– रमेश बम्जन
अहिले संसारभरि फैलिएको कोभिड-१९ रोगको महामारीको ईपिसेन्टर हाल युरोप र अमेरीका रहेको छ । युरोपमा नेपालीहरुको बाक्लो उपस्थिति वेलायत पछि दक्षिणी युरोपियन मुलुक पोर्चुगलमा रहेको अनुमान गरिन्छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको संख्याको आधिकारिक तथ्याङ्क नभएपनि २० देखि ३० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । जुन अनुमान पोर्चुगलमा रहेका नेपाली समुदायले संचालन गरिरहेको फेसबुक पेज वा ग्रुपको सदस्यताको आधारमा गरिएको हुन सक्छ भन्ने अनुमान गरिन्छ ।

अर्को तर्फ आधिकारिक निकायहरू नेपाली कन्सुलर, पोर्चुगल र गैह्र आवासिय नेपाली संध, पोर्चुगलसँग पनि कुनै सहि तथ्याङ्क रहेको छैन । उनिहरुको फेसबुक पेजको आधारमा अनुमान गर्ने हो भने पनि ४ देखि ६ हजारको हाराहारीमा देखिन्छ ।
मैले यो आलेखलाई लेख्नुको मुख्य उद्देश्य भनेको कोरोना भाइरस महामारीको प्रकोपले पोर्चुगलमा रहेको नेपालीहरुको अवस्था कस्तो छ भनेर उजागर गर्नु हो । संयोग नै मानौं, नेपालको राष्ट्रीय टेलिभिजनमा प्रसारण भएको एक कार्यक्रम पोर्चुगलमा रहेका नेपालीहरुमाझ भाइरल नै भयो । सो भिडियोमा एक नेपालीले आफु र त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको अवस्था कष्टकर रहेको बताएका थिए । उनले पोर्चुगलमा ५० हजार नेपालीहरु रहेको पनि उल्लेख गरेको छ । साथैं, एनआरएनए पोर्चुगलले पनि यो संकटको घडीमा कुनै पनि राहतको प्याकेजहरु नल्याएको बताएका छन ।
पोर्चुगलमा नेपालीहरुको अवस्था:
सॉंच्चै नै के पोर्चुगलमा रहेका नेपालीहरुको अवस्था टेलिभिजनमा प्रसारण भएको समाचार जस्तै छ त?? पक्कै त्यस्तै नै चैं छैन, तर कोरोना भाइरस संक्रमणको डरको बिच भने नेपालीहरु दैनिकी चलाईरहेका छन् । केही नेपाली साथीहरु जो पोर्चुगल जनवरी र फेब्रुअरी महिना भित्र वा सो भन्दा पछि आएका छन्, ती नेपालीहरु भन्ने पक्कै त्यस्तै संकटको अवस्थाबाट गुज्रीएको छैन भन्न सकिन्न । उनिहरु पोर्चुगलमा कामको अफ सिजनमा आएको हुनाले र यो समयमा जति पनि कामहरु पाईन्छ, ति सबै पुरानो अनुभवीहरुलाई नै ग्राहयता दिने गर्दछ । नयाँहरुलाई काम गर्नको लागि पनि कम्तिमा १ देखि २ महिना लाग्न सक्छ । उनिहरुले कानुनी रूपमा वैधता पाएर काम गर्नको लागि । केहि प्रकृयाहरु हुन्छन्, जो पूरा गर्नै पर्ने हुन्छ, अन्यथा पछि टि.आर.सी. (अस्थायी आवासिय कार्ड) पाउनको लागी विभिन्न झन्झटहरु बेहोर्नु पर्ने हुन्छ ।
यी विविध कारणहरुका बिच काममा नगएका पनि हुन सक्छन । नेपालबाट ल्याएका पैसाहरु पनि पोर्चुगलमा नि:शुल्क हुने कामको लागि पनि पैसा नलिई नगर्ने प्रवृत्ति हामी नेपालीहरुमा नै छन् । यो म आफैंले भोगेको अनुभव पनि हो । जुन प्रकारले दिपेन्द्र खनालजी को भिडियो भाइरल भयो र पोर्चुगलमा सबै नेपालीहरुको ठ्याक्कै त्यस्तै अवस्था हो कि भन्ने पनि लाग्न सक्दछ । नेपालमा रहेका परिवारजनमा त्यसको मानसिक असर पनि नपर्ला भन्न सकिदैंन । यसलाई विभिन्न पक्षबाट विश्लेषण गरेर ग्रहण गर्न सकेको खण्डमा नेपालमा रहेका घर परिवारले पनि पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुको बारेमा सहि सूचना प्राप्त गर्न सकिन्छ ।
पोर्चुगलमा केही नेपालीहरुमा कोरोना भाइरसको संक्रमण देखिए पनि उनिहरु उपचार पछि सकुशल आफ्नो बासस्थानमा फर्केका छन भने, केही उपचारकै क्रममा अस्पतालमा छन् । पोर्चुगलमा रहेका नेपालीहरुमध्ये ७० प्रतिशत नेपालीहरु कृषि क्षेत्रमा काम गर्छन् । कृषिमा अहिले फलफूल टिप्ने समय सुरु भएको हुदॉं आफुले चाहेर पनि कोरोना संक्रमणबाट जोगिन काममा नजान सक्ने अवस्था छैन् । यो अवस्था पोर्चुगीज कम्पनीमा सिधैं काम गर्ने कामदारहरुको छैन । अरु सप्लाई कम्पनीहरु मार्फत काम गर्ने नेपालीहरुको अवस्था झन छदैं छैन् । त्यसकारण नेपालीहरु खानै नपाएर भन्दा पनि, संक्रमित होला कि भन्ने डरका बिच काममा जानुपर्ने बाध्यता छ भने अर्कोतिर सरकारलाइ ट्याक्स निरन्तर तिरेको खण्डमा टि. आर. कार्ड अलि चाँडै पाउन सकिन्छ भन्ने आश गरेर पनि काममा गइरहेको पाइन्छ । यो महामारीको घडीमा भने ट्याक्स तिर्नै पर्छ भन्ने बाध्यता भने छैन् ।
पोर्चुगलमा रहेका नेपालीहरुको सोच र प्रवृति:
यहाँको नेपालीहरू बिचमा दिपेन्द्र खनालको भिडियोलाई लिएर सामाजिक संजालमा नकारात्मक टिकाटिप्पणी र व्यङ्ग्यात्मक अभिव्यक्तिहरु पोष्ट गरेको पाईयो । समाचारमा देखिएको जस्तो उनको बारेमा सोधखोज गरि सॉंच्चै संकटमै परेको हो, होईन, पत्ता लगाएर राहत प्याकेज उपलब्ध गराउन सक्नु पर्दथ्यो । तर त्यसो गर्नको साटो उनको टिकाटिप्पणीमै समय खर्चियौं । मानौं एकछिनलाई उनले टेलिभिजनमा काम गर्ने कसैको सहयोग लिएर गलत सूचना बताएर भाइरल हुने फण्डा बनाएको भएपनि, उनको बारेमा व्यङ्ग्यात्मक अभिव्यक्ति पोष्ट गर्नुको सट्टा पोर्चुगलबासी नेपालीहरुले नेपालमा रहेको घर परिवारलाई सम्पर्क गरेर आफ्नो यहॉंको परिस्थितिको बारेमा जानकारी दिएर ढुक्क बनाउन सकिन्छ ।
खनालजी नेपालबाट भर्खरै आएको हुन सक्छ । यो संकटको घडीमा घर परिवारबाट टाढा रहेको अवस्थामा होम सिक भएर आवेगमा आएर ति कुराहरु बताएको पनि हुन सक्दछ । यसलाई सकारात्मक ढंगबाट पनि ग्रहण गर्न सिक्नु पर्छ ।
पोर्चुगलमा रहेका नेपालीहरुमध्ये ७० प्रतिशत नेपालीहरु कृषि क्षेत्रमा काम गर्छन् । कृषिमा अहिले फलफूल टिप्ने समय सुरु भएको हुदॉं आफुले चाहेर पनि कोरोना संक्रमणबाट जोगिन काममा नजान सक्ने अवस्था छैन् ।
बिशेषत: पोर्चुगलमा २/४ वर्ष अधि देखि टि. आर. कार्ड लिएर बसेका वा यहॉं कृषि क्षेत्रमा काम गर्ने कामदार सप्लाई गर्ने कम्पनीका मालिक होस वा होटेल, रेस्टुरेन्टमा काम गर्ने नेपाली नै किन नहुन, आफुलाई भर्खरै आएका नेपालीहरुको तुलनामा उच्च वर्गका नेपाली ठान्दछन । नेपालबाट भर्खर आएका व्यक्तिहरु भने निंच नेपालीको रुपमा लिईन्छ । अलि हेयको दृष्टिकोणले हेर्ने गरेको पाईन्छ । यी सबैको कारण एउटै हो आफ्नो ज्ञानको दायरा फराकिलो पार्न नसक्नु हो । पोर्चुगलमा आएर पनि आफ्ना बानी व्यवहार, जीवनशैली , सोच र प्रवृत्तिलाई बदल्न नसक्नुको परिणाम हो । हामी नेपालीहरु पोर्चुगल आएपनि पोर्चुगलको नागरिक बन्ने औकात अझैं हामीले बनाईसकेका छैनौं ।
नेपालीहरुले पाउने सेवासुविधाहरु:
कोरोना भाइरस महामारीको कारण हाल पोर्चुगल आपतकालिन राज्य घोषणा गरि मार्च १७ देखि अहिले सम्म उच्च सतर्कताका साथ आफ्ना नागरिक र आप्रवासीहरुलाई घरभित्रै सेल्फ आइसोलेसनमा बस्नको लागी आग्रह गरिरहेका छन । देशभरिका उधोग् कल-कारखाना, होटेल-रेस्टुरेन्ट, बिश्व-विद्यालय, विद्यालय, बैंक, सरकारी कार्यालयहरु, पर्यटन क्षेत्र र सम्पूर्ण सेवा लिने दिने क्षेत्रहरु बन्द छन् । जसका कारण धेरै जनाले यो महामारीको अनिश्चित अवधि भरको लागि रोजगार मुक्त भएका छन् । त्यसैले यो अवस्थालाई मध्यनजर गर्दै हाल सम्म पोर्चुगल भित्रिएका सम्पूर्ण आप्रवासीहरुलाई पनि पोर्चुगिज नागरिक सरहको विभिन्न सेवा सुविधा उपलब्ध गराउने पोर्चुगीज सरकारले घोषणा गरेको छ । ती सेवा सुविधाहरु मध्ये मुख्य प्राथमिकतामा भने स्वास्थ्य सेवालाई राखेको छ भने, बैंक, आवास, रोजगार र आर्थिक सहायताको प्याकेज पनि रहेको छ ।
टि. आर. कार्ड पाईसकेका आप्रवासीहरुको हकमा भने काम गर्ने कम्पनीले काम दिन नसकेको खण्डमा कम्पनीबाट आवश्यक कागजात मिलाएर पेश गरेमा सोसियल सेगुरेन्सले फुन्दो अर्थात् बेरोजगार भत्ता काम नपाउन्जेल वा १ वर्ष सम्म अवस्था हेरीकन प्रदान गर्ने गर्दछ । यो सेवा कानूनी रुपमा पहिले देखिनै उपलब्ध छ । हाललाई भने पोर्चुगिज सरकारले घोषणा गरेको आर्थिक सहायता अन्तर्गत ‘ले अफ’ (Lay-off) सुविधाको सन्दर्भमा भने, सेल्फ इम्प्लोयड, कोरोना भाईरसबाट संक्रमित वा क्वारेनटाइनमा बसेका र १२ वर्ष भन्दा मूनिका बालबच्चाहरुको अभिभावकको हकमा मात्र पोर्चुगल सरकारले तोकेको बेसिक तलबको ७० प्रतिशत रकम ‘ले अफ’ (Lay-off) को रुपमा उपलब्ध गराउने स्पष्ट नियम टि. आर कार्ड नभएको आप्रवासीहरुलाई पनि बनाएको छ । तर काम गरिरहेको र कम्पनीले काममा बोलाईरहेको कामदारको हकमा भने लागू हुने छैन ।
अन्त्यमा,
पोर्चुगलमा जे जति संख्यामा नेपालीहरु बसोबास गरिरहेको भएपनि आफ्नो जात, धर्म, क्षेत्र र राजनैतिक आस्थालाई बिर्सिएर हामी नेपाली हौं भन्ने मूल मन्त्रभाव राखेर एकआपसमा हातेमालो गर्दै सहयोग गर्न तत्पर बनौं । कसैले बिना सुझबझ गरेका कुराहरूप्रति नकारात्मक टिकाटिप्पणी गर्नुको साटो उसको अवस्थाको बारेमा बुझेर सत्यतथ्य पता लगाई समस्या समाधान तर्फ अग्रसर हौं । यसैमा हामी नेपाली र मानव जातीको कल्याण हुनेछ ।
















