नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा अहिलेसम्म करिव दुई अर्ब रुपैयाँ जम्मा भएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा हालसम्म एक अर्ब ८८ करोड २९ लाख ३९ हजार ५३ रुपैयाँ संकलन भएको हो । कोषमा मंगलबारसम्म १ अर्ब ८५ करोड ५८ लाख भन्दा धेरै रकम संकलन भएको थियो ।
बुधबार मात्र विभिन्न व्यक्ति र संस्थाहरुले जम्मा गरेको २ करोड ७१ लाख ५ हजार रुपैयाँ संकलन भएको छ । जसमा, नेपाल लाइफ इनस्योरेन्स कम्पनी लिमिटेडले २४ लाख ३४ हजार ६ सय ८६ रुपैयाँ जम्मा गरेको छ । अर्थ मन्त्रालयले ११ लाख ९६ लाख ८१ रुपैयाँ, राष्ट्रिय समाचार समितिले ५ लाख ८३ हजार ४ सय ९२ रुपैयाँ जम्मा गरेका छन् । कोषमा हालसम्म सबै भन्दा धेरै रकम नेपाल सरकार र नेपाल आयल निगमले योगदान गरेका छन् ।
दुवैले ५०-५० करोड रुपैयाँ जम्मा गरेका छन् । यस्तै, सबै भन्दा धेरै रकम जम्मा गर्नेमा नेपाल दुरसञ्चार प्राधिकरण पनि रहेको छ । प्राधिकरणले १५ करोड जम्मा गरेको छ ।
दुरसञ्चार सेवाप्रदायक कम्पनीहरुमा नेपाल दुरसञ्चार कम्पनीले १२ करोड र एनसेल प्रालिले १० करोड रुपैयाँ जम्मा गरेका छन् ।
राष्ट्रिय बिमा कम्पनीले ५ करोड जम्मा गरेको छ । त्यस्तै, कर्मचारी सञ्चय कोष र राष्ट्रिय बिमा समितले ५-५ करोड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ३ करोड ५१ लाख, निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल धितोपत्र बोर्डले ३-३ करोड र नागरिक लगानी कोषले २ करोड रुपैयाँ जम्मा गरेका छन् ।
कोषमा दुई दर्जन भन्दा धेरै संघ, संस्थाहरुले एक करोड भन्दा धेरै योगदान गरेका छन् । मंगलबारसम्म ७२ भन्दा धेरै विभिन्न निजी तथा सरकारी संघ संस्था र व्यक्तिगत तर्फबाट कोषमा रकम जम्मा भएका छन् । कोषमा व्यक्तिगत तर्फबाट सबै भन्दा धेरै लक्ष्मीप्रसाद सुवेदीले ४ लाख रुपैयाँ योगदान गरेका छन् ।
बैंकहरुमध्ये सबै भन्दा धेरै एनएमवि बैंकले १ करोड ५१ लाख रुपैयाँ जम्मा गरेको छ भने निजी क्षेत्रको तर्फबाट सबै भन्दा धेरै एनसेल प्रालिले दिएकोे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुसार बुधबारसम्म नाम नखुलेका तथा १ लाख भन्दा कम सहयोग गर्ने विभिन्न संघ, संस्था र व्यक्तिहरुबाट मात्रै २ करोड ८ लाख २० हजार ५ सय ८७ रुपैयाँ जम्मा भएको छ ।
















