काठमाडौं ।

अन्य सबै क्षेत्र प्रभावित भएको बेला कोरोना भाइरस संक्रमणले असर नपारेको क्षेत्र अनलाइन संसार हो । कोरोना महामारीपछि अब हामी डिजिटल युगमा प्रवेश गर्ने कि नगर्ने बहस आवश्यक देखिएको छ ।
कोरोना संक्रमण महामारीपछि अहिले अन्तर्राष्ट्रिय अर्थतन्त्र नकारात्मक बनेका छन् । तेलको मूल्यमा कमी र सबै वस्तु र सेवाक्षेत्र ठप्प छ । कोरोनाको औषधि कहिले पत्ता लाग्ने र आगामीे जनजीवन कस्तो रहने सबैमा जिज्ञासा छ । कोरोनाकै कारण सामान्य अवस्थामा हुने भौतिक कार्य डिजिटल प्रणालीमा रुपान्तरण हुन थालेका छन् ।
गुगल क्लासरुम वा जुमबाट विद्यालयका कक्षा सञ्चालन भइरहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक जुम, गुगल लगायतबाट हुन थालेका छन् । कोरोनापछि यस्ता एप्लिकेसनको विकास र वृद्धिले तथ्यको पुष्टि गर्छ । वित्तीय क्षेत्रमा अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङको प्रयोग बढेको छ । पैसा छुँदा भाइरस सर्ने डरले पनि मानिसहरु बाध्यात्मकरुपमा अनलाइन कारोबारतर्फ आकर्षित भएका छन् ।
कलाकारले घरमै बसेर सामाजिक संजालमार्फत प्रस्तुति दिने, सामाजिक सञ्जालमा खेल खेल्ने, अनलाइनमा समाचार हेर्ने, बजार जानुभन्दा अनलाइनमार्फत अर्डर गर्ने, अनलाइनमार्फत कर्मचारीलाई काममा लगाउने, कसैसँग सम्पर्क गर्नुपरेमा प्रविधिकै प्रयोग बढेको छ । विश्व प्रविधिकै प्रतिक्षामै थियो र कोरोना महामारीले विकल्प नभएर अनलाइन प्रविधिलाई आत्मसाथ गरेको छ ।
समय, स्रोत र खर्चका हिसाबले अनलाइन प्रविधिमार्फत काम गर्दा लाभपूर्ण हुने बताइन्छ । घरमै बसेर आज इन्टरनेटको बिल तिर्न, फोन रिचार्ज गरिन्छ । खानपिन, सामाजिक सम्बन्धदेखि सरसफाइमै जीवनशैली परिवर्तन हुँदै गर्दा अनलाइन प्रयोगको संस्कृति बढ्दैछ । रोबोटले रेस्टुराँमा खाना पुर्याउने, उपचार गर्ने प्रविधि आइसकेको छ ।
अब कोरोनाको प्रभाव अन्त्य नहुञ्जेल हिजोको जस्तो सामान्य जीवन नरहने निश्चित छ । त्यसैले यो समय अनलाइनमैत्री बनाउने उपयुक्त समय हो । यतिबेला नै अनलाइन फ्रड वृद्धि हुनसक्ने देखिन्छ । त्यसैले अनलाइन संसारलाई व्यवस्थित रुपमा अगाडि बढाउन दिगो नीति–निर्माण अहिलेको आवश्यकता हो ।
















