काठमाडाैं |

लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ।
मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपाल सरकारको यो कदमलाई भारतले विरोधस्वरुप असहमति जनाएको हो।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति नै जारी गरी नेपालले निकालेको नक्सामा भएका ती भूभाग आफ्नो भएको बताएको छ।
एकपक्षीय ढंगले निकालिएको यो नक्सा तथ्य र प्रमाणका आधारमा नभएको र सीमा विवाद द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधानको सम्झौताविपरीत भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
















