“लक-डाउन” छल्नेलाई भन्दिनु –”जिन्दगी ना मिलेगी दोवारा”

दीर्घराज उपाध्याय ।

सोमवार बिहानै टीकापुरबाट एक जनाले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई फोन गरे ।

फोन गर्नेको आग्रह थियो, सर मलाई पास दिनुपर्यो । देवघाट पुगेर आउछु ।

सहायक प्रजिअ जोशीले प्रश्न गरे, लक डाउनमा देवघाट जानु पर्ने त्यस्तो के काम आईलाग्यो ।

उनले सहज दिए, आमाको मृत्यु भएको ४५ दिन भयो । ४५ औ दिनमा देवघाट जानु भन्ने आमाको ईच्छा थियो ।

सहायक प्रजिअ जोशीले भने, अहिले पास मिल्दैन । लकडाउन खुलेपछि देवघाट जानु होला ।

अर्का एक जना बैतडी पूजाका लागि पास बनाई दिन आग्रह गर्दै थिए ।

एक जनाले घर जान पास बनाईदिनु प¥यो भनेर आग्रह गरे ।

सहायक प्रजिअ जोशीले कारण सोधे । उनको जवाफ थियो, श्रीमती घरमा एक्लै छ । रोईरहेकी छ ।

यस्तो बेला जोखिम मोलेर जानु हुदैन । कही तपाईलाई संक्रमण भए तपाईकी श्रीमतीले भेट्न पनि पाउने छैनन ।

लकडाउनमा पासका लागि यसरी हरेक दिन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा र सहायक प्रजिअ जोशीलाई फोन गर्नेहरुले हैरान गरेका छन् ।

अपरिचित नम्बरबाट फोन बजे पछि, पासका लागि त होला भन्ने लाग्छ, जोशी भन्छन्, हामीले लक डाउनको अर्थ नै बुझाउन सकेनौ ।

लक डाउन जनताको सुरक्षाको लागि हो । अवज्ञा गर्ने नै संक्रमणको उच्च जोखिममा हुन्छ । लक डाउनको अर्थ जो जहाँ, जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा बस्ने भन्ने हो, सहायक प्रजिअ जोशी भन्छन्, तर यहाँ त कोही पनि बस्न तयार नै छैन ।

कति अधैर्य भएका हामी ? घर भित्र विपत्ति आइसक्यो । फेरि पनि चुपचाप बस्न सक्दैनौ । यस्तो समयमा पनि घरबाहिर निस्किन बिभिन्न बहाना बनाईरहन्छौ ।

एक जनाको लापरबाहीले गर्दा ईटलीमा लाख बढि संक्रमित भईसके । मृत्यु हुनेको संख्या दिनहूँ हजार बढि छ ।

तर नेपाललाई ईटली बनाउने बेबकुफहरु यहाँ त हजारौ छन् ।

लकडाउन जारी छ । साँझपख निस्फिक्री भएर सडकमा निस्किने हुल देखेर प्रहरी पनि हैरान छ । यसरी निस्किनेमा सबै उमेर समूहका छन् ।

कर्फ्युमा जस्तो साँझ सबै किनमेलमा निस्किन्छन । तर उनीहरुले यो बुझेका छैनन कि जुन दिन यो फैलिने छ, त्यसबाट कोही जोगिने छैनन ।

नेपाल यतिबेला कोरोनाको उच्च जोखिममा छ । काठमाण्डौं, धनगढी र बागलुङमा समेत पाँच जना संक्रमित भेटिएका छन् । जसमा धनगढीका एकजना छन् । उनले भेटेका र उनको सम्पर्कमा रहेकाहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन । परिवारका ८ जना र एक जना भाई मात्र क्वारेन्टाईनमा छन् ।

हामी कहाँ एक साता भयो, लक डाउन भएको । मान्छेहरुको लापरबाही हेर्दा यस्तो लाग्छ, ईटली कसरी संक्रमणको चपेटामा पर्यो भन्ने लेख पढ्ने र सामाजिक सञ्जालमा शेयर गर्ने यिनै हुन् । ओहो ईटली त बर्बाद भएछ भनेर दात टोक्ने पनि यिनै हुन् ।

प्रहरीलाइ छल्न खल्तीमा दुई ट्याब्लेट औषधी राखेर अस्पतालबाट आएको बहाना बनाएर लकडाउनमा बजार हेर्न घरबाट निस्फ्रिकी हिड्ने पनि यिनै हुन् ।

विदेशमा रहेका साथीहरुसंग हरेक दिन जसो कुरा हुन्छ । उनीहरुका कुरा सुनेर आत्तिन्छु । अमेरिकाको न्युयोर्कमा रहेका नविन ओझा सुनाउदै थिए, एक महिना भयो, कोठा बाहिर निस्किन नपाएको ।

बन्द कोठाभित्र अपराधी जस्ता भएका छौ, ओझाले पीडा सुनाए, अपराध नगरेर जेलमा सजाय काटिरहेका कैदीको जस्तो अवस्था छ । खायो । सुत्यो । फेरि खायो । सुत्यो । यही हो, दिनचर्या ।

अमेरिकामा तीन सयभन्दा बढि नेपाली संक्रमित भईसेकका छन् । जसमध्ये दुई जनाको मृत्यु भईसक्यो । मृत्यु भएकाहरुको दाहसंस्कारमा परिवारका सदस्यहरु सहभागी हुन पाएनन । चिहानघर प्रशासनले दाहसंस्कार गरिदियो ।

सुपरमार्केटहरु रित्तो भईसके । हिम्मत जुटाएर बजार निस्कन सक्ने अवस्था एकातिर छैन । अर्कोतिर किन्नलाई केही छैन, बजारमा । संसारलाई उज्यालो सपना देखाउने अमेरिका आफै कोरोनाको सन्त्रासमा छ । अस्पतालहरुमा बेडको अभाव भइसक्यो । आईसियु र भेन्टिलेटर कम परिसके ।

सामानको अभाव भईसकेको छ । एउटा व्यक्तिले एउटा ट्वाईलेट पेपरभन्दा बढि खरीद गर्न पाउदैन । चालमको व्याग पनि एउटा मात्र किन्न पाउने । सेनिटाईजर एक जनाले एउटा मात्र खरीद गर्न पाउछ ।

पोर्चुगलमा रहेका गणेश पाण्डेय सुनाउदै थिए, ढोकाबाट बाहिरको आकाश नदेखेको तीन हप्ता हुदैछ । सरकारले बाहिर ननिस्किन उर्दी जारी गरेको छ । भेन्टिलेटर र आईसियुको अभाव भईसकेको छ । भेन्टिलेटरका लागि कम्तिमा तीन दिन कुर्नुपर्छ । त्यति दिनमा त उसको मृत्यु भईसक्छ ।

नर्वेमा रहेका जितेन्द्र शाही भन्दै थिए, अत्यावश्यकीय काम बाहेक अन्य प्रयोजनमा घर बाहिर निस्किन कसैलाई अनुमती छैन । सामान्य हाछ्यु र खोकी लाग्दैमा अस्पतालमा फोन गर्न पाईदैन । जव संक्रमणका लक्षणहरु पर्याप्त देखिन्छन् तव मात्र एम्बुलेन्सलाई फोन गर्न मिल्छ । आफू खुशी अस्पताल जान पाईदैन ।

डेनमार्क पनि पुरै लक डाउन गरिएको छ । सार्वजनिक यातायात चल्छन् । तर त्यसमा चढ्ने कोही छैन ।

युरोपबाट पत्रकारिका गरिरहेका र युरोपको अवस्थालाई एकदमै नजिकबाट नियाली रहेका पत्रकार पाण्डेयले भने ” यहाँ पनि नेपाली र आप्रवासी समुदायका मान्छेहरुले लक डाउन पूर्णरुपम पालना गरेका छैनन्। कथमकदाचित यदि कोरोना संक्रमित भईयो भने , जुन दिन सुरक्षाकर्मीको साथमा स्वास्थ्यकर्मीको टोलीले घरबाट उपचारका लागि अस्पताल लैजान्छ, यदि निको भएर फिर्ता आएन भने , आफ्नो घरपरिवार र आफन्तसंगको त्यो भेट नै अन्तिम भेट हो। किन संक्रमणको त्रासले बिरामीलाई न अस्पतालमा भेट गर्न र कुर्न दिन्छन् , न मृत्युपछि लास दिन्छन्। त्यसैले घरमै बस्नु र आफै सुरक्षित हुनुको बिकल्प छैन। ”

यो लेख तयार पारुन्जेल सम्म संसारभरी ७ लाख ३७ हजार ९ सय २९ जनाको संक्रमित भएका छन् । जसमध्ये ३५ हजार १९ जनाको मृत्यु भईसक्यो । सञ्चो भएर फर्किनेको संख्या एक लाख ५६ हजार हजार ५ सय ७ मात्र छ । जति सञ्चो हुन्छन् । त्यसको कयौं गुना बढि संक्रमित भईसकेका हुन्छन् ।

संयुक्त राज्य अमेरिकामा हालसम्म संक्रमित भएका १ लाख ४३ हजार ५५ जनामा २ हजार ५ सय १३ जनाको मृत्यु भईसकेको छ । जवकी सञ्चो हुनेको संख्या अत्यन्त न्यून अर्थात ४ हजार ८ सय ६५ छ ।
इटालीमा ९७ हजार ६ सय ९८ जना संक्रमित भएकोमा १० हजार ७ सय ७९ जनाको मृत्यु भईसकेको छ । सञ्चो भएर घर फर्किन पाउने भाग्यमानी १३ हजार ३० जना मात्र छन् ।

स्पेनमा ८५ हजार १ सय ९५ जना संक्रमित भएकोमा ७ हजार ३ सय ४० जनाको मृत्यु भइसकेको छ । १६ हजार ७ सय ८० जना उपचारपछि घर फर्केका छन् ।

जर्मनीमा ६२ हजार ४ सय ३५ जना संक्रमित भएकोमा ५ सय ४१ जनाको मृत्यु भईसक्यो । जवकी उपचारपछि घर फर्किन पाउनेमा ९ हजार २ सय ११ जना छन् ।

पोर्चुगलमा ५ हजार ९ सय ६२ जना संक्रमित रहेकोमा एक सय १९ जनाको मृत्यु भईसकेको छ । जवकी सञ्चो हुने भाग्यमानी ४३ जना मात्र छन् ।

चीनमा ८१ हजार ४ सय ७० संक्रमित भएकोमा ३ हजार ३ सय ४ जनाको मृत्यु भयो । उपचार भएर घर फर्किन पाउने सबैभन्दा बढि भाग्यमानी चीनमै छन् । जहाँ ७५ हजार ७ सय संक्रमित सञ्चो भएर घर फर्किन पाए ।

वर्षेनी सात करोडभन्दा पर्यटक पुग्ने फ्रान्सको पेरिस चिहानघरमा परिणत भईरहेको छ । फ्रान्समा ४० हजार ७ सय४७ संक्रमित मध्ये २ हजार ६ सय ११ को मृत्यु भईसकेको छ । निको हुने ७ हजार २ सय ३६ जना मात्र छन् ।

आईसियु र भेन्टिलेटरको अभाव भएपछि फ्रान्स र ईटलीले जर्मनीसंग सहयोग मागेको छ । दुबै देशबाट संक्रमितहरुलाई जहाज मार्फत जर्मनी पु¥याईदैछ । जर्मनी कोरोनाको संक्रमणबाट आफै आक्रान्त छ । त्यसका बाबजुद पनि उसले ईटलीलाई तीन सय भेन्टिलेटर सहित अन्य मेडिकल उपकरणहरु पनि सहयोग गरेको छ ।

फ्रान्सको पेरिसमा रहेकी अनुराधा पौडेल लेख्छिन्, पेरिसका अस्पतालहरु भरिए । संक्रमितलाई जर्मनी, बेल्जियम र फ्रान्सका अन्य शहरमा लगिदैछ । भेन्टिलेटर छैन । बेड छैन । मास्क छैन । साधारण बेडमा सुताउदै गरौ भन्न पनि नमिल्ने । अक्सिजन पनि चाहिने । नशाबाट सुई पनि दिन पर्ने । संक्रमितहरु पानीबाट फालेका माछा जस्ता, फत्रक फत्रक मरेका छन् । कोरोना सल्केपछि त एकदम चाँडो सकिहाल्ने । अ भन्दा भन्दै लडाईहाल्ने । अनि जाने बेला पनि भईहाल्ने । हामीहरु जोगिने प्रयत्नमा छौ । त्यता नेपालमा पनि जोगिनुहोला । हाँसो मजाक गर्ने । डुल्ने बहाना नगर्नुहोला है ।

पेरिसमा हरेक साँझ घरको झ्यालबाट संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको प्रोत्साहन र सम्मानमा हरेकले ताली बजाउने गरेका छन् ।

ईटलीमा लाश गाड्ने ठाउँको अभाव भएको छ । उपचार गर्दै गर्दा स्वयम स्वास्थ्यकर्मीहरु पनि संक्रमणको शिकार भएर मृत्युवरण गरिरहेका छन् । बेलायत र ईरानको अवस्था त्यस्तै छ ।

युरोप र अमेरिकाको अवस्था त्यस्तो छ भने नेपालमा संक्रमण फैलियो भने कति मान्छेको मृत्यु होला ? हामी अनुमान पनि गर्न सक्दैनौ ।

नेपालभन्दा हजारौ गुणा बढि आर्थिक रुपले सम्पन्न, पर्याप्त दक्ष स्वास्थ्यकर्मी, सुबिधा सम्पन्न बिशाल क्षमता भएका अस्पतालहरु भएका अमेरिका, ईटली, फ्रान्स, स्पेन, पोर्चुगल, बेलायत जस्ता मुलुकहरुको यो हालत छ । जहाँका नागरिकको जीवनको पनि भरोसा छैन । कोरोनाको संक्रमणसंगै त्यसको त्रासले पलपल मरिरहेका छन् ।

विश्वकै यो भयावह अवस्था थाह पाएकाहरु पनि नेपालमा यति लापरबाह छन् कि ? एकथरी यस्ता मान्छेहरु छन्, लकडाउनमा बाहिर निस्किनु शान सम्झिन्छन् । खुला सडकमा बिभिन्न बहानमा पास लिएर गाडी चलाउनुमा गर्व गर्छन । भन्छन्, घरभित्र बस्दा बोर भए, बाहिर त निस्कनै प¥यो ।

अर्कोथरी छन्, लकडाउन हुदै गरोस् । दिउँसो टोलमै पनि साथीहरु जम्मा गरेर गफ चुट्ने । साँझपख भट्टी खोल्न लगाउने ।

तेस्रो थरी छन्, साँझ परे कि ईभनिङ वाकमा निस्किने । जसले कहिल्यै मोर्निङ वाक गरेनन, तिनलाई अचेल ईभनिङ वाकमा गजवको रुचि बढेको छ ।

अर्को थरी छ, तरकारी किन्नु एउटाले छ, साथमा तीन जना जान्छन् ।

साँझपख बजार र हरेक टोलमा हेर्दा यस्तो लाग्छ, कर्फ्यु खुल्यो । अव बाहिर निस्किन हतारमा छन् । उनीहरु ।

लकडाउन भनेको कर्फ्यु होईन । यो कहिले बुझ्लान तिनीहरु ? यो आपतकालीन परिस्थिति हो । अहिले त जो जहाँ जस्तो अवस्थामा छ, त्यही बस्ने हो । घरभित्रै बस्ने । छिमेकी त के आफ्नै घरमा कोठा भाडामा लिएर बस्ने मान्छेलाई पनि भेट्ने समय होईन यो ।

छिमकीले कुन बेला कसलाई भेटेर आएको छ ? कसलाई थाह छ ? आफू बाहेक कसैलाई विश्वास गर्ने बेला होईन । र निस्फिक्रि भएर बाहिर निस्किने त बेला हुदै होईन ।

र मैले कसैलाई भेटेको छैन, त्यसैले मलाई संक्रमण सर्दैन भन्ने कसैले सोच्छ भने त्यो गलत सोच हो । किनकी संक्रमितले प्रयोग गरेका सामान, उसले उठबस गरेका ठाउँ, छोएका र प्रयोग गरेका बस्तु र लुगा लगाउदा पनि यो सर्छ । फेरि सयौंको भीडमा एक जना संक्रमित छ भने उसका कारण त्यो भीड नै संक्रमित हुने उच्च जोखिम हुन्छ । र त्यो भीडमा रहेको हरेक व्यक्तिबाट उसको घर परिवार, छिमेक र साथीभाई पनि संक्रमणको शिकार हुन्छन् ।

युरोपमा एउटै परिवारका सदस्य पनि अर्को सदस्यलाई छुन डराउछन । संगै उठबस गर्न छोडी सके । संक्रमण भएपछि भोग्नु पर्ने नियति उनीहरुले बुझेका छन् । संक्रमित भए, न पैसाले काम गर्छ । न पहूँचले । पति संक्रमित हुदा पत्निले भेट्न पाउदैन । छोराछोरी संक्रमित हुदा बुवाआमाले भेट्न पाउदैन । मृत्यु भए, परिवारकै सदस्यले दाहसंस्कार गर्न पाउदैन । बन्द कोठामा बसेर रुनु बाहेक अरु बिकल्प रहदैन ।

धनगढीका संक्रमितले यात्राका क्रममा र धनगढीमा कतिलाई भेटे ? प्रहरीलाई उनीहरुको पहिचान गर्न खोजी गर्न कठिनाई भएको छ । उनको सम्पर्कमा भए जतिलाई क्वारेन्टाईनमा राख्नुपर्ने हुन्छ । किनकी उनीहरु पनि संक्रमणको उच्च जोखिममा हुन्छन् । विदेशबाट आएकालाई नभेटौ । उनीहरुलाई क्वारेन्टाईनमा बस्न सल्लाह दिऔ । घरबाट बाहिर ननिस्कौ तपाईको छिमेकीले संक्रमितलाई भेटेको छ भने तपाई उसको सम्पर्कमा जानु भयो भने तपाईलाई संक्रमण हुने उत्तिकै जोखिम हुन्छ । खेलाँची नगरौ । सानो गल्तीको सजाय तपाईले भोग्ने त निश्चित छ । त्यसको सजाय तपाईको परिवार, समाज र राष्ट्रले पनि भोग्नु पर्नेछ । संक्रमण फैलिन एक जनाको असावधानी काफि हुन्छ ।

लकडाउन छलेर बहादुरी प्रदर्शनी गरे त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । जीवन त्यसको अन्तिम मूल्य हो । र यो कर्फ्यु होईन, पास लिनका लागि । युरोप र अमेरिकाका पुरै शहर लकडाउन भएको महिना भयो । उनीहरु आफ्नो कोठा भन्दा बाहिर निस्केका छैनन । न अरुको कोठामा जान्छन् । न आफ्नो कोठामा आउन कसैलाई दिन्छन् । चीनको वुहान त्यसै यो संकटबाट बाहिर आएको होईन् । त्यहाँका नागरिकले दुई महिना कोठाभित्रै चुपचाप बिताएका छन् । यो नविर्सौ । चीन धैर्यता र नागरिकको अनुशासनले जोगिएको हो । अधैयर्ता र लापरबाहीको परिणाम कति भयानक हुन्छ, ईटली त्यसको उदाहरण हो ।

हामी कहाँ भारत र विदेशबाट कति व्यक्ति आए ? कहाँ छन् ? उनको अवस्था कस्तो छ, कसैलाई थाह छैन । बाहिरबाट कुनै पनि व्यक्ति संक्रमित हुन सक्छ । एक जनाबाटै देशभरी संक्रमण फैलिन सक्छ ।

ईटली, फ्रान्स, पोर्चुगल लगायतका देशमा संक्रमितसंगै उनीहरुको उपचारमा संलग्न हजारौ चिकित्सक र स्वास्थ्यकर्मीहरुको मृत्यु भईसकेको छ ।

हामी कहाँ न पर्याप्त स्वास्थ्यकर्मी छन् । न सुबिधा सम्पन्न अस्पताल । न पर्याप्त बेड । सघन उपचार कक्ष छ त, केहीसंख्यामा । अहिले साबधानी अपनाएनौ भने हाम्रो लाश गन्न पनि कोही मान्छे बाँकी रहने छैनन ।

संक्रमण फैलिए हामीलाई बचाउन सक्ने न हाम्रो सरकारको क्षमता छ । न हाम्रा स्वास्थ्य संस्थाको सामथ्र्य ।

कृपया सबैले घरमै बसेर कोरोनाको संभावित संक्रमण हुनबाट बचौं र बचाऔ, सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी कक्ष ईञ्चार्ज सिनियर अहेव कृष्ण कुमार बोहरा फेसबुक वालमा लेख्छन्, जिन्दगी ना मिलेगी दोवारा ।

लक डाउन छल्नेलाई भनी दिनु–जिन्दगी ना मिलेगी दोबारा ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार