दीर्घराज उपाध्याय ।
जे नहोस भनेर कामना गरेका थियौ । आखिर त्यो भई छाड्यो ।
अव हामीसंग कुनै उपाय छैन । अमेरिका र युरोप हायलकायल पारिसकेको संक्रमणसंग जुध्ने हाम्रो क्षमता र सामर्थ्य छैन । लक डाउन खुल्नु भन्दा पहिले हामीसंग गुमाउनका लागि केही पनि बाँकी नरहोस । प्रार्थना गरौ, यस्तो नहोस ।
क्वारेन्टाईनमा नबस्नु र लकडाउन उल्लंघनका गम्भीर परिणामहरु देखिन थालिसकेका छन् । देशभरीमा ८ जना संक्रमित हुदा धनगढीमा चार जना संक्रमित भेटिएका छन् । एक जनाको लापरबाहीका कारण ईटली,स्पेन र फ्रान्सले व्यहोरीरहेको क्षति हामीले देखिरहेका छौ । जवकी उनीहरुको स्वास्थ्य क्षेत्रको क्षमताका अगाडि हामीसंग केही पनि छैन ।

क्वारेन्टाईनमा नबस्नु र लकडाउन उल्लंघनका गम्भीर परिणामहरु देखिन थालिसकेका छन् । देशभरीमा ८ जना संक्रमित हुदा धनगढीमा चार जना संक्रमित भेटिएका छन् । एक जनाको लापरबाहीका कारण ईटली,स्पेन र फ्रान्सले व्यहोरीरहेको क्षति हामीले देखिरहेका छौ । जवकी उनीहरुको स्वास्थ्य क्षेत्रको क्षमताका अगाडि हामीसंग केही पनि छैन ।
हामीसंग कुनै उपाय छैन । अव भगवानको भरोसा बाहेक कुनै उपाय छैन । किनकी संक्रमणबाट जोगाउन सक्ने न सरकारको क्षमता छ । न त हाम्रा स्वास्थ्य संस्थाको सामर्थ्य।
तीन तहका सरकाका बीचमा सहकार्य र समन्वय हुन नसक्नु, प्रदेश सरकारले कोरोनाको संक्रमणको जोखिमलाई गम्भीरतापूर्वक लिएर समयमै तयारीमा नजुट्नुका परिणामहरु हाम्रा आँखा अगाडि छन् ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकहरु पीपीई, मास्क, सेनिटाईजर, पञ्जा पाएन भनेर रोईकराई गरिरहेका छन् । बजेट नहुदा प्रहरी र सशस्त्र प्रहरी एक पटक प्रयोग गरेपछि फाल्नु पर्ने ग्लोब्स धोएर पुनः प्रयोग गरिरहेको छ ।
प्रदेश सरकार भने ढुकुटीमा अर्बौ रुपैया थन्काएर बसेको छ । अहिलेसम्म नखोलेको त्यो ढुकुटी अव खोलेर पनि काम लाग्ने छैन । तर प्रदेश सरकार ढुकुटीमा पैसा नै नभए जस्तो गरी कोषमा रकम जम्मा गरिदिन सबैलाई आग्रह गरिरहेको छ ।
कोरोना रोकथामका लागि सामूहिक रुपमा नदेखिएका मुख्यमन्त्री र मन्त्रीहरु कुनै एउटा बैंकको चेक बुझ्दै गरेका फोटोहरु सामाजिक सञ्जालमा देखिदैछन् । सरकारको यो बिद्रुप रुप हो ।
यो पब्लिसिटी र स्टन्ट गर्ने बेला होईन । काम गर्ने बेला हो । प्रदेशको समस्या र भित्रिसकेको कोरोनाको संक्रमणको भयावह संकटबाट कसरी जुझ्ने सामूहिक रुपमा जुट्ने बेला हो ।
प्रदेश सरकारका तर्फबाट केही समयअघि सार्वजनिक भएको आकडा अनुसार २८ अर्वको बजेटमा १७ प्रतिशत मात्र खर्च भएको छ । अर्थात ढुकुटीमा अझै ८३ प्रतिशत बजेट छ । अर्बौ रुपैया ढुकुटीमा छ । तर प्रदेश सरकार निर्लज्ज भएर हजार रुपैयाका चेकहरु बुझ्न हतारिन्छ ।
जनता जोगिएनन भने त्यो बजेटको के काम ? जुन प्रदेश सरकारको ढुकुटीमा छ । लंकामा सुन छ, कान मेरो बुच्चै । प्रदेश सरकारसंग भएको बजेट र निरुपाय भएका जनताको अवस्थाले यही कुरा झल्काउछ ।
तीन महिना पहिले नै देखिईसकेको कोरोनाको सुनामी छिमेकी चीनबाट हामीकहाँ भित्रिएला भन्ने अन्दाज पनि गरेन । र त्यसबाट कसरी जुझ्ने भन्ने रणनीति र सुरक्षाका उपायहरु पनि अवलम्बन गरिएन । आज त्यसैको परिणाम भोग्दैछौ ।
भिजन भएको नेतृत्व, त्यसलाई निर्देशन गर्ने अभिभावक र सही दिशामा हिड्न दवाव दिने प्रतिपक्ष नहुनुको पीडा यतिबेला सुदूरपश्चिम भोग्दैछ ।
अव कागजी आकडा देखाउन बन्द गर्नुपर्छ । हाम्रो स्वास्थ्य क्षेत्रको अवस्था, चिकित्सक, स्वास्थ्यकर्मी, जनशक्ति, साधन र औषधीको उपलब्धता, हरेक आवश्यक कुराको व्याकअपको यथार्थ विश्लेषण गरी हरेक कोणबाट तयारीमा जुट्न आवश्यक छ ।
नेतृत्वको कमजोरीको परिणाम जनता भोग्दैछन् । यतिबेला आईसियु र भेन्टिलेटरको संख्या गनेर बसेका छौ, हामीहरु । सेती प्रादेशिक अस्पतालमा एउटा भेन्टिलेटर छ । तर संक्रमित संख्या चार जना ।
अव उनीहरुलाई भेन्टिलेटरमा राख्नु पर्ने अवस्था आए एक जनालाई दार्चुला पठाउनुपर्नेछ । अर्कोलाई डडेल्धुरा । तेस्रोलाई महाकाली अस्पताल । सेती प्रादेशिक अस्पतालमा त एक जनाको मात्र उपचार हुनेछ ।
सुदूरपश्चिमका नौ वटै जिल्लामा १६४ आईसोलेसन बेड छन् । सेती प्रादेशिक अस्पतालमा १० वटा बेड मात्र छन् । अन्य जिल्लामा आईसोलेसन बेडको कुनै अर्थ छैन । किनकी त्यहाँ बेड मात्र छन् । अरु केही छैन । उपचारका लागि क्रिटिकल कन्सलट्याण्ट फिजिसियन चाहिन्छ । अन्यत्र सबैतिर छैनन । सबै जिल्लाका संक्रमितलाई धनगढीमा नै ल्याउने निश्चित छ ।
अव के गर्ने त ? हात खडा गर्ने । वा समस्यासंग जुझ्ने । पक्कै पनि जुझ्ने । समस्याबाट न भाग्ने छुट छ । न त भाग्न सक्ने अवस्था नै छ ।
प्रदेश सरकारले निम्न कुराहरुमा ध्यान दिई तत्काल महत्वपूर्ण निर्णयहरु लिनुपर्छ ।
पहिलो, धनगढीका सम्पूर्ण निजी अस्पतालाई आफ्नो मातहतमा लिनुपर्छ । निजी अस्पतालका सञ्चालकहरुले आवश्यकता परे सरकारलाई हस्तान्तरण गर्न तयार रहेको सार्वजनिक रुपमा प्रतिबद्धता गरिसकेको अवस्थामा भोलि नै सम्पूर्ण निजी अस्पतालहरुलाई संक्रमण नरोकिएसम्म सरकारीकरण गर्नुपर्छ ।
दोस्रो, सरकारी घोषणा अनुसार सेती प्रादेशिक अस्पताललाई पूर्णतः कोरोना अस्पताल बनाईनुपर्छ । जहाँ कोरोना संक्रमितको मात्र उपचार गरिनुपर्छ ।
तेस्रो, सेती प्रादेशिक अस्पतालमा सम्पूर्ण बिरामीहरुलाई तत्काल निजी अस्पताललाई सरकारीकरण गरी त्यहाँ सिफ्ट गरिनुपर्छ । उनीहरुको उपचार त्यहाँ गरिनुपर्छ ।यसमा अलिकति पनि ढिलाई गर्न हुदैन ।
चौथौ, सुदूरपश्चिममा जति चिकित्सक र स्वास्थ्यकर्मीहरु छन् । त्यो भन्दा बढि निजी अस्पतालमा कार्यरत छन् । यस्तो बिपतको घडीमा उनीहरुलाई प्रदेश सरकारले आग्रह गर्नुपर्छ । र कोरोना संक्रमितहरुको उपचारमा जुट्न उत्प्रेरित गर्नुपर्छ ।
पाँचौ, धनगढीको गेटामा रहेको आँखा अस्पताल कोरोनाका बिरामीहरुको उपचारका लागि सबैभन्दा उत्तम बिकल्प हो । सुबिधा र क्षमताका हिसावले तयारी अवस्थामा रहेको त्यस्तो अर्को संरचना सुदूरपश्चिममा छैन । गेटा मेडिकल कलेजको निर्माणाधीन भवनहरु प्रयोगमा ल्याउन कठिनाई हुने देखिन्छ । आँखा अस्पताल त तयारी हालतमा छ । सबै दृष्टिकोणले कोरोना संक्रमितहरुको उपचारका लागि गेटा आँखा अस्पताल उत्तम बिकल्प हो ।
छैठौ, नेपाल सरकारले आज भनिसक्यो, नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अव बाहिरबाट आउने व्यक्तिहरुबाट संक्रमण फैलिने डर मात्र छैन । स्थानीय व्यक्तिमै पनि यसको संक्रमण देखिईसकेकोले यो तिब्र गतिमा फैलिने निश्चित छ ।
त्यस कारण भारत तथा विदेशबाट वस्ती वस्ती र टोलटोलमा पुगेका सम्पूर्ण व्यक्तिहरुको थ्रोट स्वाव लिनुपर्छ । थ्रोट स्वावको नमूना लिन नेपाली सेनालाई परिचालन गर्नुपर्छ । विदेशबाट आएका र उनीहरुसंग सम्पर्कमा रहेका हरेक व्यक्तिको पहिचान गरी उनीहरुलाई क्वारेन्टाईनमा राख्न अव एक दिनपनि ढिलाई गर्न हुदैन । उनीहरुजति दिन बस्तीभित्र रहने छन् । त्यो त्यत्तिनै भयानक संकट निम्त्याउनेछ ।
सातौ,अव धेरै ढिलाई भइसक्यो । हामी चुकी सक्यौ । लक डाउनले पनि काम नगरेको अवस्थामा कर्फ्यु बाहेक अर्को बिकल्प छैन । मान्छेको आवागमनलाई पूर्णत ठप्प गर्न आवश्यक छ । कसैलाई बाहिर निस्किन दिन हुदैन । भोकमरीबाट मान्छे नमरोस भनेर यदि सबै चिज खुकुलो बनाउने हो भने संक्रमणबाट कोही पनि जोगिने छैनन । स्थानीय प्रशासनले तत्काल कर्फ्यु लगाउनुपर्छ ।
अव केही समय अस्पताल र औषधी पसल बाहेक सम्पूर्ण चिजहरु बन्द गर्न जरुरी छ ।
आठौं, हामीसंग भेन्टिलेटर छैनन । औषधीको अभाव छ । सकेजति भेन्टिलेटर जतिसक्दो चाँडो बाहिरबाट भित्र्याउन जरुरी छ । जुनसुकै बिधि र उपाय अपनाएर पनि भेन्टिलेटर स्थापना गर्नुपर्छ ।
नवौ, धनगढीमा कम्तिमा दुई वटा हेलिकोप्टर तैनाथ राख्नुपर्छ । आवश्यक परेका बेला यहाँका संक्रमितलाई काठमाण्डौं लैजाने पूर्ण तयारी गरिनुपर्छ ।
र हरेक नागरिकको पनि उत्तिकै दायित्व छ । सबैले लकडाउनलाई पूर्ण रुपले पालना गर्नुपर्छ । बाहिरबाट आएका व्यक्तिलाई तत्काल क्वारेन्टाईनमा पठाउनुपर्छ । हरेक वस्ती, टोल र ती वस्तीका हरेक घरलाई लक डाउन गर्नुपर्छ ।
अव हात धोएर जोगिने बेला रहेन । त्यसैले जो, जहाँ, जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बस्नुपर्छ ।
अव जोगाउन सक्ने अवस्था सरकारको क्षमतामा निर्भर छैन । जोगिने हो हरेक नागरिकले सचेत हुनैपर्छ । सक्किने हो भने त केही भन्नु छैन ।
फेरि पनि आशा गरौ, हामी यो महासंकटबाट जोगिने छौ, सबैले यही प्रार्थना गरौ ।
















