिममा प्रयोगशाला नहुदा नौ वटै जिल्लामा संकलित नमूना काठमाण्डौं पठाउने गरिएको छ । लक डाउनभन्दा अघि थ्रोट स्वावको नमूना हवाई जहाज मार्फत काठमाण्डौं पठाईन्थ्यो । यसरी पठाइएको नमूनाको रिपोर्ट तीन दिनमा आउथ्यो । लक डाउनपछि जहाज बन्द हुदा त्यो सुबिधा पनि रहेन ।
हवाई जहाज सुचारु हुदा दार्चुलाबाट नमूना कलेक्सन गरेर धनगढी पठाउदा दुई दिन लाग्थ्यो । धनगढीबाट काठमाण्डौं पठाएको थ्रोट स्वावको नमूनाको रिपोर्ट आउन थप तीन दिन लाग्थ्यो।
हवाई जहाजको सुबिधा हुदा रिपोर्ट आउन पाँच दिन लाग्थ्यो, अव गाडीमा थ्रोट स्वाव पठाउदा थप दुई दिन लाग्ने भएको छ ।
बरिष्ठ फिजिसियन प्रा.डा. सुभेषराज कायस्थका अनुसार नमूना संकलन गरिएको ४८ घण्टाभित्र त्यसको परीक्षण गरिसक्नु पर्छ । अन्यथा त्यो निस्प्रिभावी हुन्छ ।
तर यहाँ त ४८ घण्टासम्म त्यो सुदूरपश्चिममै थन्किने गरेको छ । रिपोर्ट आउन एक साता लाग्दा कोरोनाको आशंका गरिएका व्यक्ति र ती व्यक्तिसंग सम्पर्कमा भएका व्यक्तिले समाजमा पार्ने प्रभावको आकंलन पनि गर्न सकिदैन ।
सुदूर पश्चिम प्रदेश सरकारले कोरोनाको रोकथामका लागि पूर्ण तयारी गरेको बताएको छ । तर त्यसमा विश्वास गर्ने आधार छैन । कतिपय कुरा उसको बशमै छैन । कतिपय कुरामा उसले तयारी गर्नसक्थ्यो । त्यता तर्फ उसको ध्यान नै जान सकेको छैन । यतिबेला सरकार भन्दा बढि जिम्मेवारी नागरिकको छ । नागरिक सचेत नभई, उ अनुशासनमा नबसी सरकारले केही गर्न सक्दैन ।
यद्दपि सुदूर पश्चिम प्रदेश सरकारले निम्न बूँदामा ध्यान दिई त्यसको तयारी गर्न जरुरी छ ।
सरकारले गर्नुपर्ने कार्यहरु :
प्रयोगशालाको स्थापना : कोरोना आंशका गरिएको व्यक्तिको थ्रोट स्वाव परीक्षणका लागि काठमाण्डौंमा पठाउने कुरा अत्यन्त अव्यवहारिक छ । झञ्झटिलो छ । र समयमा संक्रमितको पहिचान हुन सकेन भने यसले निम्त्याउने अवस्था भयावह हुनेछ । त्यसैले तत्काल सुदूरपश्चिममा कोरोनाको संक्रमण पत्ता लगाउने प्रयोगशालाको व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारले संघीय सरकारलाई दवाव दिन ढिलाई गर्न हुदैन ।
स्वास्थ्यकर्मीको सुरक्षा : कोरोनाको भाईरसबाट संक्रमित जति जोखिममा छन् । त्यो भन्दा बढि जोखिममा छन्, स्वास्थ्यकर्मीहरु । जो संक्रमितको उपचारमा संलग्न छन् । उनीहरु सुरक्षित हुन नसके कोही पनि सुरक्षित रहनेछैन । उनीहरु बाँचे मात्र हामी बाँच्ने छौ । त्यसैले उनीहरुको मनोबल उच्च राख्न सरकार र आम नागरिकले उनीहरुको भूमिका र योगदानलाई उच्च प्रशंसा गर्न पर्छ । तर त्यतिले मात्र पुग्दैन । स्वास्थ्यकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षा कवच अर्थात पर्सनल प्रोटेक्टिभ ईक्युप्मेण्ट (पीपीई) गाउन, प्लाष्टिकको हेल्मेट , चश्मा, मास्क, गम्बुट तत्काल उपलब्ध गराउन आवश्यक छ । यसमा ढिलाई गर्न हुदैन ।
संक्रमणको त्रासमा घरवेटीहरुले स्वास्थ्यकर्मीहरुलाई घरबाट निकालिरहेको समाचार बाहिर आईरहेका छन् । यस्तो संकटपूर्ण घडीमा अमानवीय व्यवहार गर्ने घरबेटीहरुलाई अविलम्ब कारबाही गर्नुपर्छ । र स्वास्थ्यकर्मीहरुलाई बसोबासको उचित प्रबन्ध सरकारले गर्नुपर्छ ।
महामारी फैलियो भने अहिलेको जनशक्ति पर्याप्त हुनेछैन । पुराना र अनुभवी अवकाश प्राप्त चिकित्सक र स्वास्थ्य कर्मीलाई काममा फर्किन आग्रह गर्नुपर्छ ।
सुरक्षाकर्मीको सुरक्षा : स्वास्थ्यकर्मी झै सुरक्षाकर्मीहरु पनि उच्च जोखिममा छन् । उद्दार, राहत र सीमा, बिमानस्थल, भीडभाडमा खटिने सुरक्षाकर्मीहरु सुरक्षित नहुने हो भने कोरोनाले निम्त्याउने संकट अझ भयावह हुनेछ । त्यसैले सुरक्षाकर्मीहरुको पनि मनोबल सरकार र आम जनताले उच्च बनाउनुपर्छ । साथै उनीहरुलाई ड्युटीमा खटिदा सुरक्षित तरिकाले काम गर्न आवश्यक मास्क, पञ्जा, बिशेष पोशाक, सेनिटाईजर लगायतका सामग्री तत्काल उपलब्ध गराउन आवश्यक छ ।
औषधी र उपकरणको व्यवस्थापन : सुदूरपश्चिममा कति जना चिकित्सक छन् ? कति नर्स, अनमी , अहेव लगायतका स्वास्थ्यकर्मी छन् ? कति शैयाका अस्पताल छन् । कति एम्बुलेन्स छन् ? कति आईसियु र भेन्टिलेटर छ ? अहिले सञ्चालनमा रहेका आईसियु र भेन्टिलेटर पर्याप्त छैनन, नयाँ आईसियु र भेन्टिलेटर सहितको व्यवस्थापन गर्न कति संभव छ ?
औषधी कति छ ? उपकरण छन्, कि छैनन । यी सबै कुराको लेखाजोखा गरी सबै चिजलाई तयारी हालतमा राख्न आवश्यक छ ।
गेटा मेडिकल कलेजमा क्वारेन्टाईन र आईसोलेसन स्थापना : सरकारले तत्काल सुरक्षित र सुबिधा सहित क्वारेन्टाईन र आईसोलेसन स्थापना गर्नुपर्छ । त्यसका लागि गेटा मेडिकल कलेज सबैभन्दा उपर्युक्त हुन्छ । आईसोलेसन र क्वारेन्टाईनका बीचमा लामो दूरी हुनु हुदैन । जनशक्ति र क्षमताका हिसावले बलियो अबस्था नभएका कारण आईसोलेसन र क्वारेन्टाईन धेरै टाढा भए त्यसको व्यवस्थापनमा समस्या हुन सक्छ ।
कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएपछि अथवा संक्रमित रहेको कन्र्फम भएपछि उपचारका लागि राखिने ठाउँ क्वारेन्टाईन हो ।
क्वारेन्टाईनमा राखिएको व्यक्तिलाई जटिल समस्या भयो वा तत्काल उपचारमा लैजानु पर्ने अवस्था भएमा आईसोलेसन नजिक हुनुपर्छ । यद्दपि क्वारेन्टाईन र आईसोलेसन एउटै भवन र छानामुनी राख्दा जोखिमपूर्ण हुन्छ ।
गेटा मेडिकल कलेजको बीचमा सडक छ । सडकको एकातिरका भवनहरुमा क्वारेन्टाईन र अर्कोतिरका भवनमा आईसोलेसन स्थापना गर्दा त्यो सुरक्षित त हुन्छ नै । संक्रमितको उपचार र व्यवस्थापनमा समेत सहज हुनेछ ।
बिजुली, पानी र शौचालयको व्यवस्थापन तत्काल गर्न त्यहाँ संभव पनि छ ।
लकडाउन किन र कसका लागि ?
लक डाउनको अर्थ सरकारले विदा दिएको होईन । र यो कफ्र्यु पनि होईन । तर यसले दिने सन्देश र यसको अर्थ कफ्र्युभन्दा पनि गम्भीर छ । यो अवस्था भनेको आपतकालीन अवस्था हो । संकटकालीन अवस्था हो । यो अवस्थाबाट पार लागेन भने, त्यसको अन्तिम विन्दु मृत्यु हो ।
अर्थात हामी मृत्युको सन्निकट छौ । त्योबाट जोगिने भनेकै भीडभाडमा नजाने, भीड नगर्ने । घर भित्रै बस्ने हो । अझ कतिपयले यसलाई हल्का ढंगले लिएको पाईएको छ । टोलमा पनि साँझपख भीड जम्मा गर्ने । हुलमा बसेर गफ चुट्ने क्रम रोकिएको छैन । मलाई केही भएको छैन, उसलाई केही भएको छैैन भनेर हुल बाँधेर गफ चुट्ने क्रम रोकेनौ भने त्यसले गम्भीर स्थिति सृजना हुन सक्छ । किनकी अनुहार हेरेर संक्रमित हो कि होईन छुटयाउन सकिदैन । जति बेला संक्रमण लागेको थाह हुनेछन, त्यतिबेला ढिलो भईसक्ने छ ।
कतिपय बुज्रुकहरुले भनेको सुनिन्छ, कोरोनाको संक्रमणबाट मृत्यु हुने दर ३ देखि ४ प्रतिशत त हो नि । हामीलाई के होला ? हाम्रो खानपिनले हामीलाई जोगाउछ ।
उनीहरुले याद गर्नुपर्ने कुरा के हो भने, संक्रमित मध्ये ३ देखि ४ प्रतिशत मृत्यु हुने दर कहाँको हो ? कुन देशको हो ?
अमेरिका, जो विश्वको महाशक्ति हो, अर्थतन्त्र र स्वास्थ्य क्षेत्रका हिसावले उसको तयारी,क्षमता, दक्ष चिकित्सकहरुको उपलब्धताको कुनै देशसंग तुलना नै हुदैन । आज त्यही देशको हालत कोरोनाबाट कस्तो भएको छ, त्यो जग जाहेर छ ।
दैनिक उपभोग्य वस्तु र औषधीको उपलब्धता असहज भईसक्यो । सेनिटाईजर र ट्वाईलेट पेपरको अभावले मान्छेहरु त्यहाँ छटपटाइरहेका छन् । दुई हप्तादेखि अमेरिकाका मान्छेहरु घरभित्र नजरबन्दको अवस्थामा छन् ।
ईटली, जहाँ दिनप्रतिदिन हजारौ नयाँ संक्रमित फेला परिरहेका छन् । संक्रमितको उपचारमै संलग्न सयौ चिकित्सक र स्वास्थ्यकर्मीहरुको ज्यान गईसकेको छ । जहाँ मृत्यु हुने नागरिकको संख्या चीनको भन्दा दोब्बर भईसकेको छ । जहाँ लाशको व्यवस्थापन गर्न सरकारलाई गाह्रो भईसक्यो । प्रियजनको मृत्यु हुदा रुन नपाउने अवस्थाको मान्छेले कल्पना गर्दैन । प्रियजनको मृत्युमा उसको शवमाथि पुष्पगुच्छा अर्पण गर्न नपाउने कुरा मान्छेले सोचेको सम्म थिएन । तर आज त्यही भएको छ । घरकै सदस्यको मृत्यु हुदा सदगती गर्न पाएका छैनन, परिवारजनले । यो भन्दा पीडादायी अवस्था मानवजातीका लागि के हुन सक्छ । यो त्रासदीबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन हामी सचेत हुनैपर्छ ।
नेपालमा कोरोनाको तीन जना संक्रमित फेला परिसकेका छन् । अरु फेला पर्ने निश्चित छन् । किनकी खुला सीमाना, र त्यो सीमानाबाट भित्रिएकाहरुको स्वास्थ्य परीक्षण भएकै छैन । उनीहरुभित्र कतिजना संक्रमित थिए होलान, यसको हामीले आंकलन पनि गर्न सक्दैनौ । अझ विदेशबाट आएकाहरु क्ति संक्रमित छन्, त्यसको पहिचान नै हुन सकेको छैन । र पहिचान भएकाहरु एक हप्तापछि सम्पर्कमा आएका छन् । र यो अबधिमा उनीहरुले कति जनालाई भेटे होलान । र उनीहरुबाट कति जना संक्रमित भए होलान यसको अनुमान गर्न कठिन छ ।
सरकारले जारी गरेको लक डाउन हाम्रो सुरक्षाको लागि हो भन्ने कुरा आम नेपाली र नेपाल भित्र सबैले बुझ्न जरुरी छ । एक जनाका असाबधानी र लापरबाहीले ठूलो क्षति हुन सक्छ । जुन क्षति आज ईटली र स्पेनले व्यहोरिरहेको छ । हरेक नेपालीले त्योबाट पाठ सिक्न जरुरी छ ।
धैरे गल्ती यस्ता हुन्छन । जसको प्रायश्चित गर्न सकिन्छ । प्रायश्चित गर्ने मौका पनि मिल्छ । तर आज हामीले लापरबाही ग¥यौ भने त्यसको प्रायश्चित कहिले गर्न पाउने छैनौ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरोनाको रोकथामका लागि पूर्ण तयारी गरेका छौ भने पनि त्यो तयारीबाट ढुक्क हुने अवस्था छदै छैन ।
कोरोनाको संक्रमण फैलिनबाट रोक्न र त्यसबाट जोगिने एउटै उपाय हो । कुनै पनि व्यक्ति घरबाट ननिस्किने ।
बाँकी त तपसिलका कुरा हुन् ।
( लेखक पश्चिम टुडेका प्रधान सम्पादक तथा रेडियो पश्चिम टुडेका सीइओ हुन्। )
















