बसन्त रानाभाट, स्पेन।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले एनआरएनए पदाधिकारीहरू नै मानव तस्करीमा संग्लग्न रहेको भेटिएमा कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको भर्चुअल बहस कार्यक्रममा पनि माल्टाबारे प्रश्न उब्जिएपछि अध्यक्ष पन्तले यस्तो बताएका हुन् ।
अध्यक्ष पन्तले मानव तस्करीमा संग्लग्न रहेको भेटिएमा कसैलाई पनि नछोड्ने दाबी गरे । उनले भने, ‘तपाईं पत्रकार साथीहरूलाई साक्षी राखेर के कुरा घोषणा गर्छु भने संघलाई माध्यम बनाएर वा संघमा रहेर कोही मान्छे मानव तस्करीमा संलग्न भएमा हाम्रो लागि त्यो ठूलो अपराध हो । यदि छानबिन समितिबाट पनि सत्य हो भन्ने रिपोर्ट आएको खण्डमा त्यस्ता साथीहरूलाई कारबाही हुन्छ। उहाँहरू संघको नेतृत्वमा रहनु हुन्न ।’
उनले छानविन समितिबाट यथार्थ विवरण संघले छिट्टै सार्वजनिक गर्नेसमेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।
















