लिस्बन।

पोर्चुगलमा आज उपचार पश्चात् निको हुनेको कोरोना संक्रमितहरुको संख्याले रेकर्ड ब्रेक गरेको छ। पोर्चुगलमा पछिल्लो २४ घण्टामा १ हजार ७९४ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका हुन् ।
यो संगै हालसम्म रिकभर हुनेको संख्या ६ हजार ४३० पुगेको छ। हिजो मात्रै ८१४ जना रिकभर भएर नयाँ रेकर्ड बनेको थियो, तर आज रिकभर हुनेको संख्या दोब्बरले बढ्यो।
त्यस्तै अघिल्लो दिनको तुलनामा मृत्यदर र थप नयाँ संक्रमितको संख्यामा पनि गिरावट आएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।
सोहि समयमा १७३ जना नयाँ संक्रमित फेला परेका छन्। हालसम्म कोरोनाबाट २९ हजार २०९ जना संक्रमित भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १३ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २३१ पुगेको छ।
पोर्चुगल आजदेखि विपत्तिको दोश्रो चरणमा प्रवेश गरेको छ र सरकारले नागरिकहरुले पालना गर्नुपर्ने नयाँ नियमहरु लागु गरेको छ।
पोर्चुगलमा मार्च १९ मा लागु गरिएको संकटकालको अन्त्य मे २ मा गरिएको थियो। संकटकालको अन्त्यसंगै सरकारले जनजीवन सामान्य बनाउन नयाँ नयाँ नियमहरु अवलम्बन गरेको छ।
सरकारले पनि उच्च सवधानीका साथ आफ्नो नियमित काममा फर्कन आग्रह गरेको छ ।
















