गणेश पाण्डेय, लिस्बन।

संसारभर कोरोना संक्रमण र त्यसको रोकथाममा खटिएका अग्रपंतिका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु नै त्यसको सबैभन्दा जोखिममा परेका छन्। पोर्चुगल पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु कोरोनाको चपेटामा परेका छन्।
पोर्चुगलमा कोरोना संक्रमित बिरामीका उपचारमा खटिएका एक हजार ८४९ स्वास्थ्यकर्मीहरु नै संक्रमित भएका छन्। संक्रमित स्वास्थ्यकर्मीहरुमध्ये ४८८ जना नर्स र २७६ जना डाक्टर र बाँकी १०८५ जना स्वास्थ्य सेवासँग सम्बन्धित अन्य रहेका छन्।
त्यस्तै सुरक्षामा खटिएका पोर्चुगलको गणतान्त्रिक राष्ट्रिय गार्ड ( जीएनआर ) का ३६ जना सैनिक अधिकारीहरु कोरोना संक्रमित भएका छन्।
संक्रमितहरुको सम्पर्कमा भएका १०५ जनामा कोरोनाका केही लक्षणहरु देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छन्।
त्यस्तै संक्रमितहरुको सम्पर्कमा भएका अन्य १२६ जना सैनिकलाई क्वारेन्टाइनमा राखिएको छ।
पोर्चुगलमा कोरोना भाइरस (कोभिड – १९) बाट हालसम्म १५ हजार ९८७ संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पछिल्लो दिनको तुलनामा थप ५१५ जना संक्रमित भएका छन्।
कोरोना भाइरस को संक्रमणबाट मृत्यु हुनेको संख्या ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ को मृत्यु भएको छ ।
पोर्तुगलमा २६६ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् । शुक्रवारको तुलनामा थप ३३ जना रिकभर भएका छन्।
महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये ११ सय ७९ लाई अस्पताल भर्ना गरिएको छ भने २२६ जनाको सघन कक्षमा उपचार भईरहेको छ।
स्वास्थ्य परिक्षण गरिएका ३ हजार ९६१ जना नतिजाको प्रतिक्षामा छन्।
“कोरोनाभाइरसबाट संक्रमित वा मृत्युको सरकारी तथ्यांकप्रति मिडियालाई शंका :
पोर्चुगलमा कोरोनाभाइरसबाट संक्रमित वा मृत्युको कुनै पनि तथ्यांकको खुलसामा प्रतिबन्ध नलगाईको स्वास्थ्यमन्त्री मार्टा टेमिडोले बताएकी छिन्।
छिमेकी देशहरु स्पेन र फ्रान्समा कोरोनाले ल्याएको मानवीय क्षतिका तुलनामा पोर्चुगलमा निकै कम क्षति भएको छ। त्यस्तै कोरोना संक्रमितहरुको संख्या पनि निकै न्यून छ।
सरकारले कहिँ सूचना लुकाईराखेको त छैन भन्ने पत्रकारहरुको प्रश्नमा स्वास्थ्यमन्त्री मार्टा टेमिडोले भनिन् , ” कोरोनाभाइरसबाट संक्रमित वा मृत्युको कुनै पनि तथ्यांक लुकाईएको छैन। हामी चनाखो नभएमा पोर्चुगलमा खराब समय आउन अझै समय बाँकी छ। ”
शनिबार एक प्रेस सम्मेलनमा स्वास्थ्यमन्त्री टेमिडोले आश्वासन दिएकी छिन् कि , ” सरकार कोरोनाभाइरसबाट संक्रमित वा मृत्युको सम्पूर्ण तथ्यांक दिईरहेको छ। यसमा शंका गर्ने कुनै ठाउँ छैन। ”
पोर्चुगलमा एक लाख ३० हजार ३०० जनालाई संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । स्वास्थ्य विज्ञहरुका अनुसार मे महिनाको अन्त्यतिर पोर्चुगल कोरोना संक्रमणको उच्च बिन्दुमा पुग्नेछ।
















