गिरोडलाई फकाउँदै चेल्सी

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब चेल्सी आफ्ना फ्रान्सेली स्ट्राइकर ओलिभर गिरोडलाई अझ लामो समय क्लबमै राख्न चाहन्छ। त्यसैले नयाँ सम्झौताका लागि यतिबेला चेल्सी गिरोडलाई फकाउने अभियानमा जुटेको छ। चेल्सीले गिरोडका प्रतिनिधिसँग पटकपटक छलफल पनि गरिसकेको छ।

यसअघि गत जनवरीमा ३३ वर्षीय गिरोडले चेल्सी छाड्न लागेको चर्चा चलेको थियो। उनी चेल्सी छाडेर इटालियन सिरिए क्लब इन्टर मिलानमा आबद्ध हुन लागेको बताइएको थियो। तर, गिरोडले छाडेपछि रिक्त हुने स्थानमा अर्को गतिलो विकल्प भेट्टाउन नसकेपछि चेल्सीले गिरोडलाई नै क्लबमा राख्ने योजना बनाएको हो।

हाल कोरोना भाइरसको महामारीका कारण चर्चित युरोपियन लिगसँगै विश्वभरका फुटबल गतिविधि स्थगित छन्। त्यसैले फिफाले समर ट्रान्सफर विन्डो (खेलाडी खरिद—बिक्री प्रक्रिया) समेत निर्धारित समयभन्दा पछाडि सर्ने बताइसकेको छ। फिफाको पछिल्लो घोषणाका कारण यो सिजन खेलाडीको स्थानान्तरण प्रक्रियासमेत केही समय पछाडि धकेलिएको छ।

यसका साथै विभिन्न क्लबले आफ्ना खेलाडीसँग गरेको सम्झौता अवधि पनि स्वतः केही समय लम्बिनेछ। आगामी जुन ३० तारिखभित्र विभिन्न क्लबका अधिकांश खेलाडीको सम्झौता अवधि सकिँदै छ। तर, फिफाको नयाँ नियमअनुसार जुन ३० तारिखसम्म सम्झौता अवधि सकिने खेलाडीहरूको अवधि स्वतः केही समय थपिएको मानिनेछ। यस्ता खेलाडीको सम्झौता अवधि अर्को सिजन सुरु नभएसम्मका लागि स्वतः थपिने फिफाले जनाएको छ।

फिफाको पछिल्लो नियमको प्रभाव गिरोडको स्थानान्तरण प्रक्रियामा पनि पर्ने निश्चित छ। इन्टरले पनि ट्रान्सफर विन्डो खुलेपछि गिरोडलाई भिœयाउन आफू तयार रहेको संकेत दिइसकेको छ। इन्टर र गिरोडका प्रतिनिधिबीच साढे दुई वर्षका लागि सम्झौता गर्ने सहमति भएको बताइएको छ। चेल्सीले भने क्लबको नीतिअनुसार गिरोडसँग एक वर्षका लागि सम्झौता नवीकरण गर्न चाहेको छ।

चेल्सीसँग गिरोडको सम्झौता अवधि आगामी जुनमा सकिँदैछ। केही समयअघि गिरोडले आफू चेल्सीमै बस्न चाहेको बताएका थिए। तर, सम्झौता अवधिको विषयलाई लिएर चेल्सीसँग उनको कुरा नमिलेको समाचारमा जनाइएको छ। गत जनवरीमा उनले अर्को इङ्लिस क्लब टोट्टनहाम र इटालियन क्लब लाजियो पनि आफ्नो रोजाइमा पर्न सक्ने बताएका थिए। गिरोड इङ्लिस क्लब आर्सनलमा ६ वर्ष बिताएर सन् २०१८ मा चेल्सीमा आबद्ध भएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार