युरोपका बिभिन्न ९ देशमा रहेका नेपाली राजदूतहरुले एक महिनाको पारिश्रमिक नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना भाईरस रोकथाम,नियन्त्रण तथा उपचारकोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

नौ वटै देशमा रहेका राजदूतहरुका बीचमा आज भएको भिडियो कन्फ्रेन्सका क्रममा सम्पूर्ण राजदूतहरुले सर्वसम्मत रुपमा कोरोना भाईरस रोकथाम,नियन्त्रण तथा उपचारकोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको डेनमार्कस्थित नेपाली राजदूतावासका राजदूत युवनाथ लम्सालले जानकारी दिए ।
नेपाल सरकारले कोरोना रोकथामका लागि गरिरहेका प्रयासमा साथ दिन सबै राजदूतहरुले आफ्नो एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको डेनमार्कका लागि नेपाली राजदूत लम्सालले बताए ।
जर्मनीका राजदूत रमेश खनाल, डेनमार्कका राजदूत युवनाथ लम्साल, बेल्जियमका राजदूत, लोक बहादुर थापा, अष्ट्रियाका प्रकाश सुवेदी, फ्रान्सका दीपक अधिकारी, स्वीजरल्याण्डका मणी भट्टराई, बेलायतका दुर्गा बहादुर सुवेदी, रसियाका ऋषि घिमिरे र स्पेनका दावा शेर्पाले एक महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने सामूहिक निर्णय गरेका हुन् ।
युरोपपछि नेपालमा समेत कोरोनाको संक्रमण फैलिएपछि निरन्तर रुपमा कोरोना रोकथाम र नियन्त्रणका विषयमा भिडियो कन्फ्रेन्स मार्फत युरोपमा रहेका राजदूतहरुका बीचमा छलफल हुदै आएको र त्यसै क्रममा आज भएको छलफलमा सरकारले स्थापना गरेको कोषमा एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरिएको राजदूत लम्सालले बताए ।
युरोपमा नेपालीहरुको सुरक्षा र स्वास्थ्य प्रति हामी जति चिन्तित छौ, त्यत्तिकै सक्रियतापूर्वक दूतावास मार्फत युरोपमा रहेका नेपालीहरुले दिन सकिने सेवा र आवश्यक सहयोग गरिरहेका छौ, राजदूत लम्सालले भने, नेपाल समेत यसको उच्च जोखिममा रहेकोले हामीले सरकारले स्थापना गरेको कोषमा सहयोग गर्नु दायित्व सम्झेर यो निर्णय गरेका हौ ।
राजदूत लम्सालले युरोपमा रहेका नेपालीहरुलाई कुनै समस्या परेका सम्बन्धित देशका दूतावासहरुमा सम्पर्क गर्न समेत आग्रह गरे ।
















