पोर्चुगल – “कोरोनाभाइरसबाट संक्रमित वा मृत्युको कुनै पनि तथ्यांक लुकाईएको छैन” : स्वास्थ्यमन्त्री मार्टा टेमिडो

गणेश पाण्डेय , लिस्बन।

पोर्चुगलमा कोरोनाभाइरसबाट संक्रमित वा मृत्युको कुनै पनि तथ्यांकको खुलसामा प्रतिबन्ध नलगाईको स्वास्थ्यमन्त्री मार्टा टेमिडोले बताएकी छिन्।

छिमेकी देशहरु स्पेन र फ्रान्समा कोरोनाले ल्याएको मानवीय क्षतिका तुलनामा पोर्चुगलमा निकै कम क्षति भएको छ। त्यस्तै कोरोना संक्रमितहरुको संख्या पनि निकै न्यून छ।

सरकारले कहिँ सूचना लुकाईराखेको त छैन भन्ने पत्रकारहरुको प्रश्नमा स्वास्थ्यमन्त्री मार्टा टेमिडोले भनिन् , ” कोरोनाभाइरसबाट संक्रमित वा मृत्युको कुनै पनि तथ्यांक लुकाईएको छैन। हामी चनाखो नभएमा पोर्चुगलमा खराब समय आउन अझै समय बाँकी छ। ”

शनिबार एक प्रेस सम्मेलनमा स्वास्थ्यमन्त्री टेमिडोले आश्वासन दिएकी छिन् कि , ” सरकार कोरोनाभाइरसबाट संक्रमित वा मृत्युको सम्पूर्ण तथ्यांक दिईरहेको छ। यसमा शंका गर्ने कुनै ठाउँ छैन। ”

पोर्चुगलमा एक लाख ३० हजार ३०० जनालाई संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । स्वास्थ्य विज्ञहरुका अनुसार मे महिनाको अन्त्यतिर पोर्चुगल कोरोना संक्रमणको उच्च बिन्दुमा पुग्नेछ।

पोर्चुगलमा कोरोना भाइरस (कोभिड – १९) बाट हालसम्म १५ हजार ९८७ संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पछिल्लो दिनको तुलनामा थप ५१५ जना संक्रमित भएका छन्।

कोरोना भाइरस को संक्रमणबाट मृत्यु हुनेको संख्या ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ को मृत्यु भएको छ ।

पोर्तुगलमा २६६ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् । शुक्रवारको तुलनामा थप ३३ जना रिकभर भएका छन्।

महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये ११ सय ७९ लाई अस्पताल भर्ना गरिएको छ भने २२६ जनाको सघन कक्षमा उपचार भईरहेको छ।

स्वास्थ्य परिक्षण गरिएका ३ हजार ९६१ जना नतिजाको प्रतिक्षामा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार