काठमाडौं।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीकोबारेमा मात्रै चिन्ता लिएकोमा व्यंग्य गरेकी छन्।
राष्ट्रपति भण्डारीले अमेरिकामा कोरोना तीव्र गतिमा फैलिएर धेरैको ज्यान लिन थालेपछि त्यहाँका नेपालीबारे बुधबार चासो राखेपछि सांसद झाँक्रीले त्यसबारे कटाक्ष गरेकी हुन्।
उनले लकडाउनका कारण देश भित्र नै नागरिकको बेहाल भएका बेला विकसित देशमा रहेकाहरुको धेरै चिन्ता आवश्यक नरहेको उल्लेख गरेकी छन्।
‘महामहिम! अमेरिका, क्यानाडा, युरोप, अष्टेलिया, जापान, कोरिया लगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस’, उनले कटाक्ष गर्दै भनेकी छन्, ‘नेपालका विभिन्न जिल्लामा निर्माणका काममा गएका मजदुरहरु लकडाउनमा अलपत्र परेर समस्यामा छन्। व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दिने की?’
अमेरिकामा कोरोना तीव्रगतिमा फैलिएसँगै राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ।
कोभिड-१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिएर धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले त्यहाँका नेपाली समुदायको अवस्थाबारे जानकारी लिएकी थिइन्।
सिधा कुरा:
महामहिम! अमेरिका,क्यानडा,युरोप,अष्टेलिया, जापान,कोरिया लगायत बिकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस।नेपालका बिभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदूरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन।ब्यस्थापनको लागि स्थानिय तहलाई निर्देशन दिने की?— Ram kumari Jhakri (@Jhakri_didi) April 1, 2020
राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गरेको जनाएका थिए। राष्ट्रपतिले नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गरेको कार्कीले बताएका थिए। अमेरिकामा करिब पाँच लाख नेपाली र नेपालीमूलका बासिन्दा छन्।
















