सम्झना अधिकारी, लिस्बन।

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरसले युरोप र अमेरिकालाई नराम्ररी गाजेको छ।
युरोपका सम्पन्न राष्ट्रहरु इटाली, स्पेन, फ्रान्स, बेलायत आदि थलाथला परेका छन्।
छिमेकी राष्ट्र स्पेन र फ्रान्सको तुलनामा पोर्चुगल अझै धेरै नै सुरक्षित छ, तरपनि बिस्तारै बढ्दै गएको कोरोना संक्रमणका कारण यहाको अर्थतन्त्र मात्रै होइन स्वास्थ्य क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ।
कोरोना संक्रमणका कारण पोर्चुगलमा अहिलेसम्म ५ लाख पुर्व निर्धारित स्वास्थ्य परामर्शहरु रद्ध भएका छन्।
स्वास्थ्यकेन्द्रहरुमा पुर्व निर्धारित ३ लाख परामर्श रद्ध भएका छन् भने अस्पतालमा निर्धारित एक लाख ८० हजार परामर्शहरु रद्ध भएका छन्।
कोरोनाकै कारण लगभग नौ हजार सर्जरीहरू स्थगित भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा संक्रमित हुनेको संख्या २१ हजार ९ सय ८२ पुगेको छ।
कोरोना संक्रमितहरुमध्ये एक हजार १४६ जनाको अस्पतामा उपचार भईरहेको छ , जसमध्ये २९७ जना सघन कक्षमा भर्ना भएका छन्।
कोरोना संक्रमितहरुको उपचारमा प्राथमिकता दिनुपर्ने र उनीहरु बढी जोखिममा भएकोले संक्रमितहरुको ज्यानको सुरक्षालाई पुरै संयन्त्र खर्च गर्नुपर्ने भएकोले पुर्व निर्धारित स्वास्थ्य परामर्शहरु रद्द गर्नुपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
















