नर्वेमा कोरोना : बढ्दो संक्रमण, सुरक्षित नेपाली

खिलक बुढाथोकी, ओस्लो ।

कोरोना संक्रमण अन्य देशको जस्तै नर्वेमा पनि बढ्दो छ । गत फेब्रुअरी २५ गते एक जनामा देखिएको संक्रमण करिब चार हजारमा फैलिसकेको छ । २० जनाको ज्यान कोरोना संक्रमणबाट गएको छ । यद्यपी, नर्वेमा रहेका नेपाली भने सुरक्षित छन् । नर्वेमा करिब तीन हजार नेपाली रहेको अनुमान गरिन्छ ।

कोरोना संक्रमण बढेपछि नर्वेको सरकार मार्च १३ गतेबाट मान्छेको भिडभाड हुने ठाउँहरु विश्वविद्यालय, विद्यालय, रेस्टुरेन्ट, बार, क्लब लगायतका स्थानहरु बन्द गरेको छ । कार्यालय पनि सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ । सार्वजनिक यातायात र सुपरमार्केट भने खुला छन् । पहिलो चरणमा मार्च २६ गतेसम्म गरिएको लक डाउन संक्रमण संख्या घट्नुको सट्टा बढीरहेपछि अप्रिल मध्यसम्मको लागि थप गरिएकोछ ।

पहिलो पटक लक डाउन घोषणा गर्दा ६ सय संक्रमित थिए । यो समाचार तयार गर्दासम्म नर्वेमा संक्रमित हुनेको संख्या तीन हजार नौ सय ६५ पुगिसकेका छन् । मृत्यु हुनेको संख्या पनि २० जना पुगेको छ । संक्रमित हुनेको संख्या अन्य देशको तुलनामा संख्यात्मक हिसाबमा थोरै देखिएपनि यहाँको जनसंख्याको आधारमा भने धेरै हो । नर्वेको जनसंख्या ५४ लाख मात्रैछ । यो संख्यामा आप्रवासीको समेत संख्या जोडिएको छ ।

संक्रमित हुनेहरुमा पनि नर्वे र नर्वे बाहिरकाको उत्तिकै संख्यामा छन् । नर्वेको पब्लिक हेल्थ इन्च्यिुटका अनुसार संक्रमित मध्ये १९ सय ९४ नर्वेका नागरिक हुन् । ती बाहेक सबै संक्रमितहरु नर्वे बाहिर विभिन्न देशका नागरिकहरु रहेको बताएको छ । संक्रमण हुनेमा ७० जना भारतका नागरिक रहेका छन् । तर, कुनै पनि नेपाली अहिलेसम्म संक्रमित रहेको तथ्यांकमा छैन ।

गैह्र आवासिय नेपाली संघ नर्वेले पनि नर्वेमा रहेका नेपालीहरु कोरोनाबाट सुरक्षित रहेको बताएको छ । कोरोनाबाट सुरक्षित रहेपनि नर्वेमा बस्ने नेपालीहरुमा कोरोनाको कारण प्रभाव भने परेको बताइन्छ ।

नर्वेले रोजगार गुमेकाहरुलाई बेरोजगार भत्ता दिने सरकारले निर्णय गरेको छ । अन्तराष्ट्रिय विद्यार्थी भने त्यसमा समावेश गरिएको छैनन् । विद्यार्थीहरुलाई भत्ता नदिँदा रोजगार गुमेपछि समस्यामा परेको भन्दै त्यस्ता समस्याग्रस्त नेपाली विद्यार्थीको लागि सहयोग गर्नेबारे नर्वेमा रहेका नेपाली संघसंस्थाबीच आन्तरिक छलफल भइरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार